
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको धरातलीय यथार्थ बुझ्न र रिपोर्टिङका लागि सम्पादक विमल गौतम र मैले कार्तिक १८ गते काठमाडौंदेखि चितवन हुँदै सुदूरपश्चिम प्रदेशसम्मको यात्रा शुरू गरेका थियौं ।
चुनावी रिपोर्टिङमा हाम्रो यो चौथो संयुक्त यात्रा थियो । २०७४ सालको स्थानीय निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा यसै वर्षको शुरूमा भएको स्थानीय तह निर्वाचनमा पनि हामी झण्डै दुई हप्ता देशका दूरदराजमा पुगेर मतदाताको अभिमत बटुल्ने कोशिश गरेका थियौं ।
मंसिर ४ गते हुने आमनिर्वाचनका लागि रिपोर्टिङ गर्न लोकान्तर डट्कमको चारवटा टीम परिचालित भएका थिए । एउटा टीम प्रदेश १ मा, अर्को मधेश प्रदेशमा, एउटा बागमती प्रदेशको काठमाडौं उपत्यका र आसपासका जिल्लामा खटिएको थियो । हामी भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र भावी प्रधानमन्त्रीको रूपमा दाबी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा पुग्यौं ।
पाँच वर्षमा देशमा हुन लागेको महासंग्रामको विषयमा काठमाडौंमा बसेर गरिने कोठे विश्लेषण सतही र तथ्यपरक हुँदैनन् भनेरै लामो यात्रा तय गरिएको थियो ।
मतदाताको मनोविज्ञान बुझ्न फिल्डमै पुग्नुपर्छ भनेर हामीले डडेल्धुरासम्मको यात्रा गरेका थियौं । यसक्रममा हजारौं मतदातासँग कुरा भयो । राजनीतिसँगै समाजको बदलिँदो चित्रको बारेमा पनि एउटा तस्वीर तयार भयो ।
‘हर्स रेसिङ रिपोर्टिङ’ अर्थात् नेताको पछाडि दौडने भन्दा जनताको भावना बुझ्ने हाम्रो चाहना थियो । यसक्रममा हामीले हजारौं मतदातासँग अन्तरक्रिया गर्यौं । नेतालाई पच्छ्याएनौँ, तर भेटिएका नेताहरूसँग पनि कुरा भयो । राजनीतिक दलका नेताका भाषण आमजनताका लागि रुचिको विषय बन्न छाडिसकेको छ ।
चितवनका मतदातामा देखिएको विद्रोही चेत
रिपोर्टिङको औपचारिक शुरूआत हामीले चितवनबाट शुरू गरेका थियौं । ६ महिनाको अन्तरालमा चितवनका मतदातामा आएको अभूतपूर्व परिवर्तनले हामीलाई झस्काइदियो । गत स्थानीय तह निर्वाचनमा चितवन पुगेर भरतपुर महानगरको मेयरका दुवै प्रत्यासी उम्मेदवार र मतदातासँग कुरा गर्दा रेणु दाहालले जित्ने अनुमान लगाउन कठिन भएको थिएन ।
चितवन यसपटक दुई कारणले चर्चामा थियो । पहिलो प्रचण्डले चितवन छाडेका कारण, दोस्रो रवि लामिछाने चुनाव लड्न झरेका कारण । प्रचण्ड गोरखा सरेसँगै चितवनको चुनावी माहोल माथि सरेको एकथरी आकलन थियो । तर त्यहाँ अर्को माहोल तातिरहेको थियो ।
चितवन झर्नुपूर्व नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी र चितवन– २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको पक्षमा यस्तो माहोल होला भन्ने कुरा मैले अनुमान गरेको थिइनँ । काठमाडौं छाडेर रवि किन चितवन झरे भन्ने धेरैको प्रश्न थियो ।
कार्तिक १८ र १९ गते हामीले चितवन– २ का विभिन्न स्थानमा पुगेर मतदातासँग कुरा गरेका थियौं ।
हामीले कुरा गरेका बहुसंख्यकले यसपटक स्वाद फेर्न लागेको कुरा गरे । प्रस्ट भाषामा भन्नु पर्दा उनीहरू यसपटक रवि लामिछानेलाई भोट हाल्न तयार रहेको पाइयो । एउटा टेलिभिजन कार्यक्रम सञ्चालन गरेको भरमा दशकौं पुराना र गाउँ टोलसम्म संगठन भएका राजनीतिक दललाई पछि पारेर चार महिनाको राजनीतिक दलले चुनाव जित्ने कुरा कसरी सम्भव हुन्छ ?
