
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।
मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्न पाउने छन् ।
बीचमा तिहार र छटजस्ता पर्व परेका कारण निर्वाचन आयोगले बीचमा लामो ग्याप हुने गरी निर्वाचन कार्यतालिका बनाएको थियो ।
एकाध अपवादबाहेक आइतवारको मनोनयन उत्साहप्रद नै देखियो । पार्टीबाट टिकट नपाएकाले बागी उम्मेदवारी दिने र कतिपय स्थानमा अन्तिम समयमा टिकट हेरफेरका घटना भए ।
विगतमा जस्तै उम्मेदवारी छनोट पारदर्शी भएनन् । लामो समय राजनीति गरेका नेतालाई विस्थापित गरेर नेताका आफन्त र आगन्तुकलाई टिकट दिँदा बागी उम्मेदवारी पर्ने क्रम रोकिएन ।
उम्मेदवारी मनोनयनमा देखिएका घटनाले राजनीतिक दलको आन्तरिक लोकतन्त्र मजबुत नभएको रूपमा बुझ्न सकिन्छ ।
हाम्रो संविधानले गरेको राजनीतिक व्यवस्था र देशको राजनीतिक शक्ति सन्तुलनका कारण चुनावमा गठबन्धन संस्कृऐति मौलाउँदै गएको छ ।
मंसिर ४ को चुनावमा एउटा कांग्रेस नेतृत्वको र अर्को एमाले नेतृत्वको घोषित/अघोषित गठबन्धन बनेका छन् ।
चुनावअघि नै गरिने गठबन्धन राजनीतिक सिद्धान्तविपरीत काम हो । यसले कुन दलको वास्तविक हैसियत कति भनेर मापन गर्ने आधार भत्किएको छ ।
लोकतान्त्रिक व्यवस्थामा गतिरोध उत्पन्न भयो भने त्यसको निकास निर्वाचनले दिन्छ । मंसिर ४ को आवधिक निर्वाचनले देशलाई नयाँ गति र राजनीतिक निकास दिने अपेक्षा गरौं ।
जनताले आफ्ना प्रतिनिधि छान्ने यो राष्ट्रिय पर्वलाई भव्यतापूर्वक सम्पन्न गर्नेतर्फ सबैको ध्यान जान जरुरी छ ।
आवधिक निर्वाचनले लोकतन्त्रको धमनी बलियो बनाउँछ र राजनीतिक दललाई सच्चिने मौका दिन्छ ।
त्यसैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नेतर्फ सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूको ध्यान जानु जरुरी छ ।