
दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘महापुरूष’ सेलिब्रेटीहरूले हेरेका छन् ।
आइतवार साँझ राजधानीको विग मुभिजमा पुगेर कलाकारहरू सन्तोष पन्त, डा. भोला रिजाल, अर्जुनजंग शाही, , कृष्ण मल्ल, रमेश उप्रेती, कालीप्रसाद बास्कोटा, गौरव पहारी, विनय श्रेष्ठ, सुधिर श्रेष्ठदेखि भुवन चन्द, करिश्मा मानन्धर, रीमा विश्वकर्मासम्मले फिल्म हेरे ।
हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म हेरिसकेपछि अधिकांश सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरे ।
आफ्नो आमालाई लिएर फिल्म हेर्न पुगेकी अभिनेत्री रीमाले फिल्म राम्रो बन्नु समग्रमा नै बाध्नुपर्ने बताइन् ।
‘पटकथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनय तीनै पक्षलाई म फिल्मकर्मीको हिसाबले शतप्रतिशत मार्क्स दिन्छु’, अभिनेत्री विश्वकर्माले भनिन्, ‘मेरो बुवा सानैमा वित्नु भएकोले म एकल आमाको सन्तान हुँ । फिल्म हेरेपछि म सोच्दैछु उहाँ सुखी त हुनुहुन्छ ? यसविषयमा त हामीले कुराकानी नै गरेका रहेनछौं ।’
उनले फिल्म बाको माध्यमले प्रस्तुत गरिएता पनि यसले बा र आमा दुवैको एक्लोपनको कथा ब्यक्त गर्ने बताइन् ।
‘कतिपय स्थानमा मलाई सामान्य लागेको दृश्यमा पनि आमा भावनात्मक भइरहनुभएको थियो । किनकी उहाँलाई बढी कनेक्ट गर्यो । त्यसैले आफ्नो बुवा आमाको भावना बुझ्न चाहनुहुन्छ भने यो फिल्मसँगै हेर्नुहोला । उहाँहरूले मनमा कुरा दबाएपनि आँखाले बोल्नेछ,’ अभिनेत्री रीमाले भनिन् ।
हाम्रो समाजमा हामीले वास्ता नगरेको कथालाई फिल्ममार्फत आम दर्शकसम्म लागिएको अभिनेत्री करिश्मा मानन्धरले बताइन् ।

‘शुखी मात्र नभई शुखी हुनुपर्छ भन्ने संदेश नै सशक्त छ । बुढ्यौलीमा महसुस हुने एलोपनमा चाहिने साथलाई यसमा सरल रुपमा देखाइएको छ । फिल्म हेर्दा समय र पैसा पूर्ण रुपमा असुल हुन्छ’, श्रीमान विनोद मानन्धरसँग फिल्म हेरेपछि अभिनेत्री मानन्धरले भनिन् ।
‘महापुरूष’ जस्ता फिल्मले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने अभिनेता सन्तोष पन्तले बताए ।
‘दर्शक मार्फत विभिन्न सन्देश समाजमा गईरहेका छन् । यस्ता फिल्म बन्नुपर्छ । यस्ता गम्भीर विषयमा समाजको ध्यान गएको छैन । यस्ता विषयलाई बुझ्ने गरी फिल्मकर्मीले उठान गर्नुपर्छ । महापुरूष यस विषयमा सफल भएको छ’, अभिनेता पन्तले भने ।

अभिनेता रमेश उप्रेतीले एउटा उत्कृष्ट फिल्म हेर्ने मौका मिलेको प्रतिक्रया दिए ।
फिल्म हेर्न आइपुगेका दर्शकले पनि राम्रो लागेको र अन्यलाई पनि सिफारिस गर्ने प्रतिक्रिया दिईरहेको निर्माता म्याक्स् दिपेश खत्रीले बताए ।
‘एकजना छोरीले आफ्नो एकल आमाको निर्णय बदल्न फिल्म हेराउनु भएको रहेछ । उहाँ अमेरिका बस्ने भएकोले आमालाई एकल जीवन नबिताउन आग्रह गरिरहनु भएको रहेछ । यस्ता धेरै दर्शक हल भिजिटमा भेटका छौँ’, निर्माता खत्रीले भने ।
उनले पहिलोसाताको तुलनामा दोस्रो साता दर्शकको चाप बढ्दो रहेको जानकारी दिए ।
फिल्म अमेरिकामा समेत दर्शकको राम्रो साथ् पाइरहेको छ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलता पश्चात कलाकार रबिन्द्र सिंह बानियाँको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले नेपालसँगै अष्टे«लिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ ।
फिल्ममा हरिवंशका साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, , अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरू विष्ट लगायतको अभिनय छ ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।


तस्वीरहरू : विश्वास खनाल/लोकान्तर डटकम