राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलासँग १३ हजार ४४३ मतान्तरले लिङ्देन विजयी भएका थिए । त्यसबेला राप्रपाले देशभरमा एक सिट मात्रै जितेको थियाे ।
संसदको कार्यकाल सकिनुअघि नै सांसद पदबाट राजीनामा घोषणा गरेका लिङ्देनले आगामी चुनावबाट संसदमा राप्रपाका सांसदको संख्या बढाएर आउने अभिव्यक्ति दिएका थिए । भलै, उनी २०७४ मा सांसद निर्वाचित हुँदा पार्टी अध्यक्ष कमल थापा थिए । महाधिवेशनमा लिङ्देनसँग पराजितभएछि थापाले पुरानाे पार्टी ब्युताएका छन् ।
झापा–३ मा एमालेको समर्थन पाएका लिङ्देनले यस पटक पनि गठबन्धनका उम्मेदवारलाई पराजित गरेर संसद पुग्ने मात्रै होइन राप्रपालाई प्रमुख राजनीतिक दलको हैसियतमा पुर्याउने दावी गर्छन् । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १४१ निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदावरी दिएको छ ।
लोकान्तरकर्मी गगन अर्याल र राजु बास्कोटाले झापाको भद्रपुर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः
राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी प्रचार कस्तो चल्दैछ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी अभियानमा उत्साहजनक तरिकाले अगाडि लागीरहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा पनि राम्रो तयारी गरिराखेका छौं । अध्यक्षको हिसाबले देभरीमा अप्रत्यासित मत परिणाम आउने हिसाबले तयारी गरिराखेको छु । हाम्रो पक्षमा जनसमर्थन राम्रो छ । यसपटक चुनावी परिणाम पनि उत्साहप्रद नै आउनेमा विश्वस्त छु ।
यस पटकको चुनावमा राप्रपाले कति सिट जित्छ ? कि राप्रपा यस पटक पनि राष्ट्रिय पार्टी बन्ने संघर्षमै हो ?
राप्रपाले अप्रत्यासित सिट ल्याउँछ र मुख्य शक्तिकोरूपमा स्थापित हुन्छ । हामीले आन्तरिक आँकलन त गरेका छौं । तर, अहिले नै यति र उति सिट भनेर भन्नु अनुपयुक्त हुन्छ ।
अर्कोतर्फ, राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने मुद्दाभन्दा राप्रपा माथि छ । राप्रपा राष्ट्रिय पार्टी बन्ने नबन्ने अहिले समस्याको विषय पनि होइन् । यो पार्टी राष्ट्रियरूपमा अग्रणी पार्टीकोरूपमा स्थापित हुने प्रक्रियामा छ । यो पटकको निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुन्छ ।
अग्रणी पार्टी हुन्छौं भन्ने दावी गर्नुहुन्छ, त्यसको आधार के हो ?
मुख्यरूपमा नेपाली मतदाता ३ दशकदेखि एकै खालका राजनीतिक दल र एकै खालका नेताहरूको चक्रब्यूहमा फसेका थिए । अहिले त्यसको उन्मुक्ति खोजिराखेका छन् । त्यसको विकल्पकोरूपमा फरक दृष्टिकोण र नविन सोचका साथमा आएको पार्टी राप्रपा मात्रै छ । त्यसकारण नेपाली जनताको अगाडि ३ दशकदेखिको चक्रब्यूह भत्काउने विकल्पकोरूपमा राप्रपा मात्रै छ । त्यसकारणले पनि राप्रपाको सम्भावना छ । हाम्रो विचार, क्रियाकलापले पनि पनि मतदातालाई छोएको छ । निर्वाचनमा उम्मेदवारी दिने क्रममा राप्रपाले १४१ सिटमा उम्मेदवारी दिएको छ । उम्मेदवारीका हिसाबले हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग मात्रै छ । कांगे्रसले त १०० सिटमा पनि उम्मेदवार दिन सकेन् । माओवादी केन्द्रले ५० सिटमा उम्मेदवार दिन सकेन् । उनीहरूले बहुमत सिटमै अर्थात सरकार गठन गर्ने सिटमा उम्मेदवारी दिन सकेनन् त्यसैले हामीले उम्मेदवारी दिएको क्षेत्रमा जितेर आउँदा अग्रणी शक्तिकोरूपमा राप्रपा हुन्छ ।
भनेपछि, राप्रपाको मुख्य प्रतिस्पर्धि राजनीतिक दल एमाले हो ?
