२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

कपिलवस्तु- १ को चुनावी हिसाबकिताब– ‘बलदेव’ र बलरामको कडा टक्कर !

मंसिर १, २०७९
कपिलवस्तु- १ को चुनावी हिसाबकिताब– ‘बलदेव’ र बलरामको कडा टक्कर !

कपिलवस्तु–१ बाट यसअघि निर्वाचित माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ सोही क्षेत्रबाट निर्वाचित हुने ‘मिसन’सहित चुनावी मैदानमा उत्रिएका छन् । 

संसदीय राजनीतिका खेलाडी खनालका प्रतिस्पर्धी छन्, एमालेका जिल्ला इञ्चार्ज बलराम अधिकारी ।

यसअघि ‘बलदेव’का चुनावी ‘कमान्डर’ रहेका अधिकारी त्यतिबेला साथ दिएका उम्मेदवारलाई पराजित गरेर सांसद बन्ने ध्याउन्नमा छन् । 

एमालेको दह्रो बल हुँदा खनालले कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई यसअघि झिनो मतले पराजित गरेका थिए ।

अधिकारी पनि जिल्लामा परिचित नेता हुन् । अधिकारीले २०७० को संविधानसभा निर्वाचनमा उपाध्यायलाई पराजित गरेका थिए ।

कमजोर जनआधार रहेका ‘बलदेव’ले कांग्रेस पूर्ण साथ आफूलाई रहेमा पछाडि फर्केर हेर्न नपर्ने आफूनिकट नेताहरूसँग बताउने गरेका छन् ।

तर, निर्वाचन जितेर कृषिमन्त्री भए पनि जिल्लामा किसान लागि कुनै काम गर्न नसकेको भन्दै यो क्षेत्रका बासिन्दा खनालसँग रुष्ट छन्, जसको फाइदा अधिकारीले लिन सक्ने देखिन्छ ।

कांग्रेसका जिल्लाका एक कार्यकर्ताले भने, ‘यसअघि खनालले जिल्ला बनाउँछु भनेर चुनाव जितेर गए । मन्त्री बने तर, आफ्नो क्षेत्रमा समेत केही गर्न सकेनन् ।’ 

जिल्लास्तरीय ती नेताले थपे, ‘चुनाव जितेपछि जिल्लामा तीन वर्ष फर्किनुभएन । मन्त्री भएपछि १/२ पटक मात्र आउनुभयो । कृषिमन्त्री हुँदा किसानका बिउ, मलखाद र अनेक समस्याबारे कुनै सुनुवाइ नगर्ने नेतालाई गठबन्धनको बलमा चुनाव जित्छु भन्नु फलामको चिउरा चपाउनु बराबर छ ।’ 

यो क्षेत्रलाई सत्तारूढ गठबन्धनले चासोको रूपमा हेरेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा आफूले टिकट पाउने आशा उपाध्यायले गरेका थिए ।

तर, गठबन्धनको नाममा प्रभावशाली नेता उपाध्यायलाई ‘बन्धक’ बनाइएको भन्दै उनीपक्षीय नेताहरू खनालको विपक्षमा देखिएका छन् । टिकट नपाएपछि कांग्रेसबाट विद्रोह गरेर ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसको एउटा तप्काले भित्री रूपमा गुरुङलाई सहयोग गरिरहेको चर्चा छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटीका सह-संयोजक हुमनाथ पौडेलले गठबन्धनप्रति माहोल धेरै राम्रो रहेको दाबी गरे ।

‘ललितजीको पनि उम्मेदवारी निष्क्रिय बनाउने प्रयास जारी छ,’ पौडेल भन्छन्, ‘गर्नसक्ने क्षमता भएको नेतालाई जिताउनुपर्छ भन्ने यहाँका मतदाताको मनोविज्ञान छ । उहाँ (चक्रपाणि) मन्त्री हुँदा दक्षिण ‘बेल्ट’तर्फ धेरै कामहरू भएका छन् । गठबन्धन धेरै मतले जीत निकाल्नेमा हामी विश्वस्त छौं ।’

