२९ जेठ २०८३, शुक्रबार
प्रदेशसभा निर्वाचन

गुरूराज घिमिरेलाई पछ्याउँदा जे देखियो [फाेटाे/भिडियाे]

गुरूराज घिमिरेलाई पछ्याउँदा जे देखियो [फाेटाे/भिडियाे]

मोरङ क्षेत्र नम्बर–४ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार गुरूराज घिमिरेलाई कार्तिक २३ विहान ७ बजे फोन गर्दा उनी बैठकमा जुटिसकेका रहेछन् । उनले म्यासेजमार्फत आफू मिटिङमा रहेको र पछि फोन गर्ने जानकारी गराए । 

नभन्दै एक घण्टापछि घिमिरेको फोन आयो । छोटो संवादपछि उनको चुनावी कार्यक्रम पछ्याउने  निधो भयो ।

ग्रामथान गाउँपालिका–६ तेतरिया चोकमा कार्यक्रम राखिएको रहेछ । हामी त्यतै गयौं । एउटा निमार्णाधिन घरको माथिल्लो तलामा गठबन्धनको कार्यक्रम तय भएको रहेछ ।

कार्यक्रम शुरू हुनुअघि घिमिरे अगुवा कार्यकर्तासँग छलफलमा थिए । उनीहरूले सुनाएको गुनासो दत्तचित्त भएर सुनिरहेका थिए  घिमिरे । कांग्रेसका कार्यकर्ताभन्दा पनि माओवादीका कार्यकर्ताहरूको गुनासो चर्को थियो ।

करिब १ सयको हाराहारीमा रहेका कार्यकर्तालाई घिमिरेले एक जना युवा प्रदेशमा उम्मेदवार भएर आउन गरेको संघर्ष सुनाए र आफूले त्यस क्षेत्रमा ध्यान दिनुपर्ने विषयमा राय मागे । उनले शहरका नेताले गाउँका समस्या नदेखेको र त्यो समस्या समाधान गर्नका लागि आफैंले जित्न जरूरी भएको तर्क  पेश गरिरहेका थिए । 

‘शहरले जहिले पनि गाउँका नागरिकलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरेको छ । यहाँको विकासमा कहिल्यै जोड दिएको छैन । यहाँका समस्याहरूको बारेमा बोलेको देखिँदैन । त्यसलाई चिर्न पनि तपाईहरूको साथ मलाई चाहिएको छ’ घिमिरले भने, ‘शहरले जहिल्यै गाउँलाई उपनिवेश जस्तो बनाउने प्रयास गर्छ त्यसलाई चिर्न जरुरी छ ।’ 

यति भनेपछि उनले गठबन्धनले जित्नुपर्ने र जित्ने दावी गरे । ‘हामीले गठबन्धन बनाएपछि जसरी पनि जित्न पर्छ । माओवादीले ४०, कांग्रेसले ९० सिट जित्छौं,’ घिमिरेले भने ।

जित सुनिश्चितताका लागि अगुवा कार्यकर्ताको मुख्य भूमिका हुने भएकाले सोहीअनुसार लाग्न निर्देशन दिएर घिमिरे अर्को कार्यक्रममा पुग्ने तरखरमा लागे । त्यसपछिको उनको कार्यक्रम थियो घरदैलो । तेतरिया, कखरमारी, तेता चोक, खद्रा, सिसरिया हुँदै सिघनियासम्म पुग्ने कार्यक्रम थियो ।

उनी भर्‍याङ ओर्लदै गर्दा मोरङ क्षेत्र–३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको खबर लिएर फोन आयो । त्यही फोनले उनको घरदैलो कार्यक्रम स्थगित हुने भयो । घिमिरे अस्पताल जाने तयारीमा लागे । 

घरदैलो कार्यक्रमका लागि माइक, झन्डावाला गाडी, कार्यकर्ता र केही मोटरसाइकल तयारी हुँदै थिए ।

उनी त्यहाँबाट छुट्नुअघि हामीलो सोध्यौं, ‘संसदीय चुनावमा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तपाईंको चुनावी माहौल कस्तो बन्दै छ ?’

