२८ जेठ २०८३, बिहीबार

महादीपदान गर्नेसँग शुल्क लिइँदैन : पशुपति क्षेत्र विकास कोष

महादीपदान गर्नेसँग शुल्क लिइँदैन : पशुपति क्षेत्र विकास कोष
प्रतिकात्मक तस्वीर

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमवार बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
 
कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट १ हजार ५०५ को रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

सोमवार रातभर आफैं महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने कोषले जनाएको छ । दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन् । यस्तो समूहलाई कानूनबमोजिम कारबाही गरिने छ ।
 
पशुपति क्षेत्रमा सोमवार लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । मेलाको अघिल्लो दिन प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन परेकाले शनिवार नै धेरै तयारीका काम सम्पन्न भइसकेको छ । बाँकी तयारीका काम सोमवार बिहानैदेखि गर्न लागिएको हो ।

महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ ।
 
पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो । यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको छ । भक्तजनलाई चिसो नहोस् भनेर गत वर्षभन्दा बढी त्रिपालको व्यवस्था गरिएको हो । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गर्न भक्तजनका लागि विभिन्न स्थानमा अस्थायी धाराको व्यवस्था पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्