२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

शेखर कोइरालाको चुनावी घरदैलो– 'एकपटक मत दिनुस्, ५ वर्षसम्म विकास र समृद्धि दिन्छु'

शेखर कोइरालाको चुनावी घरदैलो– 'एकपटक मत दिनुस्, ५ वर्षसम्म विकास र समृद्धि दिन्छु'

मोरङ– ६ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । 

मंगलवार बिहानै घरदैलो र ४ वटा कोणसभा सकेर कोइराला ११ बजे बूढीगंगा गाउँपालिकास्थित गोकुवा थान पुगेका थिए । त्यहाँ पनि घरदैलो र कोण सभाको कार्यक्रम आयोजना गरिएको थियो । 

उनी गाडीबाट ओर्लिनेबित्तिकै एकजना मतदाताले गुनासो राखिन्, ‘हुनेखानेका छोरा–छोरीले अंग्रेजी माध्यममा पढे । हाम्रा छोराछोरी सरकारी विद्यालयमा छन् । अंग्रेजी माध्यममा पढ्न पाएनन् । सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुने व्यवस्था मिलाइदिनुपर्‍यो ।’

डा. कोइरालाले उनलाई आश्वस्त पार्दै भने, ‘चुनाव जितेर गएपछि त्यसका लागि पहल गर्छु । चुनावमा मलाई भोट दिनुपर्‍यो ।’

कार्यक्रमलाई सम्बोधन गर्नुअघि उनले उपस्थित स्थानीय युवा र महिलाहरूका गुनासो सुने । केही युवाले खेल मैदानको स्तरोन्नति हुनुपर्ने, भित्री सडक कालोपत्रे हुनुपर्ने माग राखे । 

उनीहरूले राखेका समस्या समाधान गरिदिने प्रतिबद्धता कोइरालाले व्यक्त गरे । केही दिनदेखि कोइराला मतदातासँग भेटघाट गर्ने र गुनासो सुन्ने काममा व्यस्त छन् । उनी बिहान–बिहान ७ः३० बजेदेखि साँझसम्मै यस्तै भेटघाट, छलफल र चुनावीसभामा सहभागी हुने गरेका छन् ।

घरदैलो कार्यक्रममा मात्रै होइन, साँझ घरमै आएका नेता कार्यकर्तासँग पनि उनले चुनावी छलफल गरिरहेका छन् । भोलिपल्टको कार्यक्रम तय गरेर बेलुका ९ बजे सुत्ने गरेको कोइरालाले बताए । 

चुनाव प्रचारका क्रममा शेखरले नबिर्सी दोहोर्‍याउने विषय छ, ‘हामीले माग्ने १ पटक मात्रै हो तर, हामीले दिनेचाहिँ ५ वर्ष हो ।’

यसलाई  प्रस्ट्याउँदै उनी भन्छन्, ‘हामीले मतदातासँग मत माग्ने एकपटक मात्रै हो । जितेर गएपछि हामीले ५ वर्षसम्म विकास र समृद्धिका कार्यक्रम दिइरहनुपर्छ ।’

गोकुवा थानमा आयोजित कोणसभामा पनि कोइरालाले यही कुरा दोहोर्‍याए । उनले भने, ‘जनताले मत दिनुपर्ने एक दिन मात्रै हो । त्यसपछि जनप्रतिनिधिले ५ वर्षसम्म विकास र समृद्धि दिइरहनुपर्छ । यो क्षेत्रमा तपाईंहरूको अगुवाइ म गर्छु । मलाई जिम्मेवारी दिएर पठाउनुस् ।’

सभामा धेरैजसो महिलाहरू कोइरालाको भाषण सुन्न आएका थिए । तर, ‘एक दिन माग्ने र ५ वर्षसम्म दिने’ कुरा ग्रामीण भेगका महिलाले छिचोलेर बुझ्न सकेनन् । उनीहरूले त्यसमा प्रस्टीकरण खोजिरहेका थिए । 

मोरङ– ६ मा सत्तारूढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा डा. कोइराला उम्मेदवार छन् । प्रदेशसभा सदस्यमा भने माओवादी केन्द्रका जीवन आचार्य र कांग्रेसका केदार कार्की उम्मेदवार छन् । 

जीवन आचार्य

कोइरालाले चुनाव प्रचारका कार्यक्रममा आचार्यलाई सँगै लिएर हिड्छन् । कहीँ छुटाउँदैनन् । मतदातालाई रूख र हँसिया हँथौडा चुनाव चिह्नमा भोट हाल्न अपिल गर्छन् ।

