१६ असार २०८३, मंगलबार

टुकुचामा महानगरको 'हठ' : कसले दिने यी प्रश्नको जवाफ ?

टुकुचामा महानगरको 'हठ' : कसले दिने यी प्रश्नको जवाफ ?

‘गत साउन १२ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्‍यो । सूचनामा काठमाडौंभित्र नक्सा पास नगरिकन, नक्साविपरीत वा मापदण्डविपरीत संरचना बनाएको छ भने ३५ दिनभित्रमा भत्काउन भनिएको थियो । 

त्यसो हुँदा नक्सा पास भएको वा तोकिएको सबै शर्त पूरा भएको अवस्थामा हामीले भत्काएनौं । तर पछि ९ तारिखको दिन महानगरको टोली डोजरसहित जय नेपाल हल परिसरमा जम्मा भयो ।

त्यसपछि उनीहरूले यहाँ उत्खनन् गर्नुपर्ने भयो भने । तर के उत्खनन् गर्ने भन्नेबारे केही बोलेनन् । हलको आँगन खन्दै जाँदा टुकुचा देखियो । 

ऐतिहासिक दस्तावेजहरूका आधारमा हामीले हेर्दा हामी कतै पनि गलत छैनौँ । हामीले जग्गाको नापी गराएका छौं । भवनको नक्सा पास गराएका छौं । हरेक वर्ष राजस्व बुझाएका छौं । तर पनि महानगरले हामीलाई दुःख दियो ।  

भन्नलाई अनाधिकृत मात्रै भत्काउने भन्यो । तर पछि सबै कानूनबमोजिम बनाइएका भवन तथा त्यहाँ चलाइएका व्यवसायलाई नै खत्तम गर्ने काम महानगरबाट गरियो ।

खोलामाथि घर बनाए भनेर अहिले महानगरले भनेको छ । 

पहिलाचाहिँ सरकारी अधिकारीहरूले खोलामा घर बनाउन दिन हुँदैन भनेर किन नसोचेको ? नक्सा पास किन दिएको ? भवनको राजस्व पनि किन लिएको ? 

यी सबै कुरा हेर्ने हो भने कतै पनि तालमेल देखिएको छैन । 

महानगर आफैंले निकालेको सूचना आफैंले काटेर मापदण्डमा रहेको भवन पनि भत्काउन पुगेको छ । महानगरको मेयरले ठूलै काम गरेको देखाउने प्रपञ्च रचेको मात्रै हो जस्तो लाग्छ ।

उनको नियत हिरो बन्ने, भूमाफिया भनेर हामीलाई तनाव दिने तथा डिमोरलाइज गराउने मात्रै देखियो । यहाँ अहिले सबै स्थानीय तथा व्यवसायी आतंकित भएको अवस्था छ । 

हामीले हाम्रो कुरा सुन्दिनुस् पनि भन्यौं । हामीलाई उचित क्षतिपूर्ति तथा मुआब्जाको व्यवस्था गर्ने हो भने हामी यो जग्गा छोड्न तयार छौँ पनि भनेका छौँ । तर उनीहरूले त्यो सुनेनन् । 

सरकारले हामीमाथि निकै जाल गरेको जस्तो भयो ।’

जय नेपाल हल क्षेत्रका स्थानीय बासिन्दा योगेश मिश्रले लोकान्तरसँग गुनासो पोखे ।

राणाकालमै अन्डरग्राउन्ड गरिएको टुकुचा खोतल्ने अभियान शुरू भएपछि अहिले विभिन्न कोणबाट चासो र चर्चा व्यक्त भइरहेको छ ।

कतिपयले बालेनको कदमको समर्थन गरेका छन् भने कतिपयले विरोध गरिरहेका छन् ।

****

काठमाडौं महानगरपालिकाले केही दिनअघि जय नेपाल हलको आँगनमा डोजर चलायो । सो ठाउँमा खोतल्ने क्रममा सधैँ चर्चा र बहस भइरहने टुकुचा खोलाको भूमिगत अंश फेला पर्‍यो । 

निकै लामो समयदेखि खोजी भइरहेको टुकुचाको केही अंश सो ठाउँमा फेला परेपछि महानगरका मेयर बालेन्द्र शाहको चर्चा थप चुलियो ।   

सो ठाउँमा उपमेयर सुनिता डंगोलसमेत देखिइन् । अन्य अवैध संरचना भत्काउने अभियानमा सुनिता सार्वजनिक रूपमा देखिएकी थिइनन् ।

टुकुचा खोला उत्खनन् भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले समेत बालेन–सुनिताको प्रशंसा गरे । 

टुकुचा खोलाको केही अंश नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि सतहमा देखिँदैन । भूमिगत रूपमा बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजा आएपछि मात्रै टुकुचा बाहिर निस्किन्छ । 

अहिले त्यही भूमिगत टुकुचालाई उत्खनन् गर्ने नाममा बालेन सय वर्षभन्दा अघिदेखिका संरचना भत्काउन कस्सिएका छन् ।

सो क्षेत्रमा रहेका भवन नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश समेत दिएको छ, तर बालेन रोकिएका छैनन् ।

गत असोज २ गते उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरुङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानूनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतको अन्तरिम आदेशको पनि मेयर बालेनले कुनै प्रवाह गरेका छैनन् । उनले हालै मात्र त्यहाँ रहेको लक्ष्मी बैंकको भवन समेत भत्काएका छन् । 

जय नेपालको आँगनमुनि टुकुचा, के हो वास्तविकता ?