स्थानीय मतदातासँग गरिएको कुराकानीमा नयाँ उम्मेदवारप्रतिको भरोसाभन्दा पनि पुरानाप्रतिको आक्रोश धेरै देखियो ।
‘हामी अरूभन्दा फरक हौं भन्दै आएका सबै दललाई परीक्षण गरियो, उनीहरूले काम गरेनन् । नेता मोटाए, भ्रष्टाचार बढ्यो । फेरि उनीहरूलाई किन दिने ?’ विकास क्षेत्रीले प्रश्न गरे ।
चितवनबाट हामी गोरखा पुग्यौ, जहाँ भावी प्रधानमन्त्रीका एक जना दाबेदार प्रचण्ड उम्मेदवार छन् ।
गोरखाको एउटा भेग छेवेटार र अर्को पालुङटार क्षेत्रका मतदातासँग कुरा गर्यौं । गोरखाका मतदाताको मन पनि बदलिएको छ ।
गठबन्धनको भोटका कारण प्रचण्ड गोरखामा सुरक्षित छन्, तर वैकल्पिक राजनीतिको लहरबाट गोरखा समेत मुक्त छैन ।
यतिसम्म कि गोरखामा अब ‘बाबुराम ब्रान्ड’ बिक्न छाडेको स्थानीय मतदाताको धारणा पाइयो ।
२०६४ सालमा कीर्तिमानी जीत हासिल गरेका बाबुराम चुनाव नलड्ने निर्णयमा पुग्नुमा गोरखाका जनताको बदलिएको मनोविज्ञान कारण भएको स्थानीयको दाबी थियो ।
चितवनदेखि गोरखा हुँदै तनहुँसम्म पुग्दा मतदाताले व्यक्त गरेको रायका आधारमा सम्पादक विमल गौतमले एउटा लेख लेख्नुभयो– शीर्ष नेताका लागि यो चुनाव अन्तिम चिट्ठा हुन सक्छ !
देशमा प्रजातन्त्र स्थापनादेखि गणतन्त्र ल्याउने आन्दोलनमा योगदान गरेका राजनीतिक दलहरूप्रति जनताले व्यक्त गरेको निराशाले राजनीतिक दल र मतदाताबीचको ग्याप बुझ्न सकिन्छ ।
अहिलेको सत्ता सञ्चालनको शैलीबाट मतदाता खुशी होइन, रुष्ट छन् ।
पोखरा र स्याङ्जाका मतदातामा देखिएको ‘चितवन भेरियन्ट’
कास्की पुगेपछि पोखराका मतदातासँग कुरा भयो । ‘नयाँ उम्मेदवार’को चितवन भेरियन्ट पोखरामा पनि सरेको देखियो । मूलधारका स्थापित राजनीतिक दलका नेताप्रतिको आक्रोश पोखरामा झन् बढी देखियो ।
पोखरामा ट्याक्सी चलाउने पोखरा ५ का सन्दीप ढुंगानाले यसपटक मतदाताको रुचिमा धेरै फेरबदल आएको सुनाए ।
‘यसपटक यी (पुराना) पार्टीलाई भोट नदिने सल्लाह छ । यसपटक युवाहरूको भोट फलानो पार्टीमा जान सक्छ,’ उनले कास्कीमा भइरहेको राजनीतिक चर्चा सुनाए ।

अर्का मतदातासँग कुरा भइरहेको समयमा विदेशबाट फर्केर पोखरामै ट्याक्सी चलाउने स्याङ्जा हरिनासका बालकृष्ण लम्साल मेरो पनि केही कुरा छ भन्दै आए ।
‘जनताले यसपटक विकल्प खोजेका छन्, देशका ठूला भनिएका दलले जनताको पीर मर्का बुझेनन् । यसपटक जनताले विद्रोह गर्न सक्छन्,’ लम्सालले निष्कर्ष सुनाए ।
गणतन्त्रले पनि जनतामा कुनै प्रतिफल दिन नसकेकोमा उनीहरूको व्यापक गुनासो थियो ।
पोखरा– १७ छोरेपाटनका कुलबहादुर कुँवरले थपे, ‘भारतमा साढे ३ लाख पर्ने ट्याक्सीलाई नेपालमा ३० लाख पर्छ । जनतालाई यति धेरै कर लिएर सांसद र मन्त्री पाल्नुपर्ने किन ? के गणतन्त्र नेताहरूका लागि मात्र हो ? यस्तो संघीयता केका लागि चाहियो ?’
