
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंमा नेपाली कांग्रेसले सुखद नतिजा निकालेको छ ।
प्रतिनिधि सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा कांग्रेसले ४ वटा क्षेत्रमा जित हासिल गरेको छ । भने मत गणना जारी रहेको १ क्षेत्रमा अग्रता कायम गरिरहेको छ ।
कांग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, ३, ४, र ५ मा विजयी भएको छ भने काठमाडौं १० मा अग्रता बनाइरहेको छ ।
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह राप्रपाका रविन्द्र मिश्रलाई पराजित गर्दै विजयी बनेका छन् । काठमाडौं ३ मा एमालेका कृष्णकुमार राईलाई पराजित गर्दै सन्तोष चालिसे विजयी भएका छन् । क्षेत्र नम्बर ४ मा एमालेका डा. राजन भट्टराईलाई पराजित गर्दै महामन्त्री गगन थापा फराकिलो मतान्तरसहित विजयी बनेका छन् ।
त्यस्तै, काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै प्रदीप पौडेल विजयी बनेका छन् । यद्यपि, निर्वाचन आयोगले उनी विजयी भएको घोषणा गरिसकेको छैन ।
काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसीले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार केसीले ९ हजार ६५० मत प्राप्त गर्दा एमालेका हिमेश केसीले ६६७१ मत प्राप्त गरेका छन् ।
काठमाडौं ९ मा एमाले कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गर्दै विजयी बनेका छन् ।
काठमाडौं २, ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् ।