
प्रतिनिधि सभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमाले कार्यकर्ताले पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका छन् ।
हेटौंडा–५ पुष्पलाल पार्कनजिक एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले ताला लगाएका हुन् । पार्टी केन्द्रको कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको कार्यकर्ताको गुनासो छ ।
२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा १ नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भए तापनि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।