सामाजिक सञ्जाल प्रयोगकर्ता मनोज मनुजले सामाजिक सञ्जाल फेसबूकमा एक ऐतिहासिक दस्तावेज शेयर गरेका छन् । जहाँ उनले टुकुचाको सुरुङ राणाकालमै बनेको विवरणसहितको दस्तावेज शेयर गरेका छन् ।  

मनोजले शेयर गरेको विवरणमा वि.सं. १९४९ मा राणा प्रधानमन्त्री वीर शमशेरको पालामा टुकुचापारि पटांगिनी अर्थात् खुला चौर बनाइएको उल्लेख गरिएको छ । 

जसका लागि इँटाको गुम्बज शैलीको सुरुङ बनाएको हो, जुन आजभन्दा १३० वर्ष पुरानो हो ।  मनोजले सुरुङ ५ सय मिटर लामो भनेका छन् भने राणाकालीन इन्जिनियरिङको ‘मास्टरपिस’ भनेका छन् ।

यसको डिजाइन तत्कालीन इन्जिनियर जोगलाल स्थापितले गरेको उनले उल्लेख गरेका छन् । दस्तावेजका आधारमा हेर्दा कुनै पनि व्यक्तिले टुकुचालाई गुमराहमा राखेर व्यक्तिगत लाभ लिएको देखिँदैन । 

जग्गाको कारोबार पनि त्यतिबेलै भएको ऐतिहासिक प्रमाणहरू भेटिएका छन् ।

त्यति मात्रै नभएर आजसम्म आएका हरेक सरकार वा सरकारी निकायले उक्त जग्गाजमिनका लागि विभिन्न शीर्षकमा राजश्व संकलन पनि गर्दै आएका छन् ।

आजैको अवस्थामा पनि त्यहाँ व्यापार व्यवसाय गर्ने व्यवसायीहरूले नियमित राजस्व तिर्दै आएका छन् । 

महानगरपालिका वा कुनै पनि सरकारी निकायले शुरूमा जग्गाको व्यावसायिक प्रयोग गर्न पाउने निर्णय गरेका छन् भने नियमित रूपमा पनि कर उठाउँदै आएका छन् । 

टुकुचा खोल्दा करीब २ हजार ३ सय घर परिवार तथा व्यवसाय प्रभावित हुने स्थानीयले आकलन गरेका छन् ।

महानगरपालिकाले नै ती घरपरिवार वा व्यवसायलाई नक्सा पास गरी संरचना निर्माण गर्न दिएको छ ।

विगतदेखि नै यो कार्य हुँदै आएको विभिन्न सरकारी कागजातहरूले पुष्टि गर्छन् । 

‘महानगरपालिकाले यस क्षेत्रमा किन घर बनाउन तथा व्यवसाय सञ्चालन गर्न दियो ? नक्सा पास किन गरियो ? राजस्व किन बुझेको ?’ स्थानीयको प्रश्न छ ।

‘हामीसँग जग्गा किनेको, नक्सा पास भएको र व्यवसाय सञ्चालन गरेको तथा कर तिरेको सबै कागजात छ । महानगरपालिकाले हामीमाथि अन्याय गरेको छ,’ एक व्यवसायीले लोकान्तरसँग भने ।

महानगरले ऐन नियमविपरीत उठिबास लगाउन खोजेको गुनासो उनको छ ।

उचित मुआब्जा र क्षतिपूर्ति दिएर, बस्ने र व्यवसाय गर्ने ठाउँको व्यवस्थापन तथा स्थानान्तरण गर्न उपयुक्त समय दिनुपर्ने व्यवसायीहरूको माग छ ।

महानगरपालिकाले चण्डोलदेखि बाग्मती (त्रिपुरेश्वर)सम्म करीब ५ किलोमिटर टुकुचा पर्ने बताएको छ । 

यस क्षेत्रभित्र करीब २ हजार ३ सय घर परिवार र व्यावसायिक प्रतिष्ठानमा हजारौँ व्यक्ति आश्रित रहेको व्यवसायीहरूको दाबी छ । 

उनीहरू सबैलाई उठाउनुपूर्व महानगरपालिकाले सही व्यवस्थापन, उचित क्षतिपूर्ति जस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ ।

५ किमीमध्ये ५ सय मिटरको भागलाई मात्रै तहसनहस गर्न नहुने व्यवसायीहरूको माग छ ।

स्थानीय र व्यवसायीले महानगरसँग दोहोर्‍याएर सोधिरहेका छन्– त्यहाँ घर बनाउन दिन हुँदैन भनेर पहिल्यै किन नसोचेको ? नक्सा पास किन दिएको ? भवनको राजस्व पनि किन लिएको ? 

यो पहिले सरकारी तहबाटै भएको काम भएकाले बाल हठ भन्दा सुझबुझपूर्ण निकास खोज्नुपर्ने स्थानीयको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्