समिता आचार्य र भगवती अधिकारीले यसपटक पोखराका जनतामा अचम्मको सोचाइ आएको बताए ।
‘यसअघि हामीले केही परिवर्तन होला भनेर भोट दिएका थियौं, दलहरूले विश्वासघात गरे । फेरि पनि उनीहरूलाई भोट दिने मूर्खता गर्ने ?’ आचार्यको प्रश्न थियो ।
चितवन र पोखरामा भइरहेको राजनीतिक परिवर्तनको झिल्को स्याङ्जासम्म फैलिएको थियो ।
‘हुन त म नेविसंघको राजनीति गरेकी व्यक्ति हुँ, तर यसपटक कांग्रेसलाई भोट दिन्नँ । नयाँ उम्मेदवारलाई भोट दिन्छु,’ वालिङमा फेन्सी पसल सञ्चालन गरेर बसेकी सीता लम्सालले भनिन् ।
वालिङकै राधा डुम्रेले पनि पुराना दलबाट जनताको भावनाअनुसार काम नभएको भन्दै नयाँ रोज्ने विचारमा रहेको बताइन् ।

‘म मात्र होइन, ६८ वर्षको मेरो ससुरा पनि यसपटक नयाँलाई रोज्ने तयारीमा हुनुहुन्छ, उनै पुराना दललाई भोट दिएर हाम्रो सन्ततिको भविष्य किन बिगार्ने ?’ राधाले प्रश्न गरिन् ।
स्थानीय विष्णु श्रेष्ठले अहिलेसम्म चुनाव जितेर गएका नेताले कुनै काम नगरेको भनेर आक्रोश पोखिन् । ‘काम नगर्नेलाई फेरि किन भोट दिने ?’ श्रेष्ठको आक्रोश थियो ।
डडेल्धुरामा सागर ढकाल, बाहिर धेरै चर्चा
देश विदेशदेखि सामाजिक सञ्जालमा सागर ढकाल चुनावमा चर्चाको विषय बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा पुगेका ढकालबारे धेरैले चासो व्यक्त गरिरहेका छन् ।
सामाजिक सञ्जालमा भएजस्तो चर्चा फिल्डमा देखिएन । रात्रिबस चढेर जुलाइ १२ मा डडेल्धुरा पुगेका ढकालले जिल्लाका बहुसंख्यक गाउँ डुले । जनताको घरमा गएर खाना खाए । तिहारमा टीका लगाएर नाता पनि गाँसे ।
तर पनि फिल्डमा उनले चुनाव जित्ने खालको माहोल बनाउन सकेका छैनन् । देउवाका अन्धभक्त समर्थक मतदाताले सागरको कुरा सुनिरहेका छन्, तर देउवालाई छाड्न सकेका छैनन् । अमरगढीमा भेटिएका महावीर टमाटाले ‘चुनाव जिते पनि, हारे पनि’ देउवालाई नै भोट हाल्ने बताए ।
स्थानीय मुन्दोदरी बोहाेराले आफूहरूका लागि देउवाले राम्रो गरिरहेको दाबी गरिन् । ‘हामीले अरू सोचेका छैनौं, देउवाबाहेक अन्यत्र भोट हाल्नेबारे हामी सोच्दैनौं,’ बोहोराले भनिन् ।
प्रधानमन्त्रीको जिल्ला जहाँका युवाहरू भारतलगायत तेस्रो मुलुकमा सस्तो श्रम बेच्न पुगेका छन् । त्यसैले त्यहाँ ‘फ्री भिसा र फ्री टिकट’को नारा बिकिरहेका छन् ।
झण्डै चार महिनाको बसाइमा ढकालले स्थानीय लबज बोल्न सिकेका छन् । शेरबहादुरलाई हजुरबुवा सम्बोधन गरेर अब उनलाई विश्राम दिन अनुनय विनय गरेका छन् । मतदातालाई हातमा ढोग्दिने गरेका छन् ।
रूपन्देही– २ मा उम्मेदवारी खारेज भएपछि डा. निकोलस भुसाल सागर जिताऔं अभियानमा लागेका छन् । सागरसँग सेल्फी खिच्ने युवा र विद्यार्थीको कमी छैन । तर पनि चुनावमा देउवालाई पछार्न जादु/चमत्कार गर्नुपर्ने देखिन्छ ।

