
जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको एक टोलीले मंगलवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ ।
विदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरूले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन् ।
टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले स्वागत गरेका थिए ।
नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरूलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरूको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो ।
सो क्रममा नर्भिक अस्पतालको इमर्जेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको समेत जानकारी दिएका थिए ।
सो क्रममा नर्भिकका अधिकारीहरूले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरूको उपचार सेवामा पुर्याउँदै आएको योगदान, दिंदै आएको सेवा लगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए ।
टोलीमा सहभागी जर्मन चिकित्सकहरुले नेपालमा समेत नर्भिक इन्टरनेशनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुशी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तराष्ट्रिय स्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए ।