०५ साउन २०८३, मंगलबार
आर्मेनिया-अजरबैजान तनाव

युक्रेन युद्धबीच ककेसस क्षेत्रमा तनाव : आर्मेनिया र अजरबैजानबीच किन भएको हो लडाइँ ?

असोज ४, २०७९
युक्रेन युद्धबीच ककेसस क्षेत्रमा तनाव : आर्मेनिया र अजरबैजानबीच किन भएको हो लडाइँ ?
Photo : nkrmil.am

अघिल्लो साता एसिया र युरोपको बीचमा रहेको ककेसस क्षेत्रका दुई मुलुकहरूबीच चलेको युद्धमा लगभग ३०० जनाको ज्यान गएको बताइएको छ ।

कुनै बेलामा सोभियत संघअन्तर्गत रहेका आर्मेनिया र अजरबैजानबीच छोटो अवधिको लडाइँ भएको हो । सोभियत संघको विघटनपछि स्वतन्त्रता प्राप्त गरेका यी दुवै मुलुकले नागोर्नो–काराबाख नामक क्षेत्रको स्वामित्वका लागि लामो समयदेखि झगडा गर्दै आएका छन् । 

नागोर्नो–काराबाखमा आर्मेनियालीहरूको बसोबास छ र उसले त्यसलाई आफ्नो भूभागका रूपमा मान्ने गरेको छ । तर अन्तर्राष्ट्रिय समुदायले त्यसलाई अजरबैजानको भूभाग भनी मान्यता दिएको छ ।

पछिल्लो लडाइँ कसले शुरू गरेको भन्ने विषयमा विवाद छ । दुवै पक्षले एकअर्कालाई यसको आरोप लगाइरहेका छन् । 

आर्मेनियाका उपपरराष्ट्मन्त्री भाहे गेभोर्ग्यानले सीमामा रहेको आफूहरूको सार्वभौम भूभागमा अजरबैजानले सैन्य आक्रमण गरेको आरोप लगाए । अजरीहरूले आर्मेनियाको सैन्य अड्डा तथा नागरिक संरचनालाई समेत तारो बनाएको उनको भनाइ छ । 

उता अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभको कार्यालयले विज्ञप्ति प्रकाशित गरी आफ्ना फौजहरूले आर्मेनियाली सैनिकको उत्तेजनात्मक गतिविधिलाई रोकेको दाबी गरेको छ । सीमाक्षेत्रमा उठेको ताजा विवादका लागि आर्मेनियाली नेतृत्व पूर्ण रूपमा जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ । 

अमेरिकी अन्तरिक्ष नियोग नासाको भूउपग्रहीय तस्वीर हेर्दा अजरबैजानले आर्मेनियाको भूमिमा अतिक्रमण गरेको देखिएको कतिपय सञ्चारमाध्यमले खबर दिएका छन् । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसी आर्मेनिया पुगेर अहिलेको द्वन्द्वका लागि अजरबैजान जिम्मेवार रहेको बताइन् । 

सोभियत संघ विघटन हुनुअघि नै यी दुई तत्कालीन गणराज्यबीच भूमि विवाद थियो । स्वतन्त्रताप्राप्तिपछि पनि विवाद कायम रह्यो ।  सन् १९९० को दशकमा ककेसस पहाडी क्षेत्रमा दुई मुलुकबीच चलेको युद्धमा लगभग ३० हजारजनाको ज्यान गएको थियो भने १० लाखजना विस्थापित भएका थिए । उक्त युद्धपछि आर्मेनियाले नागोर्नो–काराबाख र वरपरका अन्य क्षेत्रमा नियन्त्रण कायम गरेको थियो । 

यी दुई मुलुकबीच किन तिक्तता कायम छ भन्ने विषयमा संक्षिप्त चर्चा गरौं । सोभियत संघ विघटन हुनुअघि नै यी दुई तत्कालीन गणराज्यबीच भूमि विवाद थियो । स्वतन्त्रताप्राप्तिपछि पनि विवाद कायम रह्यो । 

सन् १९९० को दशकमा ककेसस पहाडी क्षेत्रमा दुई मुलुकबीच चलेको युद्धमा लगभग ३० हजारजनाको ज्यान गएको थियो भने १० लाखजना विस्थापित भएका थिए । उक्त युद्धपछि आर्मेनियाले नागोर्नो–काराबाख र वरपरका अन्य क्षेत्रमा नियन्त्रण कायम गरेको थियो । 

बेमनले त्यस स्थितिलाई स्वीकार गरेको अजरबैजानले शक्ति अभिवृद्धि गर्दै गयो । उसलाई सन् २०२० मा साझेदार मुलुक टुर्कियेले सैन्य सहयोग गरेपछि ऊ आर्मेनियामाथि आक्रमण गर्न सुरियो । त्यस युद्धमा अजरबैजानले नागोर्नो–काराबाख र वरपरका कतिपय क्षेत्र पुनः नियन्त्रणमा लियो । 