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ‘हाइ प्रोफाइल’ नेता हुन्, खनाल । माओवादी जनयुद्धमा माओवादी सेनाको डेपुटी कमान्डर रहेका खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । 

अर्घाखाँची जन्मथलो भएका खनालले कपिलवस्तुलाई आफ्नो राजनीतिक थलो बनाउँदै आएका छन् । अधिकांश समय काठमाडौंमा रहेर राजनीति गर्ने खनाललाई चुनावको बेलामा मात्र जिल्लामा आउने गरेको आरोप लाग्ने गरेको छ ।

यता एमालेका अधिकारी पुराना कार्यकर्तासँग सम्बन्ध जोगाइराख्ने नेतामा पर्छन् । अधिकारीलाई पनि जनताको बीचमा घुलमिल भए पनि विकासमा खासै योगदान नगरेको भनेर आरोप लाग्ने गरेको छ ।

गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए ।

३० वैशाख २०७९ मा सम्पन्न स्थानीय चुनावको दलगत मत हेर्दा यो क्षेत्रमा कांग्रेस २८ हजार २७१ मतसहित पहिलो बन्यो ।

त्यस्तै एमालेको २६ हजार ८२३, जनता समाजवादी पार्टी (जसपा)को १३ हजार ५१०, माओवादीको ९ हजार ९३८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ ।

यसरी विश्लेषण गर्दा सत्तारूढ गठबन्धनको ४४ हजार ७६५ हुन्छ भने, एमालेले गरेको तालमेलमा ४२ हजार ८१३ मत छ । 

एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विष्णु पन्थीले एजेण्डाविहीन गठबन्धनलाई पराजित गरेर एमाले–जसपाले चुनाव जित्ने दाबी गरे ।

‘गठबन्धन सरकारले संघीयताप्रति वितृष्णा ल्याउने काम गरेको छ  । विकास बजेट कटौती गर्दा योजना अलपत्र परेका छन् । अब एमालेको सरकार जनताले चाहेका छन्,’ पन्थीले भने । आर्थिक सुशासन र विकासका लागि एमालेको जीत अपरिहार्य रहेको पन्थीको भनाइ थियो । 

एमालेले प्रदेशसभातर्फ १ (१) मा विष्णु पन्थी र १ (२) मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ । गठबन्धनतर्फ कांग्रेसबाट १ (१) मा डोलकराम घिमिरे र १ (२) मा सहस्रराम यादव उम्मेदवार छन् । 

जसपाबाट मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका सहस्रराम यादव एकाएक पार्टी परिवर्तन गरी कांग्रेसबाट उम्मेदवार बनेका थिए । यसअघि यही क्षेत्रबाट निर्वाचित यादव लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री पनि हुन् । 

यादवको दक्षिणतर्फ प्रभाव रहेको बताइन्छ । जातीय हिसाबले यो क्षेत्रमा दक्षिणी एरिया मधेशी समुदायको बाहुल्य रहेको क्षेत्र हो । पछिल्लो समय राजनीतिक दलले पनि मधेशी नेतालाई नै उम्मेदवार बनाउने गरेका छन् । 

दलहरूमा सैद्धान्तिक विचलन आएसँगै कार्यकर्तामा पनि आफ्नो समुदायको मान्छे भन्न थालेको देखिन्छ, जसले गर्दा दलहरूले पनि दक्षिणी क्षेत्रमा तराई/मधेश समुदायकै उम्मेदवार बनाउने गरेका छन् । 

कपिलवस्तु– १ मा कूल मतदाता १ लाख ४१ हजार १३ छन् । कपिलवस्तु क्षेत्र नम्बर १ मा वाणगंगा नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकाका तथा कपिलवस्तु नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्