२९ जेठ २०८३, शुक्रबार
मतदाताकाे मत

उम्मेदवारलाई झापाका किसानको प्रश्न : मल–बिउ नदिने नेतालाई किन भोट दिने ?

उम्मेदवारलाई झापाका किसानको प्रश्न : मल–बिउ नदिने नेतालाई किन भोट दिने ?

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मिति आउन करिब २ साताको समय मात्रै बाँकी रहँदा नेता तथा कार्यकर्ताहरूलाई चुनावी चटारो छ । नेताहरू गाउँबस्तीमा भोट माग्न व्यस्त छन् । 

झापा धुलाबारी नजिकैको आरती टोलका किसानलाई चाहिँ चुनावभन्दा बाली भित्र्याउने चटारोले छपकै छोपेको छ । नेताहरूले किसानको दुःख नबुझेका कारण चुनावप्रति आफूहरूलाई खासै चासो नभएको किसानहरूको भनाई छ । 

धुलाबारी चोकबाट ४ किलोमिटरको दुरीमा रहेको मेचीनगर–११ स्थित धाइजन, आरतीटोल हुँदै स्कूलडाँडासम्मका किसानहरूलाई अहिलेसम्म चुनावी रन्कोले छोएको छैन् ।

कृषक भानु कुँवरले राजनीतिक दल र नेताहरूप्रति असन्तुष्टि पोख्दै भने, ‘आफूले जित्नका लागि नेताहरूले गठबन्धन गरेका छन् । गठबन्धनको नाममा भाग लगाएर खाने काम भइरहेको छ ।’ 

दलहरूमा एक्लै चुनावमा जाने, आफ्ना एजेण्डा राख्ने र जनताबाट अनुमोदित भएर आउने आँट नै हराएको कुँवरको बुझाई छ ।

चरम महंगीले सर्वसाधारणको चुल्होमै असर गरेको तर, नेताहरू भने जनजीविकाको सन्दर्भमा बेखबर जस्तो देखिएको उनले बताए । ‘दिनभर काम गर्दा २ सय रूपैयाँ ज्याला पाइन्छ । होटलमा गएर एक छाक खाना खादा २५० रूपैयाँ खर्च हुन्छ । यो अवस्था राजनीतिक दलहरूकै अकर्मण्यताले भएको हो’, कुँवरले भने । 

देशमा रहेको अव्यवस्थाका कारण कृषकले उत्पादनको मूल्य नपाएको, रोजगारीका लागि विदेशिनु परेको समस्या उनले सुनाए । 

‘रोजगारीका लागि परिवार छोडेर विदेशिनुपर्छ । अहिलेसम्म राजनीतिक दल र तिनका नेताले युवालाई स्वदेशमै राख्ने व्यवस्था मिलाउन सकेनन् । फेरि पनि उनीहरू नै चुनावका लागि भोट माग्न आएका छन् । फेरि पनि उनीहरूलाई नै किन भोट दिने ?’, उनले भने । 

अर्का कृषक भूपेन्द्र गौतमलाई चुनावमा भोट हाल्ने कुनै उत्साह छैन । उनी भन्छन्, ‘मलाई चुनावप्रति कुनै उत्साह छैन् । भोट हाल्न पनि जाने कि नजाने भन्ने दोधारमा छु । जसलाई भोट दिए पनि के नै हुने रहेछ र ? हामी किसानको दुःख कसैले बुझ्ने होइनन् ।’ 

किसानले बेलामा मल, बिउ नपाउने, उत्पादनले बजार नपाउने विषयका कुनै दल वा सरकारले सहजिकरण नगरिदिएको गुनासो उनीहरूको छ । 

अहिले नेतृत्वमा रहेका नेताहरूको विकल्प खोज्नुपर्ने बेला भएको अर्की किसान भावना कुँवरको भनाई छ । 

‘अहिलेका बुढा नेताले देशलाई कुनै गति दिँदैनन् । सिट ओगट्ने काम मात्रै गर्छन् । नयाँलाई काम गर्न दिँदैनन् आफू पनि गर्न सक्दैनन्’, उनले भनिन्, ‘राम्रो सिस्टम बनाउने, देश विकास गर्ने, सहज सेवा र सुविधा दिने भन्ने नेताको ध्यानमा छैन ।’ 

जनताले मागेको खानेपानी, स्वास्थ्य, शिक्षा, सडकसहितको विकास भएको तर, दलहरूले भने स्यानिटरी प्याड दिने योजना ल्याएको भन्दै उनले व्यङ्ग्य गरिन । 

अर्का किसान राजन पोखरेल भने यो वा त्यो दलले राम्रो गर्ला कि भनेर छान्दा छान्दै मतदाताको जीवन वित्ने गरेको बताउँछन् । 

‘यसले राम्रो गर्ला कि उसले राम्रो गर्ला भन्दैमा जीवन सकिने भयो । चुनाव जितेर गएपछि नेतालाई हाइसन्चो । जितेपछि किन जनता सम्झिन्थे ?’, पोखरेलले भने ।

झापामा बनिरहेको हुलाकी मार्ग समयमा नबनेको विषयमा पनि स्थानीय रूष्ट छन् । हुलाकी मार्गलाई देखाएर जग्गा प्लटिङ गर्ने, मुल्य बढाउने काम मात्रै भएको तर, जनताले सुविधा भने नपाएको स्थानीय हरिबहादुर भण्डारीले बताए । 

नेताहरूले सडक पिच गर्ने भन्दै चुनाव जित्दै गरेको तर, बाटो भने कहिल्यै पिच नभएको भण्डारीले बताए । 

यस पटकको चुनावमा भने भोट माग्न आउने नेतालाई आफ्ना विषय सुनाएर र समस्या समाधानमा प्रतिवद्धता गराएर मात्रै मत दिने मनिस्थितिमा धुलाबारी वरपरका मतदाता रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्