
चन्द्रमामा मानव पुनः अवतरण लक्ष्यसहित अघि बढिरहेको नासाले आर्टेमिस–३ मिसनका लागि परीक्षण उडान चालक दल घोषणा गरेको छ । यस ऐतिहासिक परीक्षणमा चार मुख्य अन्तरिक्ष यात्री र एक वैकल्पिक (ब्याकअप) सदस्य रहने छन् । उनीहरूले सन् २०२७ मा हुने जटिल कक्षीय परीक्षणहरूमा भाग लिनेछन् ।
नासाका अनुसार यो परीक्षण उडान सन् २०२८ मा चन्द्रमाको दक्षिणी ध्रुवतर्फ पठाइने पहिलो चालक दलयुक्त आर्टेमिस–४ मिसनका लागि पूर्वतयारीको महत्त्वपूर्ण चरण हुनेछ ।
घोषित चालक दलमा नासाका अन्तरिक्ष यात्री ¥यान्डी ब्रेसनिक (कमान्डर), युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) का लुका पार्मिटानो (पाइलट), नासाका आन्द्रे डगलस (मिसन विशेषज्ञ) र फ्रान्क रुबियो (मिसन विशेषज्ञ) रहनुभएको छ । वैकल्पिक चालक दल सदस्यका रूपमा नासाका बब हाइन्सलाई नाम दिइएको छ ।
नासाका अनुसार चालक दलले अब ओरियन अन्तरिक्ष यानका प्रणालीहरूको प्रशिक्षण सुरु गर्नेछ । साथै, उहाँहरूले ब्लू ओरिजिन र स्पेसएक्सद्वारा विकसित हुने चन्द्रमामा अवतरण गराउने ल्यान्डरहरूको परीक्षण तथा सञ्चालन प्रक्रियामा समेत सहयोग गर्नुहुनेछ ।
मिसन योजना अनुसार आर्टेमिस–३ मा नासाको स्पेस लन्च सिस्टम (एसएलएस) रकेटले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट ओरियन अन्तरिक्ष यान र चालक दललाई पृथ्वीको कक्षामा प्रक्षेपण गर्नेछ । त्यसपछि ओरियनले कक्षामा विभिन्न परीक्षणहरू पूरा गर्दै व्यावसायिक मानव अवतरण प्रणालीसँग भेटघाट र डकिङ अभ्यास गर्नेछ ।
यस क्रममा ब्लू ओरिजिन र स्पेसएक्सद्वारा विकसित ल्यान्डरका परीक्षण संस्करणहरूसँग अलग–अलग भेटघाट र डकिङ अभ्यास गरिनेछ । यसले बहु–प्रक्षेपण, अन्तरिक्ष यान समन्वय, प्रणाली एकीकरण, सफ्टवेयर, सञ्चार र इन्धन प्रणाली परीक्षणजस्ता जटिल प्रविधिको मूल्याङ्कन गर्नेछ ।
नासाका प्रशासक जेरेड आइज्याकम्यानले यो घोषणा मानवताको चन्द्रमातर्फको यात्रामा अर्को महत्त्वपूर्ण कदम भएको बताउनुभयो । उहाँका अनुसार आर्टेमिस क्ष्क्ष् मिसनको सफलताले विश्वव्यापी अन्तरिक्ष अन्वेषणप्रति पुनः उत्साह जगाएको र अब आर्टेमिस–२ टोलीले त्यो यात्रालाई अझ अगाडि बढाउनेछ ।
उहाँले अन्तर्राष्ट्रिय साझेदारीको भूमिकालाई जोड दिँदै इएसए र अन्य साझेदार संस्थासँगको सहकार्यले नयाँ ‘अन्तरिक्ष स्वर्ण युग’ सुरु गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।
युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्रीको आर्टेमिस मिसनमा पहिलो पटक औपचारिक समावेशलाई नासाले ऐतिहासिक कदमका रूपमा लिएको छ ।
नासाका अनुसार आर्टेमिस–३ मिसन सफल आर्टेमिस–२ उडानपछि अघि बढाइएको हो र यसले भविष्यमा मानवलाई चन्द्रमाबाट मङ्गल ग्रहसम्म पु¥याउने दीर्घकालीन योजनालाई आधार प्रदान गर्नेछ ।
मिसन अवधारणाअनुसार ब्लू ओरिजिनको ल्यान्डर पाथफाइन्डर पहिले कक्षामा प्रक्षेपण हुनेछ र केही हप्तासम्म कक्षामा रहँदै परीक्षणका लागि तयारी अवस्थामा रहनेछ । त्यसपछि ओरियन अन्तरिक्ष यानले चालक दलसहित कक्षामा प्रवेश गर्नेछ र उक्त ल्यान्डरसँग करिब दुई दिनसम्म डकिङ तथा प्रणाली परीक्षण गर्नेछ ।
त्यसपछि स्पेसएक्सको स्टारसिप ल्यान्डर पाथफाइन्डरसँग अर्को चरणको भेटघाट तथा परीक्षण सञ्चालन गरिनेछ । सबै परीक्षण पूरा भएपछि ओरियन पृथ्वी फर्किनेछ र प्रशान्त महासागरमा अवतरण गर्नेछ, जहाँ अमेरिकी नौसेना र नासाका टोलीले अन्तरिक्ष यात्रीलाई सुरक्षित रूपमा उद्धार गर्नेछन् ।
समग्रमा यो परीक्षण मिसन करिब दुई सातासम्म चल्ने अपेक्षा गरिएको छ । यद्यपि प्रक्षेपण, भेटघाट र डकिङ प्रक्रियाका आधारमा समय केही परिवर्तन हुन सक्ने नासाले जनाएको छ ।