
बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘दुई नम्बरी’लाई दर्शकले शुक्रवारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् ।
२ घन्टा ७ मिनेट लामो फिल्मलाई निर्माण पक्षले करीब ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ ।
निर्माता किरण नेपालीले भने,‘हामीले शुक्रबारदेखि फिल्मलाई हलमा नयाँ भर्सनमा पठाउँदैछौं । फिल्मको समय केही घटाएका छौं । साउन्डमा पनि परिवर्तन गरिएको छ ।’
फिल्मले दोस्रो सातामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ ।
हिजो (मंगलवार) परेको सार्वजनिक बिदाको दिनमा पनि फिल्मले सुखद कमाई गरेको छ ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङको मुख्य भूमिका छ ।
नयाँ भर्सनमा फिल्म हलमा लागेपछि दर्शकलाई अझै मन पर्ने विश्वास निर्देशक लामाको छ ।
फिल्म दशैंको टीकाको दुई दिनपछि असोज २१ गतेदेखि प्रदर्शनमा आएको थियो ।