भारतको केरल राज्यमा दुई महिलाको बलि दिइएको वीभत्स घटना सार्वजनिक भएको छ ।
मंगलवार यस घटनाको खुलासा भएको थियो । बलि चढाइएका महिलालाई तान्त्रिक मोहम्मद शफीले डक्टर भगावल सिंह र पत्नी लैलासमक्ष ल्याएको पाइएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पद्मा र रोसेलिन नामक महिलाहरूलाई सेप्टेम्बर २७ मा नै बलि दिइएको थियो । पद्मा त्यसको अघिल्लो दिन बेपत्ता भएकी थिई । त्यसपछि उसको घर नजिक रहेका सीसीटीभी क्यामराहरू हेरियो ।
भिडियोमा पद्मा एउटा सेतो स्कोर्पियो गाडीमा चढेको अनि पछि एउटा सडक पारि गएको देखिन्छ । आरोपित शफी पनि उनीसँगै देखिन्छ । पद्माको मोबाइल फोनको लोकेसनलाई पछ्याउँदै जाँदा प्रहरीको टोली शफीसम्म पुगेको हो ।
अक्टोबर ९ मा प्रहरीले भगावल सिंहका छिमेकी जोस टमसको घरमा रहेको सीसीटीभी क्यामराको फूटेज हेरेको थियो । त्यसमा स्कोर्पियो र पद्मा दुवै देखिन्छन् । गाडी भगावलको घरतिरै जाँदै थियो ।
त्यसपछि प्रहरीले उसलाई सोधपुछ गर्यो । उसले पद्मा र रोसेलिन दुवैको हत्या गरेको कबुल्यो ।
अनुसन्धानका क्रममा प्रहरीले वरपरका खाल्डाहरूमा दुवै शवका टुक्राहरू राखिएका ६१ वटा प्याकेट फेला पारेको थियो ।
त्रिरुवल्लामा बस्ने भगावल आर्थिक समस्यामा थियो । उसकी पत्नी लैलाले फेसबूकमार्फत पेरुंबवूरमा बस्ने तान्त्रिक शफीसँग सम्पर्क गरी ।
शफीले मानवबलि दिएमा भगवान् खुशी हुने अनि आर्थिक समस्या समाधान हुने बतायो । उसले दुई महिलाको बलि दिन भन्यो । बलिका लागि महिलाको व्यवस्था पनि आफैंले गर्ने उसले बतायो । ऊ मानव तस्करी पनि गर्थ्यो ।
शफीले कलाडी र कदवन्तरामा बस्ने पद्मा र रोसेलिनलाई आफ्नो जालमा फसायो । शफीले पद्मालाई भगावलको घरमा यौनक्रीडाका लागि ल्याएको थियो । त्यसका लागि पद्मालाई १५ हजार भारु दिने कुरा पनि गरेको थियो ।
रोसेलिनलाई चाहिँ गत जुन महिनामा भगावलको घरमा पोर्न फिल्ममा काम गर्ने भनी ल्याइएको थियो । उसलाई १० लाख भारु दिने प्रस्ताव गरिएको थियो ।
शफीले महिलाहरूलाई त्रिरुवल्ला ल्यायो । त्यहाँबाट भगावल र पद्मा अनि तान्त्रिक दुवै महिलालाई लिएर एलन्थूर पुगे । त्यहाँ नै उनीहरूलाई बलि दिइयो । शफीलाई त्यसका लागि लगभग तीन लाख भारु दिइएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
दुई महिलालाई मानवबलि दिइएपछि केरलमा कालो जादूविरुद्धको कानून बनाउनुपर्ने माग उठेको छ । तीन वर्षअघि विधेयक बनेको भए पनि विधानसभामा पेश गरिएको थिएन । विधेयकमा कालो जादू र मानवबलि रोक्ने प्रावधान थिए ।