
अभिनेता दयाहाङ राईका एकपछि अर्को फिल्म हिट भइरहेका छन् । वर्ष २०७९ को ७ महिनामा उनका तीन फिल्म हिट भइसकेका हुन् । गत जेठमा प्रदर्शनमा आएको ‘कबड्डी ४’ उनको वर्षको पहिलो हिट फिल्म हो । फिल्मले सर्वाधिक कमाइको रेकर्ड नै राखेको छ । त्यसपछि असोजमा प्रदर्शनमा आएको फिल्म ‘दुई नम्बरी’ पनि हिट भयो ।
कात्तिकको ४ गतेदेखि प्रदर्शनमा आएको ‘के घर के डेरा’ ले पनि सुखद व्यापार गरेसँगै यसैवर्ष उनका हिट फिल्मको संख्या तीन पुगेको हो । उनका हिट फिल्मको यो संख्या अझै थपिने आशा गर्न सकिन्छ । किनकी, उनी अभिनित नयाँ फिल्म ‘फूलबारी’ प्रतिक्षित छ । जून फिल्मले फागुन ५ गतेका लागि प्रदर्शन मिति तय गरिसकेको छ ।
थिएटर हुँदै फिल्ममा प्रवेश गरेका दयाहाङ सशक्त अभिनय गर्ने अभिनेता मानिन्छन् । उनी नेपाली फिल्मका सर्वाधिक 'डिमाण्डेड' अभिनेतासमेत हुन् । एकपछि अर्को फिल्म हिट भएसँगै यतिबेला उनलाई फिल्मबाट 'अफर'को ओइरो छ । यद्यपि, उनले छानेर मात्रै फिल्ममा अभिनय गर्दै आएका छन् । उनको अर्को फिल्म ‘बिहे पास’ नयाँ वर्षमा प्रदर्शनमा ल्याउने तयारी छ ।