त्यतिखेर युद्ध अन्त्य गर्नका लागि रुसले मध्यस्थता गरेको थियो । उसले आफ्नो शान्तिसेना पठाएर नागोर्नो–काराबाख क्षेत्रको गश्ती गर्न लगाएको थियो । अजरबैजानले युद्ध जितेको भए पनि त्यस क्षेत्रमा अहिले पनि आर्मेनियासमर्थक स्थानीय अधिकारीहरूको शासन छ । 

त्यतिखेर दुवै पक्षले बेमनका साथ शान्ति सम्झौता गरेका थिए । सम्झौतामा अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ र आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिलेर हस्ताक्षर गरेका थिए । 

तर युद्धमा हार बेहोर्नुपरेपछि आर्मेनियामा पाशिन्यान सरकारविरुद्ध जनआक्रोश चुलिएको थियो । त्यसपछि सरकारले मध्यावधि निर्वाचन गराएको थियो । त्यसमा पाशिन्यानको दल झिनो बहुमतले विजयी भयो ।

आर्मेनिया र अजरबैजानबीचको युद्ध रोक्ने अनि ककेसस क्षेत्रलाई स्थिर बनाउने सबभन्दा ठूलो जिम्मेवारी रुससँग छ । यी दुवै देश रुस र चीनको नेतृत्वमा रहेको शांघाई कोअपरेसन अर्गनाइजेसनका डायलग पार्टनर हुन् । 

रुस आर्मेनियाको सैन्य साझेदार समेत हो अनि माथि उल्लेख भएअनुसार उसले सन् २०२० युद्ध अन्त्यका लागि दुई देशबीचको शान्ति सम्झौता पनि गराएको हो । तर त्यस युद्धमा रुसले आर्मेनियालाई चाहिने जति सहयोग गरेको थिएन । अहिले त झन् आफू युक्रेन युद्धमा फसेको बेलामा रुसले आर्मेनियामा राम्रोसँग ध्यान दिन सकेकै छैन ।

अझ त्यसमाथि रुसले अजरबैजानलाई हातहतियार बेच्ने गरेको छ । अनि गत फेब्रुअरी महिनामा अजरबैजानले रुससँग सहकार्यको एक सम्झौता पनि गरेको थियो । 

यी सबै परिस्थितिलाई थप जटिल बनाउने भूराजनीतिक आयामहरू पनि भेटिन्छन् । 

आर्मेनिया सन् २०२० को युद्धविरामलाई पूर्ण पालन गर्न अनिच्छुक छ तर रुसको मध्यस्थतामा भएका युद्धविरामबाट पूरै हट्न सक्ने स्थितिमा पनि छैन । वर्षौंसम्म पश्चिमसँग नजिकिने प्रयास गरेको भए पनि आर्मेनिया रुसप्रति बफादार छ तर रुसले अझै पनि उसलाई पूरै पत्याउँदैन । शायद त्यो कुरा बुझेको भएर होला, आर्मेनिया रुसी मध्यस्थताको युद्धविरामलाई पूर्ण पालन गर्न हिचकिचाइरहेको छ । 

आर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले आफ्नो देशको भौगोलिक अखण्डता जोगाउनका लागि रुसी नेतृत्वको कलेक्टिभ सिक्योरिटी ट्रीटी अर्गनाइनेसन (सीएसटीओ) का सैनिकहरूलाई पठाउन अनुरोध गरेका थिए । कजाकस्तानमा कलर रिभोल्युसन रोक्नका लागि रुसले सैनिक पठाए जस्तै आफूकहाँ पनि पठाउन पाशिन्यानले आग्रह गरेको भए पनि रुसले त्यसमा चासो दिएन । त्यसले आर्मेनियालीहरूलाई असन्तुष्ट बनाएको छ ।

उता अजरबैजान पनि रुससँग थप सुमधुर सम्बन्ध बनाउन खोजिरहेको छ र साथसाथै युरोपेली संघ (ईयू) सित पनि सम्बन्ध विस्तार गर्न खोज्दैछ । ककेसस क्षेत्रमा रुसको प्रभुत्व कमजोर बनाएर आफूलाई महत्त्वपूर्ण खेलाडीका रूपमा स्थापित गर्ने ईयूको चाहना देखिन्छ । त्यसैले गत अगस्ट महिनामा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले आर्मेनिया र अजरबैजानका सरकारप्रमुखलाई ब्रसेल्समा भेटेका पनि थिए । 

त्यसमाथि अजरबैजान युरोपतर्फ तेल र ग्यास पठाउने प्रमुख निर्यातक मुलुक हो । युक्रेन युद्धका कारण रुसमाथिको ग्यास निर्भरता घटाउन खोजिरहेका युरोपेलीहरूका लागि अजरबैजान राम्रो विकल्प हो ।

आफूसँग रहेको यस सम्पत्तिको बलमा अहिले कारवाही चलाउँदा पश्चिमबाट धेरै प्रतिकार नहुने आकलन अजरबैजानले गरेको हुन सक्छ । अनि युक्रेनमा रुसले प्रत्याक्रमणको सामना गर्नुपरेको अवसर छोपेरै आर्मेनियामाथि अजरबैजानले आक्रमण गरी रुसको ध्यान आफूमा केन्द्रित नहुने अनुमान गरेको हुन सक्ने सम्भावना छ । 

