२५ असार २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन २०७९

प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा एमालेलाई ठूलो धक्का

प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा एमालेलाई ठूलो धक्का

२०७४ मा कर्णालीमा प्रतिनिधि सभाका १२ मध्ये एमालेले ६ सिट जितेर पहिलो दल बनेको थियो । वाम गठबन्धनको सहायतामा एमालेले विगतको नतिजा सुधार गर्दै प्रतिनिधि सभामा आधा सिट सुनिश्चित गरेको थियो । तर, यसपटक प्रतिनिधि सभामा एमालेले हालसम्म खातासमेत खोल्न सकेको छैन । 

हुम्ला र मुगुबाहेक सबै क्षेत्रको नतिजा आइसकेको छ । हुम्लामा एमालेका दल रावल सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामाभन्दा निकै पछाडि छन् । रावललाई लामाले ३ हजार बढी मतले पछि पारेका छन् । मुगुमा पनि एमाले उम्मेदवार राजबहादुर कार्की गठबन्धनका साझा उम्मेदवार नेपाली कांगे्रसका ऐनबहादुर शाहीभन्दा २ हजार मतले पछि छन् । 

मतपरिणाम घोषणा भएका सुर्खेतका दुई, दैलेखका दुई, कालीकोट, जुम्ला, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पामा एमाले उम्मेदवार पराजित भएका छन् । एमालेले कर्णालीका १२ सिटमध्ये दैलेख–२ लाई सहजै जित्न सकिने क्षेत्रका रुपमा आकलन गरेको थियो । उक्त क्षेत्रमा एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल कांगे्रसका दिक्पाल शाहीसँग झिनो मतान्तरले पराजित भए । पोखरेल १५३ मतले पराजित हुन पुगे । 

२०७४ मा यस क्षेत्रबाट एमालेका राजबहादुर बुढा निर्वाचित भएका थिए । गठबन्धनमा दरार ल्याउन सके दैलेख–१ मा पनि जित्न सकिने एमाले नेताहरुको प्रक्षेपण थियो । तर, त्यहाँ एमालेका जिल्ला अध्यक्षसमेत रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा ८४९ मतान्तरले पराजित हुन पुगे । उनलाई पूर्व सहकर्मी नेकपा (एकिकृत समाजवादी) का अम्मरबहादुर थापाले पराजित गरे । 

सुर्खेतका दुवै क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । सुर्खेत–१ मा कांगे्रसका पूर्णबहादुर खड्कासँग एमालेका ध्रुवकुमार शाही ११ हजार बढी मतान्तरले पराजित भए । सुर्खेत–२ मा कांगे्रसकै हृदयराम थानीसँग एमालेका अमृतबहादुर बुढाक्षेत्री ५ हजार ६७ मतान्तरले पराजित भए । २०७४ मा यहाँका दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । २०७४ मा एमालेबाट सुर्खेत–१ मा ध्रुवकुमार शाही र सुर्खेत–२ मा नवराज रावत विजयी भएका थिए । 

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतसँग एमालेका निरज आचार्य, रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मासँग एमाले नन्दराम देवकोटा, सल्यानमा एकिकृत समाजवादीका प्रकाश ज्वालासँग एमालेका राजेन्द्रवीर राय पराजित भए । सल्यानमा त एमाले उम्मेदवार ज्वालाको निकट प्रतिष्पर्धामा आउन सकेनन् । उनी तेस्रो भए । 

कालीकोटमा माओवादी केन्द्रका नेता पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग एमालेका नगिन्द्र शाही ८ हजार ६४ मतान्तरले पराजित भए । जुम्लामा एमालेका उम्मेदवार रतननाथ योगी विजयी उम्मेदवार राप्रपाका ज्ञानेन्द्र शाहीसँग निकट प्रतिष्पर्धामा पनि आउन सकेनन् । योगीले तेस्रो मत ल्याए । 

डोल्पामा एकिकृत समाजवादीका धनबहादुर बुढासँग ५ हजार ७२७ मतान्तरले एमालेका गणेशबहादुर शाही पराजित भए । बुढा २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । 

एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल चौतर्फी घेराबन्दीको एक्लै सामना गर्नु नै एमालेका लागि ठूलो कुरा भएको बताउँछन् । ‘कर्णालीको सन्दर्भमा पाँच दल एकातिर अनि हामी एक्लै थियौँ, केही स्थानमा झिनो मतान्तरले हामी पराजित हुन पुग्यौँ’, उनी भन्छन्, ‘समीक्षाको विषय त होला, पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु नै हाम्रो लागि ठूलो चुनौती थियो ।’

