०३ असार २०८३, बुधबार

एक महिला बनिन् एकसाथ २ पुरुषका सन्तानकी आमा !

भदौ २३, २०७९
एक महिला बनिन् एकसाथ २ पुरुषका सन्तानकी आमा !
सांकेतिक तस्वीर

संसारभर थुप्रै महिलाले जुम्ल्याहा बच्चा जन्माइरहेका छन् । जुम्ल्याहा बच्चा जन्माउने कुरा खास अचम्मको विषय होइन । तर, १९ वर्षीया एक युवतीले जुम्ल्याहा बच्चा जन्माउँदा भने संसार अचम्मित भएको छ । कारण सँगै जन्मिएका दुई बच्चाका बुबा भने फरक–फरक छन् । वास्तवमा उक्त युवतीको दुवै पुरुषसँग एकै दिन सम्बन्ध भएको थियो । तर, एउटै समयमा दुई फरक पुरुषबाट गर्भवती हुने घटना बिरलै हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

घटना पोर्चुगलको गोयास राज्यको हो । उक्त राज्यको मिनेरोस शहरमा एक युवतीले जुम्ल्याहा बच्चा जन्माएकी छन् । आमाले आफ्नो परिचय नखुलाउने शर्तमा दुवै सन्तान ८ महिनाको भएपछि उनीहरूको डीएनए परीक्षण गरेको बताइन् । 

परीक्षणको नतिजा अचम्मको थियो । दुवै सन्तानका पिता मानिने व्यक्तिको वास्तवमा एउटा मात्र सन्तान थियो । दोस्रो बच्चाको रिपोर्ट भने ‘नेगेटिभ’ आएको थियो । 

युवतीले भनिन्, ‘मैले त्यही दिन अर्का एक पुरुषसँग सम्बन्ध बनाएको याद आयो । यो व्यक्तिको डीएनए अर्को बच्चाको डीएनएसँग मेल खायो । यी नतिजा देखेर म छक्क परे । मलाई थाहा थिएन कि यो हुनसक्छ । यद्यपि, दुवै बच्चाहरू ठ्याक्कै उस्तै देखिन्छन् ।’ 

तर, जन्मदर्तामा दुवै सन्तानको पिता एउटै व्यक्ति उल्लेख गरिएको छ । उनले भनिन्, ‘उहाँले दुवै बच्चाको हेरचाह गर्नुहुन्छ । दुवै छोराछोरीको पालपोषणमा धेरै सहयोग गर्नु हुन्छ ।’

असामान्य गर्भावस्थामा अनुसन्धान गरिरहेका डाक्टर टुलियो जर्ज फ्रान्कोले हालसम्म विश्वमा यस्ता २० वटा मात्रै घटना सार्वजनिक भएको बताए । जसमा जुम्ल्याहा बच्चाका बाबु फरक छन् । वैज्ञानिकहरुको भाषामा यो अवस्थालाई ‘हेटेरोपेरेन्टल सुपरफेकन्डेशन’ भनिन्छ । 

एउटा महिलाको २ वटा अण्डा विभिन्न पुरुषहरूबाट निषेचित हुन्छ

पोर्चुगलको न्युज आउटलेट ‘जी वान’सँगको कुराकानीमा डाक्टरले एउटै आमाका दुईवटा अण्डा फरक–फरक पुरुषले निषेचित गर्दा यस्तो गर्भावस्था हुने बताए । उनले भने, ‘बालिकाको गर्भावस्था एकदम सामान्य थियो । दुवै बच्चा पूर्ण रुपमा स्वस्थ जन्मेका छन् र अहिलेसम्म दुवैको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।’ 

जुम्ल्याहा बच्चाहरू अहिले १ वर्ष ४ महिनाको भएको भारतीय सञ्चारमाध्यम ‘आजतक’ले उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्