उनले पहिलो पटक संसदीय चुनावको प्रतिस्पर्धामा आए पनि गठबन्धनका कारण आफूलाई चुनाव जित्न सहज रहेको बताए । माओवादी र कांग्रेसलगायका मतदातालाई मिलाएर लैजानुपर्ने अवस्था भएकाले त्यसको व्यवस्थापनमा अलि बढी नै ध्यान  दिनुपर्ने अवस्था रहेको घिमिरेले बताए ।

‘अहिले म मतदाताको घरदैलोमै छु । पहिलो चरणमा सबै मतदाताको घरमा पुगेँ । अब दोस्रो चरणको घरदैलोमा लाग्ने तयारीमा छु’ घिमिरेले लोकान्तरसँगको कुराकानीमा भने, ‘अरु ५ दिन हामीले सभाहरू गरेर चुनावको गतिविधि गर्नेछौं ।’

राजनीतिक दलहरूले जनतामा नकारात्मक धारणा बन्ने गरी काम गरेकाले मतदाता असन्तुष्ट रहेको बताए । आफ्नो क्षेत्रका सिञ्चाई, तटबन्धन, सडक लगायतका समस्या उनलाई मतदाताले सुनाएका छन् । घिमिरेले पनि ती समस्या समाधान गनै आफ्नो सबै प्रयास लगाउने वचन दिएका छन् ।  

‘यहाँको अवस्था हेर्दा मध्यकालिन अवस्थाजस्तो लाग्यो । यहाँ यति धेरै समस्याहरू रहेछन् । त्यसलाई समाधान गर्ने आश्वासन दिएको छु ।’ उनले थपे ‘बाढी आउँदा बगाउने, हुरी आउँदा उडाउने खालका घरहरू रहेछन्, जिते पनि वा नजिते पनि ती समस्या समाधानमा मेरो भूमिा रहिरन्छ । 

उनले मतदातासँग जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने वचतबद्धता गरेका छन् । मतदाताले पनि आफ्नो उम्मेदवारीलाई सकरात्मकरूपमा लिएकाले उत्साह निरन्तर बढिरहेको उनी बताउँछन् ।  

तेतरियाकी स्थानीय मतदाता अलिसा सरदारले मल र बाढी त्यस क्षेत्रको मुख्य समस्या रहेको बताइन् । उनले घिमिरेसँग ती समस्या समाधानमा लाग्न आग्रह गरेकी छिन ।   

‘नागरिकता, बाढी, सडक हाम्रा मुख्य समस्या हुन् । त्यसलाई समाधान गर्ने भए मात्र भोट दिन्छौं भनेका छौं’, सरदारले भनिन्, ‘उहाँले वचन दिनुभएको छ, जितेपछि काम गर्नुहुन्छ भन्ने आशा पनि छ ।’

सोही क्षेत्रकी अर्की मतदाता सुशीला चौधरीले आफ्नो गाउँमा विद्यालयको समस्या रहेको बताइन् । उनका अनुसार हुने खानेले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर गुणस्तरीय शिक्षा दिएका छन् । तर, गरिबका छोराछोरी सरकारी विद्यालयको अवस्थामै रूमल्लिएका छन् ।

नजिकको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउने वातावरण बनाइदिन पनि चौधरीले उम्मेदवार घिमिरेसँग आग्रह गरेकी छन् । घिमिरेले पनि चुनाव चुनाव जितेको र नजितेको दुवै अवस्थामा त्यहाँको विद्यालयको स्तरोन्नतीमा सघाउने बताएका छन् ।  

अर्की मतादाता सोम्निमा माझीले भने खोलामा पुल हालिदिन उम्मेदवारहरुलाई आग्रह गरेकी छिन् । 

‘हाम्रो गाउँमा पुलको समस्या छ । बर्षामा याममा खेतीपाती गर्न जान पाइँदैन, त्यो बनाइदिन भनेकी छु,’ माझीले भनिन्, ‘नेताले त बनाइदिन्छौं भन्नुभएको छ तर जितेर गएपछि के गर्नुहुन्छ, हेर्न बाँकी छ ।’ 

भिडियाेमा हेर्नुहाेस् गुरूराज घिमिरेसँगकाे कुराकानी 
 

salt training

कमेन्ट गर्नुहोस्