०७ असार २०८३, आइतबार

स्थानीयको सक्रियतापछि सामुदायिक विद्यालयमा आकर्षण बढ्दै

कात्तिक १८, २०७९
स्थानीयको सक्रियतापछि सामुदायिक विद्यालयमा आकर्षण बढ्दै
प्रतिकात्मक तस्वीर

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा ३ वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन शुरू गरेसँगै विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा थियो ।

तर कोरोना महामारीको समयमा गाउँ फर्केका दीपेन्द्र खत्री विद्यालयको कमजोर अवस्था देखेर चिन्ता लाग्यो । उनी विद्यालय सुधारको योजनासहित अघि बढे । केही समयमै खत्री विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिए ।

अध्यक्ष भएसँगै खत्रीले अभिभावकलाई आकर्षित गर्नका लागि गुणस्तर बढाउन लागे । विद्यालयमा विद्यार्थीको संख्या बढाउनका लागि खत्रीले सदरमुकाममा निजी विद्यालयमा अध्ययन गर्दै आएका आफ्ना ३ बालबच्चालाई फर्काएर सोही विद्यालयमा भर्ना गराए ।

खत्रीको विद्यालय सुधारको अभियानमा स्थानीयले पनि साथ दिए । केही स्थानीयले सन्तान सरकारी विद्यालयमै फर्काए भने आर्थिक स्रोत पनि जुट्न थाल्यो ।

२०७७ सालमा काठेखोला गाउँपालिकाले विद्यालय गाभ्ने योजना अन्तर्गत जनसेवा प्राविका १२ जना विद्यार्थी भर्ना गर्‍यो । विद्यालय गाभेपछि विद्यार्थीको संख्या २९ पुग्यो । गाभ्ने प्रक्रिया पूरा भएपछि स्थानीयमा आशा पलायो । क्रमशः स्थानीयहरूले सन्तान विद्यालयमा भर्ना गर्न थाले ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा ३ वर्षमा २६ जना विद्यार्थी थपिएर ४३ पुगेका छन् । प्रधानध्यापक अबिराम थापाका अनुसार २०५२ सालमा हालसम्मकै सबैभन्दा बढी १०० विद्यार्थी पुगेका थिए तर बसाइसराइ तथा निजी विद्यालयमा आकर्षण बढेसँगै विद्यार्थीको संख्या कम हुँदै गएको थियो । 

३ वर्षअघिसम्म बन्द हुने अवस्थामा पुगेको विद्यालय यतिबेला भने बलियो बन्दै गएको छ ।

हाल गौथली सामुदायिक विकास केन्द्र र धम्जा घर भई विभिन्न स्थानमा छरिएका शिक्षाप्रेमीहरूले जुटाएको आर्थिक रकमबाट विद्यालयमा २ शिक्षक नियुक्त समेत गरिएको अध्यक्ष खत्रीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्