
शुरुवातको १२ वर्ष पछि हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । अनेकौँ उतारचढावका बीच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो बिहीवारदेखि १३औँ वर्षमा प्रवेश गरेको छ ।
सन् २०१० मा ‘आईओइस’मा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा ‘एन्ड्रोइड’मा रिलिज भएको थियो । एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउदेखि टेली–हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान, रेमिटेन्ससम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको कम्पनीले जनाएको छ ।
सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गरेको थियो ।
१२औँ वार्षिकोत्सवको अवसरमा हाम्रो पात्रो इंक.का फाउन्डर÷सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ । म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु । यी डाउनलोडका संख्याहरू हाम्रा लागि विश्वास र सहयात्री हुन् । हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२औँ वर्षसम्म यो यस यात्रामा हामी, यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्षसम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने बाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन’, उनले भने ।
सन् २०१९ मा हाम्रो पात्रो मार्फत मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालिएको थियो । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेलीहेल्थ सुविधा पनि थप्यो । सन् २०२२ मा ‘हाम्रो पे’ पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सबैथोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।