
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो छोरीलाई समानुपातिकको बन्द सूचीमा अग्रस्थानमा नाम राखेका छन् ।
लोसपा उच्च स्रोतकाअनुसार मधेशी महिलाको पहिलो स्थानमा ठाकुरले आफ्नो छोरी डा.मिनाक्षी ठाकुरको नाम प्रतिनिधि सभामा समानुपातिकको बन्दसूचीमा समावेश गरेर पठाएका छन् ।
यसअघि ठाकुरले छोरी मिनाक्षीकी सासु इन्दिरा झा (ठाकुरकी सम्धिनी)लाई समानुपातिक सांसद बनाएका थिए ।
त्यसैगरी, छोरीकी ससुरा (ठाकुरका सम्धी) उमाकान्त झालाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख बनाएका थिए ।
सम्धी, सम्धिनीपछि उनले अहिले भने छोरीको नाम समानुपातिक सूचीमा समावेश गरेका हुन् । मिनाक्षी उनको एक मात्र छोरी हुन् । यसअघि उनले सम्धी र सम्धिनीलाई महत्वपूर्ण जिम्मेवारीमा लगेपछि मधेशमा ठाकुरकाे तीब्र आलाेचना हुँदै आएकाे थियाे ।
त्यसैगरी, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले खस आर्यको कोटामा चितवनका अर्जुनप्रसाद उप्रेतीको नाम पहिलो नम्बरमा समावेश गराएका छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा महतोको कोटाबाट उप्रेतीको नाम पहिलो नम्बरमा लेखिएको स्रोतले बताएको छ । यसअघि उनले नरमाया ढकाललाई सांसद बनाएका थिए । त्यसबेला महताेकाे पनि तीब्र आलाेचना भएकाे थियाे ।
‘अध्यक्षले आफ्नी छोरीलाई समानुपातिकमा राख्ने प्रस्ताव गरेपछि पार्टीमा कसैले विरोध गरेन् । अध्यक्षले नै आफ्नो परिवारलाई समेटेपछि बरिष्ठ नेताले पनि आफ्नो कोटाको मान्छे सिफारिस गर्नुभयो । उहाँको सिफारिसमा पनि कसैले विमति राखेन’, लोसपाका एक नेताले लोकान्तरसँग भने ।
मधेशलाई मुख्य आधार बनाएर राजनीति गर्दै आएका दलहरुले आफ्ना परिवार, नातेदार र आर्थिक प्रलोभनका आधारमा लाभका पद वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ ।
महतोले मधेशी पृष्ठभूमीका व्यक्तिलाई समानुपातिक सूचिमा समावेश नगरी आर्थिक प्रलोभनमा परेर उप्रेतीलाई समानुपातिक सिट दिन लागि परेको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको छ । ‘चुनाव खर्चको लागि त्यसो गर्नुभएको हो कि हामीलाई स्पष्ट जानकारी भएन । मधेशी पृष्ठभूमीका व्यक्तिलाई नदिएर चितवनका उप्रेतीलाई समानुपातिक लैजाने त्यस्तो के बाध्यता आइपर्यो हामीले बुझेका छैनौ’, लोसपाका एक नेताले भने ।
मधेशी समुदायको मुक्ति र अधिकार स्थापना गर्ने भनेर विभिन्न समयमा आन्दोलनसमेत भएको थियो । ती आन्दोलनमा मधेशी समुदायका व्यक्तिले ज्यानको बाजी लगाएर साथ दिएका थिए । त्यसैको बलमा नेताहरू राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर, आन्दोलनमा ज्यान गुमाउने शहीद परिवार, घाइते तथा आन्दोलनमा लागेका व्यक्तिहरू भने शीर्ष नेताको प्राथमिकता नपर्ने भएपछि जनताको साथ छुट्दै गएको ती नेताले बताए ।
‘आन्दोलनमा सहभागी हुने, सफल बनाउने योद्धाहरुको पार्टीमा मूल्यांकन नै छैन । नेताहरुले मनलाग्दी पदको वितरण गर्दै आएको कारण मधेश आन्दोलन त समाप्त भयो नै । मधेश केन्द्रीत दलको जनाधार नै समाप्त हुने अवस्थामा छ’, ती नेताले गुनासो गरे ।