
पर्साको वीरगञ्ज महानगरपालिका–३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका थिए । मन्त्री यादवले पेश गरेको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमति दिएको हो । पर्सा र बारा जिल्लाको बीचमा निर्माण गरिने उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले त्यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताए ।
उक्त चिडियाखाना रु एक अर्ब एक करोड सात लाखमा निर्माण गरिने मन्त्रालयले जनाएको छ । चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदनसमेत पेश गरिसकेको छ ।