०१ असार २०८३, सोमबार

संविधान दिवस– जिन्दावाद !

असोज ३, २०७९
संविधान दिवस– जिन्दावाद !

आजकै दिन ७ वर्ष पहिले संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । आज ८ औं संविधान दिवस हो । यस अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम सत्ता सम्पन्न नेपाली जनतालाई खुसीयाली मनाउन आह्वान गर्दै हार्दिक शुभकामना दिन्छु ।

नयाँ संविधान जारी भए पछिको यस अवधिमा संविधान मिच्ने, यसको हुर्मत लिने, संविधानले व्यवस्था गरेका संस्थाहरुको हदैसम्मको दुरुपयोग गरियो । 
प्रतिनिधि सभा भंग गर्नै नपाउने संविधानको व्यवस्थालाई कुल्चँदै दुई पटक प्रतिनिधि सभा भंग गरियो । दुबै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीको त्यो कदमलाई असंवैधानिक घोषणा गर्दै प्रतिनिधि सभा पुनस्र्थापना गरायो ।

संसद पुनर्स्थापना भएपछि बनेको सरकार र सत्ता गठबन्धनले आफुले प्राप्त गरेको हैसियत दुरुपयोग गर्दै पुनर्स्थापनाको निर्णयमा नेतृत्व गर्ने सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई महाअभियोग लगाएर पुरस्कृत गरे । स्वतन्त्र, असंलग्न तटस्थ परराष्ट्र नीतिलाई लत्याउँदै एम सी सी जस्तो सैनिक गठबन्धनमा नेपाललाई लैजाने दुइ पटक बनेका सरकारहरुले निर्णय गरे । त्यो सम्झौतालाई सत्ता गठबन्धनले सार्वभौम प्रतिनिधि सभामा भएको आफ्नो हैसियतलाई दुरुपयोग गर्दै अनुमोदन गर्‍यो ।

सत्ता गठबन्धनले संसारकै इतिहासमा नघटेको संवैधानिक राष्ट्रपतिलाई नागरिकता विधेयकका सन्दर्भमा संसद्लाई दुरुपयोग गर्दै घोर अपमान गर्ने निकृष्ट कार्य गर्‍यो । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षले आफ्नो स्वार्थ पुरा गर्न अरु पनि धेरै नहुने काममा संसद्लाई दुरुपयोग गर्न सम्म गरेका छन् र प्रतिपक्षले आफुले काम गरेको भएन भनेर ९ महिनासम्म संसद्लाई अवरोध गरियो । 

समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने नेपालको संविधानको मार्गदर्शन छ । तर प्रधानमन्त्री भइसकेका कम्युनिष्ट पार्टीका नेताहरुले आफैले निर्माण गरेको संविधान अक्षर र भावनाका विरुद्ध बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीबाट समाजवाद निर्माण हुनसक्दैन भनेर प्रशिक्षण दिदैं हिँडिरहनु भएको छ । कम्युनिष्ट र कांग्रेस मिलेर ठूला ठूला आन्दोलन गरेर व्यवस्था परिवर्तन भएका छन् । तर आजसम्म निर्वाचनमा पनि कांग्रेस र कम्युनिष्ट गठबन्धन गरेको इतिहास छैन । तर अहिले पनि त्यो भइरहेको छ ।

एउटा कम्युनिष्ट पार्टीका विरुद्ध कांग्रेससँग गठबन्धन गरेर सरकार निर्वाचनमा तालमेल गरेको घटना २०५६ सालको निर्वाचनमा नेकपा (एमाले) ले तत्कालिन नेकपा (माले)का विरुद्ध गरेको थियो । अहिले एमालेका विरुद्ध कांग्रेससँग मिलेर माओवादीले गरिरहेको छ । 

राजाको शासन समाप्त भए पछि माओवादीले अब नेपाली कांग्रेस हाम्रो शत्रु हो भनेर नीति बनायो । माओवादी सशस्त्र संघर्ष कालमा माओवादी नेताहरुको टाउको काटेर ल्याइनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्ने कांग्रेसले आज गठबन्धन गरेरै चुनाव मात्र हैन सरकार संचालन पनि गर्ने निर्णय गरेर संगै हिडिरहेका छन् । राजनीतिमा नैतिकताको पनि मूल्य जोडिन्छ कमसेकम आछ कमसेकम तत्कालिन समयका आफ्ना निर्णयहरूको पुनरावलोकन गरेको भए पनि लाज छोप्न सजिलो हुने थियो । 

नेपालको संविधानको भावना र अक्षरले भनेको के हो भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यक्ष मात्र भएर त्यो सभा अधुरो हुन्छ । त्यस्तैगरी सभामुख मात्र भएर त्यो प्रतिनिधि सभा पनि अधुरो हुन्छ । संविधानले भनेको छ त्यो दुबै सभाको अध्यक्षता गर्ने ठाउँमा एकजना महिला अनिवार्य गरेको छ । यसको अर्थ हो कहिलेकाहीँ पदमा पुरुष नभए पनि महिलाले सभा संचालन गर्न पाइन्छ । तर महिला पदमा भएन भने त्यो सभा चल्न हुन्न । प्रतिनिधि सभामा वर्षौसम्म उपसभामुख पद उद्देश्य मुलक ढंगले खालि राखियो । अहिले ७ महिना देखि राष्ट्रिय सभामा अध्यक्षता गर्ने महिलाको पद खालि छ । सम्बन्धित पार्टीहरू र अध्यक्ष मौन छन् ।

संसद्को उपरोक्त अवस्था मात्र हैन अरु पनि यस्ता विरोधाभाष र लाज मर्ने अवस्थाका खेलहरु नेपाली संसद्मा अरु पनि भएका छन् । एउटै पार्टीका दुई अध्यक्षहरुले संसदीय शक्तिलाई विभाजन गरेर बाहिर मात्र हैन संसद्मा पौंठेजोरी खेलेको अनौठो घटना नेपालमा भएको देखिएको छ । संसदीय पार्टीहरुले आफुलाई सत्तामा पुर्‍याएका वेला आफ्नो स्वार्थ पुरा गर्न अध्यादेशलाई मात्र हैन संवैधानिक परिषद्लाई पनि नराम्ररी दुरुपयोग गरेका छन् । संसद्लाई अनेक हिसाबले दुरुपयोग गर्ने काम त भइ नै रहेका छन् ।

तर प्रयोग गरेर देश विकास गर्ने, गरिबी उन्मुलन गर्ने र जनताको जीवनस्तर उन्नत गर्ने काम लागु गर्न सकिन्थ्यो । त्यता कसैको ध्यान गएको छैन । लाज लाग्न पर्ने हो नेताहरुलाई आज पनि यो देश राजा महेन्द्र विकासको मोडालिटीमा नै हिँडेको छ । यसमा परिवर्तन गरेर देशलाई समृद्ध समाजवादको मोडालिटी लैजान सकिन्न र सकिन्न भने किन शासन सत्ता कब्जा गरेर किन बसिरहनु हुन्छ ? सबै क्रियाकलाप संविधान जारी भएको यही ८ वर्षभित्र भएका र हुनपर्ने तर हुन नसकेका क्रियाकलापहरू । 

तर पनि म भन्न चाहन्छु, संविधान दिवस– जिन्दावाद !

salt training

कमेन्ट गर्नुहोस्