गोकुवा थानको कोण सभामा भाषण गर्दै उनले स्थानीय समस्या सम्बोधन गर्ने आश्वासन दिए । 

उनले भने, ‘तपाईंहरूको गाउँमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको आवश्यकता रहेछ । अब सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाटै पढाउने व्यवस्था मिलाउने जिम्मा हामीलाई दिनुहोस् । हामी तपाईंका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिएर डाक्टर, वकिल, इञ्जिनीयर, प्राध्यापक बनाउने वातावरण बनाइदिन्छौं ।’

मतदाताले उठाएका बाटो, पुल, खानेपानी, चापाकलदेखि बेरोजगारीसम्मका समस्या समाधानको प्रयास आफूले गर्ने प्रतिबद्धता कोइरालाले व्यक्त गरे ।

‘मतदाताको मुख्य चासो विकास र समृद्धिमा छ । मैले जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता दिएका छु,’ कोइरालाले लोकान्तरसँग भने, ‘यहाँ स–साना समस्याहरू रहेछन् । स्थानीयहरूले मलाई यी समस्या समाधान गरिदिनुहोस् भन्नुभएको छ । अब मेरो मुख्य ध्यान ती समस्या समाधान गर्नेमा हुनेछ ।’

स्थानीयमा चाहिँ डा. शेखरले बोलेको कुरा पुर्‍याउँछन् भन्ने छाप रहेछ । 

स्थानीय मतदाता जनी पौडेलले भनिन्, ‘उहाँप्रति यहाँका जनताको आशा र भरोषा छ । उहाँको अपेक्षाअनुसार नै यहाँका मतदाताले जिताउने छन् ।’

अर्की मतदाता लक्ष्मी पौडेलले जनअपेक्षाअनुसार काम गर्ने नेताकोरूपमा कोइरालालाई चिनेको बताइन् । 

लक्ष्मी पौडेल

प्रतिबद्धता पूरा गर्ने नेता भएकाले नै उनको भाषण सुन्न आएको पौडेलले बताइन् । ‘उहाँले यसक्षेत्रका लागि राम्रो काम गर्नुहुनेछ भन्ने आशा छ, त्यसैले भाषण सुन्न आएकी हुँ,’ पौडेलले भनिन् ।

अर्का मतदाता पुन्यप्रसाद न्यौपानेले भने नेताको कुरा र काममा तालमेल नहुने गरेको गुनासो गरे ।

स्थानीय मतदाता सुनिता चौधरीले विज्ञ र योग्य नेताकारूपमा कोइरालालाई पाएको बताइन् । 

सुनिता चौधरी

‘विज्ञ र योग्य नेताकारूपमा डा. कोइराला हाम्रो गाउँठाउँमा आएका छन् । उनले चुनाव जिते भने विकास र समृद्धिका योजना ल्याउँछन् भन्ने लागेको छ’, चौधरीले भनिन् ।

गोकुवामा आयोजित कार्यक्रम सकिएलगत्तै खाना खाने कार्यक्रम थियो । दिउँसो साढे १२ बजे खानपिनको तारतम्य मिल्यो  । कार्यक्रमस्थलनजिकै एक कार्यकर्ताको घरमा खानपानको व्यवस्थापन गरिएको रहेछ । 

कोइरालाले हरेकलाई खाना खान भने । खाना खाए नखाएको सबैलाई सोधे ।

खानामा दाल, भात, तरकारी र खसीको मासुको व्यवस्था गरिएको थियो । कोइरालाले कार्यकर्ता र स्थानीयसँगै बसेर खाना खाए ।

कार्यकर्ताले शेखरलाई खाना खानका लागि कोठभित्र राख्न खोजेका थिए । तर, उनले बाहिरै टेबलमा बसेर कार्यकर्तासँगै खाना खाए ।

उनले थोरै मात्र भात खाए । दाल पिए । खाना खाने क्रममा मासु बाँड्दै आएकासँग कोइरालाले आफूलाई ह्याकुलो मन पर्ने भन्दै ठट्टा गरे । खानासँगै उनले ३ पीस मासु खाए । 

खाना खाने कार्यक्रम सकेपछि पार्टी कार्यालयमा आयोजित चुनावी सभामा सहभागी हुने कार्यक्रम थियो । उनी त्यसतर्फ लागे ।

मोरङ– ६ मा यसपटक पनि एमालेबाट लालबाबु पण्डित उनका प्रतिस्पर्धी छन् । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्