
नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले विद्युतीय सवारीमा रुपन्तरण गर्नुपर्ने बताएका हुन ।
सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए । ‘टेक्निसियन वा सवारी धनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिक तर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाई व्यहोर्नु परिरहेको छ’ पौडेलले भने ।
अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण भएरै गाडीहरु आएपनि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाइ छ ।
उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टिमापनि उतिकै ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर शिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् ।
‘नेपालको भौगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ता खालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ’ ।
नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालिन रुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने बताइन् ।
नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागिपनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तबरबाटै काम हुनपर्ने धारण व्यक्त गरिन् ।
त्यसैगरी मेकानिकल इन्जिनियर अभिषेक कार्कीले नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताए ।
उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ ।
सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी इभीमा रुपान्तरण भइसक्ने घोषणा भएपनि तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ ।
आगामी १० बर्ष भित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गछौं भनेर लक्ष्य लिएमात्रै नेपालमा ह्याट्रिक उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।
नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारलेपनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए ।
त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभीमा रुचि राख्ने सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए ।
ईभी चौतारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतीको बिषय रहेको बताए ।