
हरायो गाउँबाट चिउरा कुट्न जाने चलन, मशिनमा उत्पादन बढेपनि दशैंमा चिउराको कम खपत
एक समय यस्तो थियो, मध्यनेपालमा दशैं भन्ने बित्तिकै गाउँघरमा चिउरा कुटाउन जानेहरूको ताँती लाग्ने गरेको थियो ।
हरेक घरपरिवारले केही घण्टा लाग्ने बाटो हुँदै चिउरा मिलसम्म पुग्ने र दशैंका लागि चिउरा कुटाएर ल्याउने विशेष मेला नै लाग्थ्यो ।
मासु खान रुचाउनेहरूले चिउरा र मासु खाने र दशैं मनाउने पुरानो प्रचलन हो ।
तर विगतका केही वर्षयता दशैंमा चिउरा संस्कृति विस्तारै हराउँदै जान थालेको छ ।
केही स्थान विशेष वा समुदाय विशेषले दशैंमा न्यून मात्रामा चिउरा प्रयोग गर्ने भएपनि पछिल्लो समय दशैंमा चिउरा संस्कृति हराउँदै गएको हो ।
कति हुन्छ उपत्यकामा चिउराको माग ?
दशैंको समयमा भक्तपुरमा दैनिक करीब ३० टन चिउरा उत्पादन भइरहेको छ ।
सामान्य अवस्थामा १५ टनदेखि २० टनसम्म उत्पादन हुने गरेको भएपनि दशैंमा भने करीब ३० टन चिउरा उत्पादन भएको भक्तपुरका चिउरा उद्योगी वीरेन्द्र जती बताउँछन् ।
उनका अनुसार, काठमाडौं उपत्यकामा चिउराको माग अन्य समयमा पनि रहन्छ । तर दशैंको समयमा भने विगतको तुलनामा माग घटेको उनले सुनाए ।
यद्यपि बजारमा चिउरा भने आवश्यकता अनुसार उपलब्ध गराइएको उनको भनाइ छ ।
उनले भक्तपुर तथा काठमाडौंका लागि भक्तपुरमा करीब ३० देखि ४० टन चिउरा तराईका जिल्लाहरूबाट ल्याइने गरिएको सुनाए ।
काठमाडौंका होलसेल तथा किराना बजारहरूमा भक्तपुर हुँदै चिउरा आउने गरेका छन् ।
कतिपय व्यवसायीले भने तराईका उद्योगहरूबाट सिधै चिउरा ल्याउने गरेका छन्
उद्योगी जतीले अहिले मुलुकको अर्थतन्त्रमा समस्या देखिँदा चिउराको बजार पनि प्रभावित भएको बताए ।
उनले धानको मूल्य बढ्दै गएको अवस्थामा चिउराको मूल्य पनि बढेको र उपभोगमा कम खपत गर्ने गरिएको सुनाए ।
मशिन आयो, पुरानो चलन हरायो
विगतमा गाउँ–गाउँमा स–साना चिउरा मिलहरू हुन्थे । गाउँबाट चिउरा कुट्नका लागि ताँती लाग्ने गथ्र्यो ।
तर पछिल्ला वर्षहरूमा त्यस्तो नदेखिएको उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरीले बताए ।
उनले भने, ‘विगतमा हामीले देखे सुनेकै हौँ, चिउराका लागि गाउँ–गाउँबाट अन्य कतै मिलमा चिउरा कुटाउन जान्थे, तर अहिले त्यस्तो देखिन छाड्यो ।’
यसो किन भयो त ?
उनले भने, ‘पछिल्ला वर्षहरूमा धेरैजसो चिउरा मिलले मशिन जडान गरेको र व्यवस्थित बजारमा प्रवेश गरेको अवस्था छ, जसले गर्दा पनि गाउँ–गाउँमा चिउरा कुटाउने चलन हराउँदै गएको हो भन्ने लाग्छ ।’
चिउराका लागि विशेष गरी नवलपरासी, रुपन्देही पकड क्षेत्रका रूपमा चिनिन्छ ।
यी क्षेत्रमा एउटै पालिकामा दर्जनभन्दा बढी उच्च क्षमतामा चल्ने चिउरा मिलहरू सञ्चालनमा रहेका छन् ।
कस्तो छ दशैंको चिउरा बजार ?
