०८ असार २०८३, सोमबार

गोपालको फेरिएको जीवन

भदौ १८, २०७९
गोपालको फेरिएको जीवन

बसोबासको खरिदार बनेपछि गोपालको जीवनचर्या फेरियो । पद सानै भए पनि मान थियो, सम्मान थियो, पैसाको पनि खासै कमी थिएन । 

बस्नका लागि अफिसको कोठा थियो, खानका लागि शर्मेली होटल । १०० रुपैयाँमै पूरा महिना खुवाउँथ्यो २ छाक । अन्य सामान पनि सस्तै पाइन्थे ।

त्यतिबेला खरिदारको मासिक तलब २५५ रुपैयाँ थियो । त्यसमा शतप्रतिशत फिल्ड भत्ता र ५० प्रतिशत दुर्गम भत्ता गरी झण्डै ७०० रुपैयाँ पाइन्थ्यो महिनाको । जबकि त्यतिबेला शाखा अधिकृतकै तलब मासिक ७०० भन्दा बढी थिएन । बाहिरफेर निस्कन भ्याएको हुन्नथ्यो भने खरसाप भन्दै नमस्कार गर्न आइपुग्थे स्थानीय जनता । कोही ‘काँसम्म हिँड्या साप’ भन्थे, कोही ‘केई काम भयाले भण सा’प हम गरिदिनौं’ भन्न पुगिरहेका हुन्थे । 

खर्च कटाएर पहिलो महिनाको तलब साथीभाइसँग लिएको सापटी तिर्न छुट्यायो । किनकि उनीहरूसँग सापटी माग्दामाग्दै हत्तु भइसकेको थियो विगतमा । कतिले खुुला मनले दिन्थे, कतिले गाह्रो मानेर दिने गर्थे । कति बहाना बनाएर टार्ने गर्थे । देख्नासाथ टाउको लुकाउने पनि नभएका होइनन्, जसलाई उसकै आँखाले देखेको थियो । १ दिन आफ्नै सगोत्री भाइले समेत त्यस्तै गरे । 

त्रिचन्द्र मिलिटरी अस्पतालमा जागिर खान्थे उनी । कतै जाँदै थियो अस्पतालको आँगनमै देखिए तर के भएछ कुन्नि उसलाई देख्नासाथ गारोको छेल पर्न पुगे । उनका स्थानमा उनी पनि सही थिए । कति दिन दिने । १ दिन होइन, २ दिन होइन । कुकुरलाई मासु पैंचो दिए जस्तो, लगेपछि फर्काउन जानेको होइन तर गोपाललाई भने साह्रै नरमाइलो लागेको थियो । त्यसैले पैसा हुनासाथ पहिले तिनै सापटी तिर्ने प्रतीज्ञा गरेको थियो ।  
 
दोस्रो महिनाको तलब भेडासिंहस्थित नेपाल बैंकमा राखेको सुनको गहना निखन्नलाई छुट्यायो, जुन गाउँकै एक सहृदयी घले काकाले दिएका थिए । माग त उसको नगद नै थियो । उनी पेन्सनवाला, छोराहरू बहालवाला इन्डियन लाहुरे, पक्कै पैसा हुनुपर्छ भन्ने ठानेर मागेको थियो तर तत्काल उनीसँग पनि रहेनछ क्यारे ! शुरूमा त ‘क्यान चाहियो पैसा काठा तमलाई’ भन्दै टार्न खोजे तर गोपालको रामकहानी सुनिसकेपछि ‘पैसा त छ्यान बज्ज्या ! सुनले हुन्या हो भने काम चलाउन सक्न्या छौ’ भन्दै एक जोर किलिप दिएर पठाएका थिए । त्यस गहनालाई जसरी पनि निखन्नैपर्ने भएको थियो उसलाई । अन्यथा पिता समान घले काकाको मन दुख्ने मात्र होइन, त्यत्तिकै मरियो भने नरक परिन्छ भन्ने डर समेत थियो । त्यसैले दोस्रो महिनाको तलब त्यसैका लागि छुट्याएको हो ।

वेत्रावती हाइस्कूलका तत्कालीन हेड सर चित्रप्रसाद सुवेदीको ऋण चुक्ता गर्ने अवसर भने पछिसम्म पनि पाएको थिएन । कारण उनी कहाँ छन् भन्ने नै थाहा पाउन सकेन । एकाध पटक वेत्रावती हाइस्कूलमै सम्पर्क गर्ने प्रयास पनि नगरेको होइन तर छाडेर गइसक्नुभयो भन्ने जवाफबाहेक हात केही लागेन । विचराले जागिरको खोजीमा हिँड्दा ७ दिनसम्म होटलमा पालेका थिए धुञ्चेमा । पछि उनै बालदोस्ती राममणि दुवाडीको सहयोगमा त्यसबाट पनि उऋण हुने अवसर पायो । दुवाडीजीको त्यस गुनलाई पछिसम्म पनि बिर्सन सकेको थिएन उसले ।

तेस्रो महिनाको तलबले आफूलाई चाहिने जुत्ता, कपडा र घरायसी सामान किन्यो । थप २ महिना के बितेको थियो घरबाट पिताजी बित्नुभएको खबर आयो आकाशवाणीमार्फत् । तत्कालै हिँडेको गोपाल घर पुग्दा पिताजीले छाड्नुभएको ९ दिन भइसकेको रहेछ । गुरु पुरोहितहरूका सल्लाहअनुसार सोही साँझ झुपो खल्को गरी दाजुभाइसँग मिसियो, जो कोरा बारेर बसेका थिए । यसरी खर्च कटाएर बाँकी रहेको २ महिनाको तलब पित्रयुद्वार यज्ञको पवित्र कार्यमा खर्चियो र काम सकिएको भोलिपल्टै कार्यक्षेत्रमा फर्कियो । 