एमालेविरुद्धको मोर्चाबन्दीले सिट गुमेपनि जनताको भरोसा भने कायमै रहेको कँडेल बताउँछन् । प्रदेश सभामा मुगु र हुम्लाका दुई सिटको नतिजा आउन बाँकी रहँदा एमालेले चार सिट जितेको छ । प्रदेश इञ्चार्ज कँडेल सुर्खेत २(१) र प्रदेश अध्यक्ष शाह दैलेख २(२) बाट झिनो मत अन्तरले प्रदेश सभामा विजयी हुन पुगे । कँडेल २०७४ मा पनि प्रदेश सभामा निर्वाचित भएका थिए । 

२०७४ मा प्रत्यक्ष र समानुपातिक गरी प्रदेश सभामा २० सिटसहित एमाले ठूलो दल बनेको थियो । यसपटक प्रदेश सभामा तेस्रो दल बन्ने निश्चित भएको छ । गठबन्धनका कारण स्थानीय तहमा पनि एमाले खुम्चिएको छ । २०७४ मा कर्णालीका ६९ स्थानीय तहमध्ये २७ वटा जितेर पहिलो भएको एमाले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १५ तहमा खुम्चिन पुग्यो । 

गठबन्धनको लाभ कांग्रेसलाई बढी

कर्णालीमा सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी मुख्य छन् । गठबन्धन गर्दा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा यी तीनवटै पार्टीले सफलता हात पारे । एकिकृत समाजवादीले गठबन्धनको बलमा आफ्नो भागमा परेका प्रतिनिधि सभाका तीनवटै सिटमा जीत निकाल्न सफल भयो । सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढाले निकै फराकिलो अन्तरमा जिते ।

दैलेख १ मा पनि अम्मरबहादुर थापाले आफ्नै पूर्व सहकर्मी रविन्द्रराज शर्मालाई ८०० बढी मतान्तरले पछि पारे । २०७४ मा प्रतिनिधि सभामा शून्य भएको कांग्रेसले यसपटक तीन सिट जितिसकेको छ । सुर्खेत १, २ र दैलेखका २ मा कांगे्रस उम्मेदवार निर्वाचित भइसकेका छन् । मतगणना भइरहेको मुगुमा कांगे्रस उम्मेदवार ऐनबहादुर शाही अगाडि छन् । 

गठबन्धनको अर्को मुख्य दल माओवादी केन्द्रले प्रतिनिधि सभामा आफूले पाएको सिटमध्ये जुम्लामात्र गुमाउन पुग्यो । त्यहाँ गोमा गौतम कुँवरलाई राप्रपाका ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित पछि पारे । रुकुम पश्चिम, जाजरकोट, कालीकोटमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् । 

हुम्लामा मतगणना जारी छ । त्यहाँ माओवादी केन्द्रका छिरिङ डम्डुल लामाले लगातार अग्रता लिइरहेका छन् ।  

२०७४ मा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ ५ सिट अर्थात जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्लामा जित हासिल गरेको थियो । हुम्लामा स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुर लामा निर्वाचित भएपछि माओवादी केन्द्र प्रवेश गरेका थिए । गठबन्धन बनाएर निर्वाचनमा जाँदा धेरै राम्रो सफलता मिलेको कांगे्रस नेताहरूको निष्कर्ष छ । तर, प्रदेश सभापति ललितजंग शाही जुम्ला १ बाट प्रदेश सभामा आफ्नै पार्टीका बागीले पराजित भएपछि केही निराशा छाएको छ । 

प्रतिनिधि सभामा पुरानै अनुहार हाबी

सत्तारुढ गठबन्धन दलबाट प्रतिनिधि सभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख २ का दिक्पाल शाहीमात्र नयाँ अनुहार हुन् । सुर्खेत १ मा पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी, दैलेख १ बाट अम्मरबहादुर थापा, जाजरकोटमा शक्ति बस्नेत, रुकुम पश्चिममा जनार्दन शर्मा, सल्यानमा प्रकाश ज्वाला, कालीकोटमा महेन्द्रबहादुर शाही, डोल्पामा धनबहादुर बुढा पटक–पटक निर्वाचन जित्दै आएका नेता हुन् । 

कुन पार्टीबाट को ?
कांग्रेस 

सुर्खेत १ : पुर्णबहादुर खड्का
सुर्खेत २ : हृदयराम थानी 
दैलेख २ : दिक्पालकुमार शाही 

माओवादी केन्द्र
रुकुम पश्चिम : जनार्दन शर्मा 
जाजरकोट : शक्तिबहादुर बस्नेत 
कालीकोट : महेन्द्रबहादुर शाही

एकिकृत समाजवादी 
सल्यान : प्रकाश ज्वाला 
दैलेख : अम्मरबहादुर थापा 
डोल्पा :  धनबहादुर बुढा 

राप्रपा
जुम्ला : ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) 

गणना जारी :हुम्ला र मुगु

salt training

कमेन्ट गर्नुहोस्