परासीमा अग्रहरीको आफ्नै चिउरा उद्योग छ ।
उनको उद्योगले दैनिक ५ सय बोरा चिउरा काठमाडौं लगायत अन्य मुख्य शहरहरूमा पठाउँदै आएको छ ।
सामान्य अवस्था दिनको ३/४ बोरा मात्रै काठमाडौंका लागि पठाइने गरेकोमा अहिले दैनिक ५ सय बोरा पठाइएको उनी बताउँछन् ।
विगतमा सामान्य अवस्थामा भन्दा दशैंमा दोब्बर बढी परिमाणमा चिउरा बिक्री हुने गरेको थियो ।
तर दशैंमा चिउरा खाने चलन क्रमशः घट्दै जाँदा चिउरा उत्पादन तथा बिक्री पनि घट्न पुगेको उद्योगी अग्रहरीले बताए ।
‘विगतको दशैंमा सामान्य अवस्थामा भन्दा डबल परिणाममा चिउरा बिक्री हुने गरेको थियो,’ लोकान्तरसँग अग्रहरीले भने, ‘कोरोना महामारीपछि त झनै चिउराको बिक्री घटेको छ ।’
परासीका व्यवसायी मात्र हैन अन्य क्षेत्रका व्यवसायीले पनि चिउराको खपत घटेको बताएका छन् ।
काठमाडौं, भक्तपुर, चितवन लगायतका व्यवसायीहरूले चिउराको माग घट्दै गएको सुनाएका हुन् ।
अर्का व्यवसायी गुणनिधि तिवारीले यसपटक बजार निकै नै कमजोर बनाएको सुनाए ।
दशैंको समयमा विगतमा जस्तो माहोल यसपटक नदेखिएको उनको बुझाइ छ ।
‘अर्थतन्त्रको अवस्था खस्किँदा समग्र बजारमा समस्या परेको छ,’ उनले भने, ‘अहिले बजारमा किनमेल पनि घटेको अवस्था छ ।’
उनका अनुसार अहिले परासीबाट मुलुकभरका लागि दिनको ८ देखि १० वटा गाडीले चिउरा ढुवानी गरिरहेका हुन्छन् ।
प्रति एउटा गाडीमा करीब २१ टन चिउरा हुने व्यवसायी तिवारीले जानकारी दिए ।
उनले भने चिउरा कल्चर घटेको भन्न नमिल्ने बताए । उनी भन्छन्, ‘यसपटक अर्थतन्त्रमा समस्या आएर मात्रै हो नत्र चिउरा कल्चर घटेको छैन, बरू बढेको नै छ ।’
दशैंका लागि कति चाहिन्छ चिउरा ?
सामान्य अवस्थामा चिउरा विशेष गरी नेवारी समुदायमा बढी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।
उनीहरूको हरेक पर्व वा उत्सवमा चिउरा अनिवार्य जस्तै हुने गरेको व्यवसायीहरूको भनाइ छ ।
यसरी हेर्दा विशेष गरी नेवारी समुदायको बाक्लो उपस्थिति रहेको काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा लगायतका जिल्लामा चिउरा बढी खपत हुने गरेको छ ।
यस्तै धादिङ, काभ्रे, नुवाकोटलगायत क्षेत्रमा पनि चिउराको माग बढी हुने गरेको छ ।
व्यवसायीहरूका अनुसार, सामान्य अवस्थामा एक महिनामा मुलुकभर करीब ३२ हजार क्विन्टल चिउरा खपत हुने गरेको छ ।
यसरी हेर्दा दशैंका लागि करीब ३५ हजार क्विन्टलदेखि ४० हजार क्विन्टलसम्म चिउरा आवश्यक हुने व्यवसायीहरूले बताए ।
चिउराबारे आधिकारिक तथ्यांक भने कुनै पनि निकायले राखेका छैनन् ।
एक वर्षमा करीब ४ लाख क्विन्टल चिउरा मुलुकभर आवश्यक हुने अनुमान समेत व्यवसायीको छ ।
अर्का एक व्यवसायीले भने दशैंमा करीब डेढ लाखदेखि २ लाख बोरासम्म चिउरा खपत हुने गरेको बताए ।
जंकफूडमा बानी पार्दा चिउरा पछि पर्यो
व्यवसायीहरूका अनुसार, नेपाल चिउरामा आत्मनिर्भर छ ।
चिउरा उत्पादनका लागि अहिले क्षमतावान मिलहरू प्रशस्त सञ्चालनमा रहेका छन् भने जंकफूडको तुलनामा स्वस्थकर समेत छ ।
तर पनि दशैंमा मात्रै नभई अन्य समयमा पनि चिउरालाई खाजाको रूपमा स्वीकार्ने क्रम घटेको पशुपतिनाथ राइस एण्ड चिउरा मिल नवलपरासीका सञ्चालक जितेन्द्र अग्रहरी बताउँछन् ।
उनले दशैंमा करीब २५ प्रतिशत चिउराको कारोबार घटेको अनुमान गरिएको बताए । यसबाहेक सामान्य अवस्थामा पनि समाजले जंकफूडलाई प्राथमिकता दिँदै जाँदा चिउरा पछि परेको गुनासो गरे ।
उनले भने, ‘नयाँ जेनेरेसनका पुस्ताले चिउरालाई भन्दा जंकफूडलाई प्राथमिकता दिन थाले । जसले गर्दा चिउराको प्रचलन घट्दै गएको छ ।’
उनले नयाँ पुस्ताले ममः चाउमिन, पिज्जाजस्ता बजारका खानेकुरा बढी रुचाउँदा चिउरातर्फ आकर्षण घट्दै गएको सुनाए ।
उनले मार्सी चामललाई सबैले प्रोत्साहन तथा ब्रान्डिङ गरेजस्तै चिउरालाई पनि प्रोत्साहन गर्नुपर्ने बताए ।