२७ असार २०८३, शनिबार

कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामेरा र म्याग्नेटसहितको टोली परिचालन

असार २०, २०८३
काठमाडौं
कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामेरा र म्याग्नेटसहितको टोली परिचालन

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले सोनार क्यामेरा र म्याग्नेटसहितको गोताखोर टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार जना गोताखोरसहितको टोली घटनास्थल खटाइएको हो । टोलीले शनिबार घटनास्थल पुगेर सोनार क्यामेरा, म्याग्नेटलगायतका विशेष उपकरण प्रयोग गरी खोजीकार्य थालेको छ । 

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा थप सहयोगका लागि नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारेर निकालिएको थियो । गाडी तथा अन्य यात्रुको अवस्था भने अझै अज्ञात रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्