शुरूमा ६ महिनाका लागि भनेर गएको थियो महेन्द्रनगर ऊ । कारण असार मसान्तसम्म मात्र बसोबास अफिसको म्याद थियो तर साउन लागेपछि पुनः ५ वर्षका लागि अफिसको म्याद थपिएकाले उसको पनि म्याद सँगै थपियो ५ वर्षका लागि । यस बीचमा उसले वनारसबाट शास्त्री पास गर्‍यो । उत्तर मध्यमा पास गरेर जागिरतर्फ लागेको थियो । बीचमा १ वर्ष जागिरको खोजीमा लाग्नुपरेकाले पढाइमा ध्यान दिन भ्याएको थिएन । त्यसैले समय पाउनासाथ नेपाली संस्कृत महाविद्यालय मंगलागौरी वाराणसीका उपाचार्य काशीराज सुवेदीसँग सम्पर्क गरी फाराम भर्ने विचार गर्‍यो । उसको विचारलाई सुवेदी गुरुले तत्कालै सहर्ष अनुमोदन मात्र गर्नुभएन, फारम लगाउनेदेखि परीक्षा शुरू हुने मितिको जानकारी समेत गराएर ठूलो गुन लगाउनुभयो । यसरी २ वर्षमा द्वितीय श्रेणीमा शास्त्री परीक्षा पास गर्ने काम गर्‍यो ।   

शास्त्री पास गरेपछि लोक सेवातिर पनि ध्यान दिन थाल्यो । नायब सुब्बादेखि शाखा अधिकृतसम्म लोक सेवा आयोगको होस् वा सार्वजनिक संस्थाको खुलेको जति कुनै पनि पद बाँकी राखेन उसले जाँच दिन । एकताका उसको जीवनचर्या नै परीक्षामय बनेको थियो भन्दा हुन्छ । लिखित परीक्षा त जेनतेन पास गथ्र्यो तर अन्तर्वार्ता भने बिग्रन्थ्यो । यसका लागि दिपायल पनि पुगेकै हो, सुर्खेत पनि पुगेकै हो ।

शाखा अधिकृतका लागि भने काठमाडौंसम्म धाउनुपरेको थियो तर जहाँ पनि हात लागि शून्य नै हुन्थ्यो । नायब सुब्बामा ३ पटकसम्म र शाखा अधिकृतमा २ पटकसम्म वैकल्पिक उम्मेदवारमा सिफारिस भएको पनि हो तर नियुक्ति पाउने पाउन सकेन । नायब सुब्बामा महेन्द्रनगर लोक सेवा आयोग, खप्तड राष्ट्रिय निकुञ्ज लगायत थिए भने शाखा अधिकृतमा एउटा पुरातत्व विभागको अधिकृत तृतीय श्रेणी संस्कृत विशेषज्ञ र अर्को सार्वजनिक संस्थानको प्रशासन अधिकृतका पद थिए । 

एकपटक राष्ट्र बैंकको अधिकृत पदमा समेत भिड्न पुगेका थिए । सँगै जाँच दिने मित्रद्वय राममणि दुवाडी र सापकोटा थरका अर्का व्यक्तिले एकै पटकमा नाम निकाल्नुुभयो तर गोपालको बिग्रियो । राष्ट्र बैंक जस्तो दह्रो हिसाबकिताब राख्नुपर्ने संस्थामा संस्कृत पढेको वनारसी केटोको बिग्रनु स्वाभाविकै थियो । उसले शुरूमै सोच्नुपथ्र्यो, यो पद आफू अनुकूल छैन भनेर । तैपनि हिम्मत हो, गर्‍यो । त्यसलाई भने मान्नैपर्छ जस्तो लाग्छ । 

राममणि दुवाडी लोक सेवा आयोगको शाखा अधिकृत पदमा पहिलो नम्बरमा नाम निस्केकाले ५–७ महिनापछि नै राष्ट्र बैंक छाडेर अर्थ मन्त्रालयतिर लाग्नुभयो । मित्र सापकोटाले भने राष्ट्र बैंकको जागिरबाट अनिवार्य अवकाश लिनुभयो तर गोपालको भने के भयो अहिलेसम्म पत्तो छैन । 

केही वर्षअघि एउटा छोटो भेटमा अँध्यारो अनुहार लगाउँदै भनेका थिए –

‘मित्र ! बसोबासको अस्थायी जागिर कुनै पनि बेला टुट्नसक्छ । लोक सेवा पास गरी साथीहरूले जस्तै सरकारी हाकिम बनेर देशको सेवा गर्ने धोको थियो त्यो त नियतिले जुराएन नै, बसोबासकै जागिर पनि कति बेला छुट्ने हो यसै भन्न सकिने अवस्था छैन । ५ वर्षका लागि थपिएको म्याद गत वर्ष नै भुक्तान भइसकेको छ । त्यतिबेलै बन्द हुन्छ भन्ने हल्ला थियो । खै किन हो १ वर्षका लागि थपिएर आयो । अब पनि त्यस्तै खण्डखातिर परे छुट्टै कुरा होइन भने नथपिने निश्चित छ । विवाह गरी घरजम गरिसकेको छु, एउटी बच्ची समेत भइसकेकी छन् । त्यसैले तत्कालै कुनै सानोतिनो स्थायी जागिर नखोजी भएको छैन ।’

यति भनेर छुट्टिएका थिए पछि के भयो थाहा छैन । सोधखोज गर्दैछु । कुनै दिन पत्ता लागेछ भने लिएर आउनेछु । 

salt training

कमेन्ट गर्नुहोस्