अरू राजनीतिक दलहरूले जुन धारको प्रतिनिधित्व गर्छन् त्यसभन्दा फरक धारको प्रतिनिधित्व राप्रपाले गर्छ । उनीहरू एउटा कित्ता र हामी अर्को कित्तामा छांै । त्यसकारणले फरक दृष्टिकोणमा राप्रपालाई जनताले खोज्छन । व्यवहारिक हिसाबले हेर्दा पनि जसले उम्मेदवार नै उठाउन सकेका छैनन्, उनीहरूसँग केको प्रतिस्पर्धा ?
मुख्य प्रतिस्पर्धा एमालेसँग हो भन्नुहुन्छ तर, राप्रपाले त एमालेसँगै चुनावी तालमेल गरेको छ । यस्तो विरोधाभाष किन ?
एमालेसँग झापामा सहकार्य गरे पनि राष्ट्रिय रूपमा सहकार्य गरेका छैनौं । हामी एमालेसँग मैत्रीपूर्ण प्रतिस्पर्धामा छौं । हामी सहज ढङ्गले प्रतिस्पर्धा गर्छौं ।
एमालेसँगको सहकार्य चुनाव जित्नको लागि मात्रै हो कि पछिसम्म रहन्छ ?
पछिसम्मका लागि त्यस्तो कुनै सम्झौता त भएको छैन् । स्वभाविकरूपले त्यो सम्भावना बढ्न सक्छ । अहिले निर्वाचन प्रयोजनका लागि सहकार्य गरेका हौं । अहिल्यै कुनै प्रतिवद्धता र सहमतिहरू भएका छैनन् ।
अर्को विषय स्पष्ट पारौं, राप्रपाले विगतमा जस्तो सत्ता केन्द्रित राजनीति गर्ने छैन् । हामीले त्यो कुरा हाम्रो घोषणा पत्रमा पनि उल्लेख गरेका छौं । राप्रपाको विचार र दृष्टिकोण अरुभन्दा फरक छ । सत्ता प्राप्तिका लागि जुनसुकै शक्तिसँग सहकार्य गर्ने भन्ने नीति हाम्रो होइन । राप्रपा असाध्यै अलोकप्रिय मात्रै भएन झण्डै सकिने विन्दुमा पुगेको तीतो अनुभव हामीसँग छ । अब हामी सत्तालाई होइन सिद्धान्तलाई प्राथामिकतामा राखेर काम गर्छौं । जनताको अभिमतलाई आधार मानेर मात्रै सत्तामा जान्छौं । जुन बेला पायो त्यहीँ बेला, जोसँग पायो त्यहीसँग सत्तामा जानुहुँदैन भन्ने निर्णय गरेका छौं । सत्ता राप्रपाको प्राथामिकता होइन र हुने पनि छैन ।

चुनावमा एमालेको अध्यक्ष र राप्रपाको अध्यक्ष जिताउने हिसाबले मात्रै सहकार्य गरेको देखियो । अन्य क्षेत्रमा आफ्नै उम्मेदवार जिताउने चाहिँ किन सहकार्य गर्नु भएन ?
केही मानिसहरूले राप्रपामा खेल्न सकिन्छ कि ? राप्रपामा अन्तरविरोध ल्याउन सकिन्छ कि ? भनेर गरेका कुराहरू हुन् । त्यस विषयमा हामी सचेत छौं । तालमेल गर्दा केही निश्चित सिटहरूका लागि मात्र गरिएको थियो । त्यसमा काठमाडौं, सिन्धुलीलायतका जिल्लामा तालमेल गर्ने भनेका थियौं । हामीले एउटा जिल्ला पाएपछि अर्को जिल्लामा एमालेलाई छोड्ने सहमति गरेका थियौं । यसरी तालमेल गर्दै जाँदा राप्रपाको मात्रै चाहनाले भएन । एमालेसँग ५ वटा जिल्लामा मात्रै सहमति हुनसक्यो । काठमाडौं हामीले चाहेर पनि तालमेल हुन नसकेको जिल्ला हो । दुई पार्टीका अध्यक्षलाई चुनाव जिताउनको लागि मात्रै तालमेल गरेको भन्ने पक्कै होइन । अरु ठाउँहरूमा पनि मिलाइएको छ । कतिपय ठाउँमा एमालेले सहयोग गरिदिए हुन्थ्यो भन्ने ठाउँमा हामीले पाएका छैनौं भने कतिपय एमाले पाउने ठाउँमा हामीले पाएका छौं ।
शुरूमा काठमाडौं–१ मा एमालेले राप्रपालाई सघाउने चर्चा थियो तर, पछि एमालेले आफ्नै उम्मेदवार तयार गर्यो । रवीन्द्र मिश्र भएको कारण राप्रपाले काठमाडौं–१ लाई प्राथमिकता दिएन भन्ने पनि सुनिन्छ नि ?
