
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुनेगरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन् ।
गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुङ्गानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्दै उनले संस्थागत सुशासन, पारदर्शिता र कानूनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिए।
उनले सरकारका अङ्गका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गोरखापत्र संस्थान ऐतिहासिक संस्था र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्त्वको संस्था भएको बताए।
संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिँदै उनले कसैको आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानूनअनुसार संस्था सञ्चालन गर्नसमेत निर्देशन दिए।
त्यस्तै जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
मन्त्रालयले दुवै संस्थाको सुधार र सुदृढीकरणका लागि आवश्यक सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले व्यक्त गरे।
यसअघि २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका रावललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, मोरङका ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको छ ।