सन् २०२० को युद्ध जित्नका लागि सहयोग गर्ने टर्कीसँग सन् २०२१ मा सुशा सहमति गरेको अजरबैजान रुसको पनि सद्भाव आफूसँग रहेको बुझेर ऐतिहासिक रूपमै बलियो स्थितिमा रहेको अनुभव गर्दैछ । उता आर्मेनियामा विगतको युद्ध हारेका कारण अझैसम्म पनि जनताको आक्रोश खेपिरहेको सरकारले राष्ट्रवादी भाव जगाएर जनतालाई आफ्नो पक्षमा पार्नका लागि अजरबैजानविरुद्ध उत्तेजनात्मक कारवाही चलाएको पनि हुन सक्छ । 

त्यसमाथि सन् २०२० को युद्ध जित्नका लागि सहयोग गर्ने टर्कीसँग सन् २०२१ मा सुशा सहमति गरेको अजरबैजान रुसको पनि सद्भाव आफूसँग रहेको बुझेर ऐतिहासिक रूपमै बलियो स्थितिमा रहेको अनुभव गर्दैछ ।

उता आर्मेनियामा विगतको युद्ध हारेका कारण अझैसम्म पनि जनताको आक्रोश खेपिरहेको सरकारले राष्ट्रवादी भाव जगाएर जनतालाई आफ्नो पक्षमा पार्नका लागि अजरबैजानविरुद्ध उत्तेजनात्मक कारवाही चलाएको पनि हुन सक्छ । 

आफूहरूको सैन्य अड्डामा आर्मेनियाका विध्वंसकारी इकाइहरूले बम विस्फोट गराउने योजना बनाएको थाहा पाएपछि सैनिकहरूले प्रतिकारवाही चलाएको अजरबैजानले बताएको छ । त्यसैलाई निहुँ बनाएर अजरबैजानले नागोर्नो–काराबाख बाहेक पनि आर्मेनियाका अन्य क्षेत्रमा आक्रमण गरेको हुन सक्छ । 

रुसको परिधिमा अर्को एक द्वन्द्व चर्किएमा रुसलाई युक्रेनसँगैको थप टाउकोदुखाइ सिर्जना हुन सक्ने अपेक्षामा पश्चिम खुशी भइरहेको देखिन्छ । यसैमार्फत रुसलाई कमजोर बनाउने उसको दाउ हो । 

यसको योजना अमेरिकाले सन् २०१९ मा नै सार्वजनिक गरिसकेको थियो । अमेरिकी सेनाका लागि काम गर्ने थिंकट्यांक संस्था र्‍यान्ड कर्पोरेसनको प्रतिवेदन ‘एक्सटेन्डिङ रसिया’ को उपाय (मेजर) ४ मा ककेसस क्षेत्रको तनावलाई चर्काउने उल्लेख छ । आर्मेनियालाई रुससँगको सम्बन्ध तोड्नका लागि प्रेरित गर्ने सुझाव त्यसमा दिइएको छ । 

न्यान्सी पलोसीको ताजा आर्मेनिया भ्रमण त्यसैका लागि भएको हुन सक्छ । पलोसीले सीएसटीओ त्यागेर नेटोमा जोडिनका लागि अमेरिकाले प्रलोभन दिएको हुने सम्भावना छ । पलोसीले उक्त भ्रमणमा सीएसटीओले तथ्य जाँचकीहरू पठाएको, सुरक्षा नदिएको भनी व्यंग्य समेत कसेकी थिइन् ।

तर आर्मेनियाली संसद्का सभामुख एलन सिमोन्यानले सीएसटीओबाट बाहिरिने कुनै योजना नरहेको स्पष्ट पारे । हुन पनि सीएसटीओबाट निस्कनेबित्तिकै अजरबैजान र टर्कीले आर्मेनियामाथि आक्रमण गरेर उसको ठूलो भूभाग कब्जा गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न । आखिर नेटोमा नरहेको आर्मेनियालाई तत्कालै सहयोग गर्न अमेरिकी सेना आइपुग्ने पनि हैन ।  

आर्मेनियालाई अमेरिकी खेमामा जान नदिने तथा अजरबैजानलाई ईयूसँग बढी हिमचिम गर्नबाट रोक्ने रुसको रणनीति देखिन्छ । अमेरिका चाहिँ आर्मेनियालाई आफ्नो खेमामा ल्याएर रुस (र इरान) लाई अप्ठ्यारोमा पार्न सकिन्छ कि भनी दाउ खेल्न खोजिरहेको प्रतीत हुन्छ । 

आर्मेनिया र अजरबैजान चाहिँ महाशक्ति संघर्षमा आफ्नो स्वार्थ कसले सिद्ध गर्ला भनी समीकरण मिलाउन खोजिरहेका देखिन्छन् । यी सबै परिस्थितिले गर्दा ककेसस क्षेत्र लामै समयसम्म तनावग्रस्त रहने सम्भावना छ । उक्त तनावलाई क्षेत्रीय युद्धको स्वरूप लिनबाट रोक्नु चुनौतीपूर्ण हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्