एमालेले काठमाडौंलाई आफ्नो प्राथामिकतामा राख्यो । काठमाडौंबाट राप्रपालाई सहयोग गर्ने अर्को क्षेत्र रोज्नु भनेको थियो । यसको लागि हामीले धेरै प्रयास र पर्याप्त छलफल गर्यौं । तर, त्यहाँ सहमति हुन सकेन् । हामीले त काठमाडौं–१ मै तालमेल हुनुपर्छ भनेर प्राथमिकता दिएकै हो । अन्तिम समयसम्म पनि सफल हुन नसकेपछि छुट्टा छुट्टै उम्मेदवारी दिएका हौ । तर, पनि राप्रपा एक्लैले काठमाडौं– १ जित्न सक्छ ।
रवीन्द्र मिश्र भएको कारण प्राथमिकता दिएन भन्ने विल्कुल गलत कुरा हो । हाम्रो प्राथामिकता काठमाडौं–१ नै हाम्रो पहिलो प्राथमिकताको क्षेत्र हो । हाम्रो कार्यकर्ता पंक्ति त्यहीँ खटिइरहेका छन् । त्यो राप्रपाको लागि विजय सुनिश्चित भएको क्षत्रे पनि हो । प्राथमिकता नदिएको भन्ने होइन, उच्च प्राथामिकता दिएको क्षेत्र चाहिँ हो ।
राप्रपाले तालमेल गरेका सबै सिटमा जित्छ त ?
त्यसमा त कुनै विवादै छैन् । जति ठाउँमा एमालेसँग तालमेल भएको छ सबै पक्का छ । तालमेल नभएको पनि धेरै वटामा जित्नेमा विश्वस्त छौं ।
झापा–३ मा तपाईंका लागि परिचित प्रतिस्पर्धी हुनुहुन्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन बनाएर तपाईंसँग प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्थामा तपाईंले जित्ने आधार के–के हो ?
पाँच बर्षमा यस क्षेत्रको विकास निमार्णमा निर्वाह गरेको भूमिका, नेतृत्व र राष्ट्रिय राजनीतिमा स्थापित गरेको फरक दृष्टिकोण नै मेरो चुनाव जित्ने आधार हुन् । ती कामको मुल्याङ्कन मतदाताले गरेर नै मलाई दोस्रो पटक अनुमोदन गर्नुहुनेछ । त्यसका अतिरिक्त गएको स्थानीय तहको निवार्चनमा राप्रपाले प्राप्त गरेको पपुलर मत र अहिले हामीसँग तालमेलमा रहेको एमालेको मत मात्रै जोड्दा पनि हामी धेरै माथि छौं । म अहिले आधिकारिकरूपमा एमाले–राप्रपाको उम्मेदवार भए पनि मेरो हकमा कांग्रेस, माओवादी र अन्य पार्टीका परिर्वतन चाहने तथा विकास चाहने मतदाताको पनि उम्मेदवार हुँ । उहाँहरूले पनि मलाई समर्थन गर्नुहुन्छ । त्यसकारण, यो चुनावमा मतान्तर कति बढाउँने भन्ने मात्रै हो । जित्ने–नजित्ने प्रश्न नै छैन ।
हामी तपाईंको निर्वाचन क्षेत्र घुमेर आयौं, तपाईंको आफ्नै घर जाने सडक पनि पिच भएको रहेनछ । खानेपानीको समस्या जनताले मुख्यरूपमा उठाउँछन् । आफ्नै घर वरपरका मतदाता रूष्ट रहेछन् नि ?
