०२ साउन २०८३, शनिबार

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सहभागी हुने

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सहभागी हुने
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाले आइतवार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति हुन् । 

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।

कोभिड–१९ को संक्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको थियो । दशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षाेल्लासरूपमा फूलपाती बढाइँ गर्ने पहिलेदेखि कै चलन हो । 

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैं घरमा भित्र्याउने साइत मिलाएर टँुडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अंग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यकमात्रामा जनशक्ति राखेर अरुलाई दशैं बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले संगठन प्रमुखमा प्रभुराम शर्मा छन् । 

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टँुडिखेल वरपर सर्वसाधरणको पनि बाक्लो उपस्थिति हुने गर्छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्