०७ असार २०८३, आइतबार

अन्य देशका सैनिकलाई पनि युक्रेनमा रुसविरुद्ध लड्न पठाइन सक्ने

कात्तिक १३, २०७९
अन्य देशका सैनिकलाई पनि युक्रेनमा रुसविरुद्ध लड्न पठाइन सक्ने

अमेरिकी सेनाका पूर्व जर्नेल तथा गुप्तचर निकाय सीआईएका पूर्व निर्देशक डेभिड पेट्रायसले फ्रान्सको लक्सप्रेस पत्रिकासँगको अन्तर्वार्तामा खतरनाक कुरा गरेका छन् । 

अमेरिकी सहायताका कारण युक्रेनीहरू अहिले रुसीहरूमाथि हावी भइरहेको उनको भनाइ छ । 

रुसले आणविक हतियार प्रहार गरेछ भने पनि अमेरिकासँग त्यसको प्रतिकारका लागि अनेकौं विकल्प रहेको उनको भनाइ छ । 

युद्धको परिणाम रुसको पक्षमा नजाने उनले ठोकुवा गरे । अर्थात्, युद्धमा रुसले पूर्ण पराजय हुने उनको भनाइ छ । 

त्यसो हो भने युक्रेनमा अमेरिकी हस्तक्षेप किन आवश्यक पर्‍यो त भनी सैन्य विश्लेषक ल्यारी जोनसन प्रश्न गर्छन् । 

जोनसनले पेट्रायसलाई मन्दबुद्धिको संज्ञा दिएका छन् । युक्रेन युद्ध छिट्टै अन्त्य नहुने र अमेरिकाले युद्धमा अन्तर्राष्ट्रिय उद्धारक टोली पठाउन सक्ने पेट्रायसको भनाइसँग युक्रेन युद्ध जित्दैछ भन्ने भनाइले तालमेल नखाएको विषयलाई जोनसनले व्यंग्य गरेका हुन् । 

अमेरिकाले रुसविरुद्ध बहुराष्ट्रिय गठबन्धनको नेतृत्व गर्ने र त्यसमा नेटोको संलग्नता नहुन पनि सक्ने पेट्रायसको भनाइ छ । 

रुसले युक्रेनमा स्तब्ध बनाउने तथा खतरनाक कारवाही गर्न सक्ने पूर्वानुमान पेट्रायसले गरेका छन् । त्यस्तो वीभत्स कारवाहीका कारण युद्धमा अमेरिकाको प्रत्यक्ष सहभागिता आवश्यक हुन सक्ने उनको भनाइ छ । 

उनको यो भनाइबाट कतै युक्रेनले आफैं वीभत्स कारवाही गरेर त्यसको दोष रुसमाथि थोपर्ने अनि अमेरिकालाई युद्धमा सहभागी गराउने त हैन भनेर पनि शंका गर्न थालिएको छ । 

पेट्रायसका अनुसार, कुनै एक नेटो सदस्यमाथिको आक्रमणको अवस्थामा नेटोले हस्तक्षेप गर्ने कुरा सबैलाई थाहा छ । तर युक्रेनमा नेटोका सुरक्षाफौजहरू उपयोग नगर्ने विकल्पमा विचार गर्नुपर्ने हुन्छ । नेटोसँग साइनो नजोडिएको बहुराष्ट्रिय सैनिकहरू उपयोग गर्न सकिने पेट्रायसको भनाइ छ । 

यसरी बहुराष्ट्रिय सेना अहिले नै पनि युक्रेनमा छद्मयुद्ध त लडिरहेकै छ । तर पेट्रायसले खुलमखुला उनीहरूको सहभागिताको वकालत गरेका छन् । त्यस्तो स्थितिमा तेस्रो विश्वयुद्ध शुरू हुन सक्ने सम्भावनालाई पेट्रायसले हलुका रूपमा लिएको देखिन्छ । 

ल्यारी जोनसनले पेट्रायसको यस भनाइलाई आधार लिँदै उनको चरित्रचित्रण गरेका छन् । दिमाग नलगाउने व्यक्तिका रूपमा आफूलाई स्थापित गरेका व्यक्ति भनी उनले पेट्रायसलाई ठोकेका छन् । 

सीआईएमा काम गर्दा सुरक्षासम्बन्धी चुक गरेकाले पेट्रायसलाई पदबाट बर्खास्त गरिएको थियो । पेट्रायसले सीआईए कार्यालयमै आफ्नो डेस्कमुनि प्रेमिकासँग क्रीडा गरेको खबर आएको थियो भनी जोनसन लेख्छन् । 

पेट्रायसले युक्रेन युद्धका विषयमा गरेको टिप्पणीबाट यो प्रश्न उठ्छ ः युक्रेनको विजय अवश्यम्भावी छ र अब रुसीहरूको डेग चल्दैन पनि भन्ने अनि अमेरिकाले बहुराष्ट्रिय फौज जम्मा गरेर रुसलाई रोक्ने तथा युक्रेनलाई जोगाउने कुरा एकैचोटि कसरी सम्भव छ ?

सेप्टेम्बर महिनाको अन्त्यतिर युक्रेनले चलाएको प्रत्याक्रमणले रुसी सैनिकहरूलाई तहसनहस पारेको अनि उनीहरू डराएर भागेको भन्दै मनाइएको खुशियाली पनि बिलाइसकेको छ । अहिले रुस कठोर रवैया अपनाइरहेको छ अनि पश्चिमी युक्रेनमा विद्युत् आपूर्ति ठप्प बनाइरहेको छ । 

युक्रेनमा कम्तीमा १० तल्ला अग्ला भवनमा धेरै मानिसहरू बस्छन् । त्यहाँ विद्युत् आपूर्ति ठप्प भएमा माथिल्लो तल्लामा पानी नै पुग्दैन । अनि शौच कसरी गर्ने, नुहाउने कसरी ? चिसो पानीले पनि नुहाउन गाह्रो पर्छ । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले देशको विद्युतीय संरचनामा रुसको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सफल भएको बेमनले भए पनि अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन् । 

स्काई न्युजका अनुसार, 

रुसको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले युक्रेनको ४० प्रतिशत जति ऊर्जा संरचनालाई क्षति गरेको छ । राजधानी किएभ अन्धकारमा बस्न बाध्य भएको छ । 

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले देशबाट भागेका युक्रेनीहरूलाई जाडो महिनामा देश नफर्किन अनुरोध गरेकी छन् । विद्युतीय केन्द्रहरू नष्ट भएकाले बाहिरका मानिस युक्रेन आउँदा अतिरिक्त बोझ थपिने हुँदा नआउन उनले आग्रह गरेकी हुन् । 

युक्रेनी सेनाले रुसी सेनालाई हायलकायल बनाइरहेको हुन्थ्यो भने रुसले युक्रेनका महत्त्वपूर्ण संरचनाहरूमा यसरी व्यापक क्षति कसरी पुर्‍याउन सक्थ्यो त ? 
 

कमेन्ट गर्नुहोस्