३० जेठ २०८३, शनिबार

कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने शाहीको राजनीतिक यात्रा

कालीकोटबाट ‘ह्याट्रिक’ गर्ने शाहीको राजनीतिक यात्रा

विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जीत निकाल्दै संघीय सांसदमा चुनिएको छन् ।

नेकपा(माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गरेका छन् । उनले २०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भई कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाए । यसपटक यही मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनले वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार भई फराकिलो जीत हासिल गरे । 

पूर्वऊर्जामन्त्रीसमेत रहेका शाही तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धको शुरुआती कालदेखि नेता हुन् । तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत रहेका नेता शाही कालीकोटमा मात्रै नभई समग्र कर्णाली प्रदेशमै स्थापित नेता हुन् । 

विसं २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा उनले  नेकपा (एमाले)का कुर्मराज शाहीलाई पराजित गरेका थिए । विसं २०७४ मा भएको निर्वाचनमा उनले प्रदेश सभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई दुई हजार आठ सय मतले पराजित गरे । 

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेता शाहीले कूल २४ हजार चार सय ३७ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेशनलले १६ हजार दुई सय ३० मत प्राप्त गरे ।

कर्णाली प्रदेशको पनि पछाडि परेको कालीकोटमा लगातार उनको विजयले मुलुकको राष्ट्रिय राजनीतिमा कर्णालीको सबल नेताका रुपमा शाहीलाई स्थापित गरिदिएको छ । त्यसो त कालीकोटबाट लगातार जीत निकाल्ने सीमित नेतामध्ये शाहीको नामसमेत अंकित भएको छ ।

जानकारहरूका अनुसार यसअघि पञ्चायतकालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीनपटक सांसद भएका थिए । विसं २०४६ को आन्दोलनपछि स्थापना भएको बहुदलीय प्रजातन्त्रसमेतमा कुनै पनि नेताले लगातार विजयी हुने अवसर पाएका थिएनन् ।

कालीकोटको इतिहासमा २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेमबहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलोपटक भएको संविधान सभाको निर्वाचनमा माओवादीका खड्गबहादुर विश्वकर्माले जीतको नाम लेखाएका थिए । 

माओवादीका पोलिटब्यूरो सदस्य शाही कालिकोटको पचालझरना गाउँपालिका नौ साविकको नानीकोट गाविस–८ मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौंडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिएका हुन् । उनले २०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र)को सदस्यता लिए ।  माओवादी जनयुद्धमा उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गरेका थिए । 

नेता शाहीले सेना समायोजनको क्रममा राजनीतितर्फ लाग्ने निर्णय गरे । संविधान सभा सदस्यका रूपमा उनले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने मध्येका एक हुुन् । संविधान सभा सदस्य एवं ऊर्जामन्त्री र कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री शाहीले पछाडि परेको कालीकोटलाई विकास र समृद्धिको यात्रा अगाडि बढाउनुपर्ने चुनौती छ । रासस

salt training

कमेन्ट गर्नुहोस्