१२ साउन २०८३, मंगलबार

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रूपमा अगाडि बढाइने भएको छ ।

स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विक्रम संवत् २०६४ सालमा स्थापना भएको चिकित्सालयले विक्रम संवत् २०६७ सालबाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

यो १० बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रूपमा ३०० बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले १२० बिरामीलाई नियमित सेवा दिन सकिने अवस्था रहेको छ । अबको केही महिनाभित्र ३०० शय्याको अस्पताल बनाउने काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए ।

चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको छ । पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बीएनवाइस) को कक्षा सञ्चालन गर्ने गरी चिकित्सा शिक्षा आयोगमा अनुमतिको लागि पठाइएको नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले बताए ।

चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट कक्षा सञ्चालन हुने अधिकारी बताउँछन् । ‘नेपालबाट बर्सेनि हजारौं विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल शुरू भयो भने प्राकृतिक चिकित्सासम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ,’ अधिकारीले भने ।

नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूहरूले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको व्यवस्थापक सापकोटा बताउँछन् । उनका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरक–फरक १४ विभाग बनाउनेदेखि लिएर छात्रावास लगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ । 

कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यस चिकित्सालयले ख्याति कमाएको थियो । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन आउनेको संख्या हरेक दिन बढ्ने गरेको अस्पतालका व्यवस्थापक सापकोटा बताउँछन् ।  

salt training

कमेन्ट गर्नुहोस्