
यस वर्षको फागुनमा नेपाली फिल्मबीच सबैभन्दा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ ।
फागुनमा एकै साता चारवटासम्म नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् ।
फिल्महरु निर्धारित मितिबाट पछि नहटे फागुनमा वर्षकै ठूलो प्रतिस्पर्धा हुने भएको छ ।
उक्त महिना एकै साता ‘हेभीवेट’ कलाकारहरुको फिल्महरुले प्रदर्शन मिति घोषणा गरेका छन् ।

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’देखि दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले फागुनलाई प्रदर्शन मिति घोषणा गरेका छन् ।
फागुनको पहिलो साता (५ गते शुक्रवार) ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ले प्रदर्शन मिति तोकिसकेको अवस्थामा सोही मितिमा अर्को फिल्म ‘फूलबारी’ पनि प्रदर्शनमा आउने भएको छ ।
‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको ‘फूलबारी’मा दयाहाङ राई र बिपिन कार्की मुख्य भूमिकामा छन् ।
लोकान्तरसँग निर्देशक गुरुङले भने, – ‘प्रदर्शनका लागि फागुन ५ तय गरेका छौं । एक/दुई दिनमै अफिसियल रुपमा घोषणा गर्छौ ।’

योसँगै अब फागुन ५ मा ‘परदेशी २’, ‘लण्डन टु पेरिस’ र ‘फूलबारी’बीच प्रतिस्पर्धा हुने भएको छ ।
सफल फिल्मको सिरिज र मल्टिस्टार कलाकारहरूको अभिनय रहेका कारण ‘परदेशी २’ घोषणादेखि नै प्रतीक्षित मानिएको छ ।
यता, ‘कबड्डी ४’को ऐतिहासिक सफलतापछि निर्देशक गुरुङ र अभिनेता दयाहाङ राईबीचको सहकार्य रहेको ‘फूलबारी’ उत्तिकै प्रतीक्षित छ ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्म ‘लण्डन टु पेरिस’लाई पनि आशातीत फिल्मका रूपमा हेरिएको छ ।
उक्त मितिमा बलिउड फिल्म ‘मैदान’ र हलिउड फिल्म ‘एन्ट म्यान द वास्प ः क्वान्टमेनिया’ पनि प्रदर्शनमा आउँदैछन् ।