१० असार २०८३, बुधबार

दार्चुलाको छाङरुबाट टेलिकमको फोरजी सेवा

दार्चुलाको छाङरुबाट टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले बुधवारदेखि दार्चुलाको विकट स्थान छाङरुबाट फोरजी सेवा आरम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ । 

फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । 

अब छाङरुमा रहेका करिव १२० घरधुरी र ७ सय जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुने टेलिकमले जनाएको छ । अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकरलगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको छ । 

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालयसमेत रहेका छन् । 

विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रूपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्