सागरप्रति देशभरमा मतदाताको निकै उत्सुकता छ । बुटवलकी स्थानीय महिलाले सागरलाई प्रचारप्रसारमा रोक लगाएको बारे आक्रोश जनाइन् । ‘सरकारको पैसा खाएका पुलिसले त्यो बालकलाई कार्यक्रम गर्न दिएनछ । म त्यहाँ भएको भए, त्यो पुसिललाई मुक्का हान्थें,’ ज्ञानु केसीले भनिन् ।
सिन्धुली खनियाबासमा भेटिएका एक मतदाताले आफूलाई सबैभन्दा बढी सागरको चासो र चिन्ता लागेको बताए ।
कैलालीदेखि महोत्तरीका मतदाताको उस्तै भावना, एउटै स्वर
कोभिडको भाइरस जस्तै मतदातामा देशभर एउटै भाइरस फैलिएको छ, पुरानाले केही गरेनन्, नयाँलाई टेस्ट गर्ने । बालेन साह (काठमाडौंका मेयर), रवि लामिछाने र लौरोको कुरा गर्छन्, उनीहरू ।
कैलालीको गोदावरी नगरपालिकाकी शान्ता भण्डारीले यसपटक नयाँ उम्मेदवारलाई अवसर दिने चाहना रहेको बताइन् ।
‘यसपटक पार्टीभन्दा पनि व्यक्ति हेर्ने हो । लेखराजलाई जिताएर पनि यहाँ विकास भएन, अरूलाई जिताएर पनि केही भएन, यसपटक नयाँ उम्मेदवारलाई भाट दिने हो,’ भण्डारीले भनिन् ।

अत्तरिया बजारमा फलफूल पसल गर्दै आएकी पूजा भट्टराईले पनि पुरानालाई भोट नदिने बताइन् । ‘कता दिने भन्ने अलमलमा छु, तर पुरानालाई भोट नदिने,’ भट्टराईले भनिन् ।
दाङ, कपिलवस्तु र रूपन्देहीका मतदातामा पनि स्थापित दलहरूप्रतिको असन्तुष्टि व्यापक देखियो ।
बुटवलका सीता गुरुङ, रमा गौतम र उमा अर्याल पनि यसपटक नयाँ उम्मेदवार रोज्ने योजनामा रहेको बताए ।
पश्चिम नेपालका जिल्लामा मतदाताको भावना बुझेपछि हामीले फेरि चितवनका मतदातासँग छलफल गर्यौं ।
‘हुन त म कांग्रेसको क्रियाशील सदस्य हो । चुनावमा हिँड्नु पर्ने थियो, तर कांग्रेसलाई भोट दिन्नँ,’ नारायणगढ बजारमा फेन्सी पसल सञ्चालन गरेर बसिरहेका स्थानीय मतदाताले भने ।
फेसबूक, टिकटक र युट्युबबाट सञ्चार क्रान्ति
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मतदातामा आएको यो हदसम्मको चेतनाको कारणचाहिँ सामाजिक सञ्जाल हो ।
गाउँ–गाउँसम्म इन्टरनेटको विस्तार पनि यसको एउटा कारण हो । ‘फेसबूक र युट्युबमा आएका सामग्री हेरेर पनि यहाँका मतदाताले धारणा बनाएको पाइयो,’ बुटवलका प्रकाश आचार्यको विश्लेषण छ ।
सामाजिक सञ्जालले मतदातालाई एकप्रकारले जागरुक त बनाएको छ, तर युट्युबमा आएको नै सही हो भन्ने गलत धारणालाई पनि स्थापित गराएको छ । कुन सही, कुन गलत भन्ने छुट्ट्याउने क्षमता नभएका महिलाले केही अफवाहलाई समेत विश्वास गरेको पाइयो ।
‘कालापानी बेचेर खाए रे, अब एमसीसी ल्याएर फेरि के गर्न लागेका हुन् नेताहरूले ? बुटवल पनि बेच्न लागेका हुन् र बाबु ?’ मोबाइलमा भिडियो हेरेको आधारमा एक वृद्ध महिलाले प्रश्न गरिन् । यस्तो कुरा कसरी थाहा पाउनुभयो भनेर सोध्दा उनले मोबाइलमा भिडियो हेरेर थापा पाएको बताइन् ।

