![हनुमान ढोका दशैंघरमा भित्र्याइयो फूलपाती [फाेटाेसहित]](https://lktcdn2.prixacdn.net/media/fulpati_hanumandhoka_HhefTTQkW6.jpg)
हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । आइतवार नेपालीहरूको महान चाड बडादशैंअन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको हो ।
गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित आइतवार साँझ दशैं घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।
फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।


