मेरो निर्वाचन क्षेत्रमै ५ बर्ष अगाडिसम्म कालोपत्रे सडक कस्तो हुन्छ भनेर हेर्नका लागि नजिका अरू निर्वाचन क्षेत्र र सहरमा जानुपर्ने अवस्था थियो । अहिले कालोपत्रे सडकले नछोएको कुनै वडा छैन । खानेपानीको सुविधा व्यापकरूपमा विस्तार भइराखेको छ । अहिले राप्रपाले विजय गरेको हल्दिबारीमा १० हजार लिटर पानी निःशुल्क गरेका छौं । अन्य कालोपत्रे नभएको क्षेत्रमा पनि बन्ने क्रम जारी छ । मैले सिङ्गो निर्वाचन क्षेत्रमा कालोपत्रे पुर्याएको छु । पहिलाभन्दा अभूर्तपूर्व हिसाबले विकास भएको छ । मेची र विरिङ जस्ता दुई ठूला नदीले वर्षा याममा सधै डुवाएर दुःख दिन्थ्यो । पहाडमा पानी पर्दा यहाँका जनता राती निदाउँदैनथे । अहिले तटबन्धनले त्यो अवस्थाको अन्त्य भएको छ । ५ वर्ष अगाडि उद्धार गर्न डुंगा चलाएर जानुपर्ने अवस्था थियो । यो ५ वर्षमा झन ठूलो पानी पर्दा पनि यहाँका जनता निर्धक्क निदाउन पाउने भएका छन् । सौर्य विद्युतीय तारबार लगाएर मानव वन्यजन्तुको द्वन्दको अन्त्य भएको छ । अझै पनि काम गर्न बाँकी छन् । एउटा जनप्रतिनिधिले गर्ने प्रयास र थोरै बजेटमा पनि राम्रो काम हुँदोरहेछ भन्ने यो क्षेत्रका जनताले थाहा पाएका छन् ।
राप्रपाको चुनावी घोषणा पत्रमा संघीयता विरोधी नाराहरू समावेश भएका छन् । संघीयता खारेजी र हिन्दू धर्मको वकालत गर्नुभएको छ । तर, जनस्तरमा यसको स्वीकार्यता त देखिदैन नि ?
हाम्रो क्षेत्रका जनतालाई राप्रपाको एजेण्डाका बारेमा जानकारी छ । कसैको सहमति होला कसैको सहमति नहोला फरक त्यति मात्र हो । जसले राप्रपालाई विश्वास गर्यो र मतदान गर्यो उसले हाम्रा एजेण्डामा सहमति दियो भन्ने हो । एजेण्डालाई सहमति नदिई कसरी मत दियो होला र ? त्यसकारणले त्यस विषयमा यहाँका जनताले बुझ्नु भएको छ । विकास, सुशासन, सम्बृद्धि, संघीयता खारेजी, राष्ट्रियता, अभिभावकीयक संस्थाकोरूपमा राजाको स्थापना, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद्ले मन्त्री हुन नपाउने व्यवस्था लगायतका विषय राप्रपाले उठाइराखेको छ । यी एजेण्डामा कसैको सहमति छ भने कसैले विरोध गर्नुभएको छ । तर, कुनै न कुनै कुरामा सहमत भएर त जनताले भोट दिनुहुन्छ ।
कमल थापा र तपाई छुट्टिएर अलग पार्टी भइसक्दा पनि चुनाव जित्नका चाहिँ एमालेकै छाता चाहियो नि ?
कमल थापा र राप्रपालाई जोड्नु पर्ने कतै सन्दर्भ छैन । उहाँले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नु भएको छ । ५ बर्ष उहाँ एमालेसँग अनुबन्धित भइसक्नुभएको छ । त्यसको बारेमा कुनै टिप्पणी गर्न चाहन्न । तर, हाम्रो पार्टी राप्रपाले भने एमालेसँग सहकार्य गरेको हो । दुबैले बराबरीको आधारमा सहकार्य गरेका छौं ।
चुनावपछि कमल थापासँग पार्टी एकता गर्ने सम्भावना छ ?
त्यो सम्भावना शून्य प्रतिशत । कुनै कल्पनासम्म गरेका छैनौं । राप्रापासँग विचार र एजेण्डा नमिलेपछि फेरि सहकार्य हुन सक्दैन् ।
तर, एकै समय एउटै एजेण्डा बोकेको हिसाबले राजनीतिक यात्राको दौरानमा सहकार्य नहोला र ?
एउटा एजेण्डा बोकेको रवीन्द्र मिश्रहरू अन्तिम सयममा आएर जोडिनु भएको छ । उहाँ विजय पनि हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ । नेपालमा निर्वाचन आयोगमा दर्ता भएको पार्टीमा राप्रपासँग समान विचार राख्ने कुनै पार्टी छैन् । यदि कसैले राख्छ भने त्यो राप्रपासँग जोडिन आउने हो ।
रवीन्द्र मिश्रसँग व्यक्ति तान्ने होइन, पार्टी नै एकीकरण गर्ने भन्ने खालको चर्चा हुन्थ्यो । तर, त्यस्तो हुन सकेन हैन ?
प्राविधिक कारणले तत्काल सम्भव नभएको हो । निर्वानन पछाडि विचार मिल्ने साथीहरूको समूह आउन सक्नुहुन्छ । कुनै समझदारी भएको र चुनावका कारण काम थाति राखिएको भन्ने केही छैन । विचार मिल्ने साथीहरू आउनुभएको छ । अझै आउन चाहेनलाई ढोका खुल्ला छ ।
भिडियाेमा हेर्नुहाेस् राप्रपा अध्यक्ष लिङ्देनसँगकाे कुराकानी