१५ असार २०८३, सोमबार

आकासियो रातो आलुको मूल्य, धार्नीकै ३०० रुपैयाँ

कात्तिक ६, २०७९
आकासियो रातो आलुको मूल्य, धार्नीकै ३०० रुपैयाँ

पछिल्लो एक सातायता नयाँ आलु बजारमा आएको छ । मुढेको आलु र भारतीय आलु प्रयोग गरिरहेका उपभोक्ताले करिब एकहप्ता यता नेपालकै नयाँ रातो आलु बजारमा सहजै किन्न पाउँछन् । बजारमा रातो आलुको उपलब्धता निकै नै छ, तर यसको मूल्य भने धानी नसक्नुको रहेको छ ।

नयाँ रातो आलुको मूल्य दिनदिनै बढ्दै गइरहेको उपभोक्ताहरू सुनाउँछन् । अस्ति एक धार्नी रातो आलुको २६० रुपैयाँ थियो, अहिले ३ सय पुगिसकेछ’, मंगलबजारका एक उपभोक्ता बताउँदै थिए । 

ललितपुरको मंगलबजारमा मात्रै हैन, काठमाडौंका विभिन्न बजारमा पनि रातो आलुको मूल्य निकै महँगो छ । अझै भन्ने हो भने भारतीय आलु र मुढेको आलुको मूल्यको तुलनामा रातो आलुको मूल्य दोब्बरजस्तै देखिन्छ । 

कालिमाटी तरकारी तथा फलफूल विकास बोर्डका अनुसार, रातो मुढे आलु प्रतिकेजी ७५ रुपैयाँदेखि ८० रुपैयाँसम्ममा किनबेच भइरहेको छ । यस्तै भारतीय रातो आलुको मूल्य ४२ रुपैयाँ प्रतिकेजीदेखि ४५ रुपैयाँ प्रतिकिलोसम्म रहेको छ । 

यस्तै, सेतो आलुको मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म रहेको छ । बोर्डका अनुसार, नयाँ रातोआलुको होलसेल मूल्य भने प्रतिकिलो ९२ रुपैयाँदेखि ९५ रुपैयाँसम्म रहेको छ । यो मूल्य त होलसेल मूल्य हो । लोकल बजारमा रातो आलुको मूल्य धार्नीकै ३ सय रुपैयाँसम्म पुगेको छ । 

बजारमा पनि पसलपिच्छेको फरक मूल्यले उपभोक्ता आजित बनिरहेका छन् । तिहारका आलु किन्नेहरूको भीड बजारमा देखिन्छ । तर, आलुको मूल्यमा भएको महँगीले यसपाली तिहार थप महँगिएको उपभोक्ताहरू गुनासो गर्छन् । 

रातो आलुको मूल्य किन यति धेरै ? 

बजारमा रातो आलुको मूल्य महँगो भएको गुनासो आए पनि तरकारी व्यवसायीहरू यो मूल्य स्वभाविक भएको सुनाउँछन् । व्यापारीहरूले नयाँ आलु भएको र यसको उपलब्धता कम रहेकाले मूल्य बढी परेको दाबी समेत गर्छन् । 

यता, कालिमाटी तरकारी तथा फलफूल विकास बोर्डका सूचना अधिकारी विनय श्रेष्ठले पनि नयाँ रातो आलुको मूल्य स्वभाविक रूपमा बढी भएको सुनाए । लोकान्तरसँग उनले भने, ‘रातो आलु नयाँ हो, केही दिन यसको मूल्य बढी नै हुन्छ ।’

श्रेष्ठका अनुसार, नयाँ रातो आलु काभ्रेबाट आएको हो । नाला क्षेत्रतर्फबाट अहिलेको लागि रातो आलु आयो’,  उनले भने, ‘बजारमा अहिले यसको खपत पनि राम्रै भइरहेको देखिन्छ ।’

उनका अनुसार, अहिले बजारमा दैनिक २ सय टन आलु काठमाडौं उपत्यकाका लागि आइरहेको छ । तीमध्ये ८० प्रतिशत भारतीय र बाँकी २० प्रतिशत नेपाली आलु हो । जसमा पनि नयाँ आलुको हिस्सा निकै कम छ । 

उनले बजारमा नयाँ आलु कम मात्रामा रहेकाले पनि केही समय मूल्य बढी पर्ने बताए । उनी भन्छन्, ‘अहिले नयाँ आलु कम छ, जसका कारण पनि मूल्य बढेको हो ।’

नयाँ आलु अरू  क्षेत्रबाट पनि आउन थालेपछि भने मूल्य केही  घट्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्