
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई संग्रहालयका रूपमा स्थापित गरेको हो ।
महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर संग्रहालय बनाइएको हो । निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जनाएको छ । संग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज संग्रह गरिएको छ । महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ ।
संग्रहालय उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विसं २०१६ सालमा हराएका महाकवि देवकोटालाई उनकै कविकुञ्जमा फेला पारिएको बताए । साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो संग्रहालय हो । विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा संग्रहालय बनाउने गरिएको छ ।
संग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि कार्यक्रममा कुलपति उप्रेतीले दिए । संग्रहालय दशैं बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । एक वर्षसम्म संग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले चीनमा साहित्यकार लुसुनको संग्रहालय देखेर आफूले पनि साहित्यिक व्यक्तित्वका नाममा यस्ता स्थल निर्माण हुनुपर्ने भनी राखेको सोच आज पूरा भएको बताए । सरकारले महाकविको घर प्रतिष्ठानलाई जिम्मा दिएकामा अब त्यसको संरक्षण हुनुपर्ने उनले बताए । महाकविको घर समग्र नेपालीका लागि समर्पण भएको पूर्वकुलपति काइँलाको भनाइ थियो ।
संग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ । संग्रहालयभित्र महाकवि देवकोटा श्रव्यदृश्य कक्ष पनि स्थापना गरिएको छ । माथिल्लो तलामा सभाकक्ष राखिएको जानकारी पनि सो अवसरमा गराइयो । संग्रहालय निर्माणका लागि महत्वपूर्ण योगदान गर्नेलाई सो अवसरमा सम्मान पनि गरिएको थियो । रासस