निरक्षर महिलाले पनि मोबाइलमा भिडियो हेरेको भरमा एउटा धारणा बनाइरहेका छन् । ‘बलात्कारको आरोप लागेका नेताले जेल बस्न नपर्ने ? पल शाह, सन्दीप लामिछाने र रवि लामिछानेलाई मात्र फसाउने ?’ दाङमा भेटिएकी सुभद्रा गौतमले प्रश्न गरिन् ।
काठमाडौंका मेयर बालेन र धरानका हर्क साम्पाङले गरिरहेका कामबारे अनलाइन सञ्चार माध्यम, फेसबूक र युट्युबाट हेरेर जानकारी लिएको बताए । मतदाता यति बाठा कि कुनै राजनीतिक दलले पैसा दिएमा खाइदिने र भोट भने आफूले चाहेको दल या उम्मेदवारलाई बताइरहेका थिए ।
दलका कार्यकर्तामा देखिएको अन्योल र निराशा
राजनीतिक रूपले देशको दिशानिर्देश गर्ने महासंग्राममा मुलुक होमिए पनि स्वयं प्रमुख राजनीतिक दलका कतिपय कार्यकर्ता भने चुनावमा खुलेर लागेका छैनन् ।
दलभित्रको दुईलाइन, उम्मेदवार छनोटमा भएको असन्तुष्टिलगायतका कारणले दलका कार्यकर्ता सक्रिय सहभागी नभएको पाइयो ।
‘जीवनभर एउटा पार्टीको दर्शन र सिद्धान्तमा हिँडेको व्यक्ति अरूको पार्टीको चुनाव चिह्नमा भोट माग्न कसरी हिँड्नु,’ चितवनको टाँडीमा भेटिएका माओवादीका एक कार्यकर्ताले भने ।
आम मतदाताले गरेका प्रश्नका कारण पनि दलका कार्यकर्ता नैतिक संकटमा परेका छन् ।

‘संविधान बनेपछि देशमा कायापटल हुन्छ भनेर भोट मागेको हो, त्यसो हुन सकेन । अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धन बनेपछि देशमा स्थिरता ल्याउँछौ भनेका थियौं,’ बाँकेमा भेटिएका अर्का माओवादी नेताले भने, ‘जनताकोमा मुख देखाउन लाज मान्नु पर्ने अवस्था छ ।’
जागरुक मतदाताले यसपटक नेता र कार्यकर्तासँग प्रश्न गरिरहेका छन्, ‘तपाईंलाई फेरि किन भोट हाल्ने ? विगतमा के गर्नुभयो ?’ यी प्रश्नको जवाफ तलका कार्यकर्तासँग छैन ।
मूलधारका स्थापित राजनीतिक दलप्रति मतदाताको आक्रोश पोखिँदा मंसिर ४ को चुनावी नतिजामा उलटफेरको सम्भावना हुनसक्छ । ‘नयाँ स्वाद’ चाख्ने बताएका मतदाताले सोहीअनुसार भोट हाले भने नयाँ सरकार गठनका लागि समीकरण फेरबदल गर्ने गरी नयाँ दल संसदमा आउन सक्छन् ।
मंसिर– ४ को निर्वाचनको नतिजाले प्रतिनिधिसभा त्रिशंकु बन्ने त निश्चित नै छ, मूलधारका राजनीतिक दलले राम्रै धक्का महसूस गर्ने छनक देखिएको छ ।
विभिन्न दल या स्वतन्त्र उम्मेदवारी दिएका नयाँ युवाले देशभर चुनावी समीकरणमा मतदातामा पलाएको विद्रोही चेत एक प्रकारको ‘चुपचाप क्रान्ति’को लक्षणको रूपमा देखिँदैछ ।
त्यो आक्रोश मतमा रूपान्तरण हुन्छ कि हुँदैन त्यो प्रमाणित भने मतपत्रका बाकस खोलेपछि थाहा हुनेछ ।
लोकान्तरले गरेका चुनावी रिपोर्टिङका समाचारहरू पढ्नयहाँ क्लिक गर्नुहोस् ।
लोकान्तरले देशभरमा गरेको चुनावी रिपोर्टिङमा प्रकाशित समाचार र विश्लेषण
पढ्नुहोस्, स्थानीय चुनावका बेला लेखिएको संस्मरण :