
समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । बुधवार परिषद्ले काठमाडौंको माईतीघर मण्डलामा ४३ औं सामाजिक सेवा दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको हो ।
समाज कल्याण परिषद्ले सामाजिक सेवा दिवस मनाउने अघिल्लो दिन हरेक वर्ष माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने गरेको छ । सोही अनुरुप यस वर्षपनि सामाजिक सेवा दिवसको पूर्व सन्ध्यामा परिषद्ले दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलनपछि बोल्दै समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले र योजना आयोगले गरेका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्न संघसंस्थाहरुको पनि बराबर देन रहेको बताए ।
उनले देशको सर्वाङ्गिण विकासमा सामाजिक संघसंस्थाहरुले पनि महत्वपूर्ण भुमिका खेलेको बताए । समाज कल्याण परिषद्ले असोज ६ गते ४३ औं सामाजिक सेवा दिवस मनाउँदैछ । यस वर्ष दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघ संस्थाको योगदान भन्ने मुल नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।