
बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६४२ मतान्तरले पराजित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहरा रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बोहराले ३६ हजार ६४८ मत ल्याएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत मात्र ल्याउन सके ।
निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी छ । रूपन्देही सदरमुकाम सिद्धार्थनगर (भैरहवा)सँग जोडिएको क्षेत्र नम्बर ३ दीपक बोहराको गृहनगर हो । २०४८ सालदेखि संसदीय राजनीतिमा जित्दै आएका खाणकाे यात्रामा पहिलो पटक राप्रपा नेताले ‘ब्रेक’ लगाइदिएका हुन् ।
खाणलाई सत्तारुढ गठबन्धनको साथ थियो भने, बोहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को साथ रहेको थियो । पञ्चायतकालदेखि रूपन्देहीमा चुनाव लड्दै आएका बोहोरा र खाणको यो पहिलो चुनावी भेट थियो ।
रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् । बोहरा पोष्ट कोभिडले चुनावी अवधिभर आवाजविहीन थिए । निर्वाचन प्रचारका क्रममा उनले कतै पनि भाषण गर्न सकेनन् । घरदैलो होस् वा चुनावी सभा, उनी पुग्थे, तर बोल्दैनथिए । बाध्यकारी अवस्थामा बोलेको पनि सहयोगीबाहेक अरुले बुझदैनथे । चुनावी सभामा उनले लेखेको भाषणअरूले नै पढिदिएका थिए । आवाजविहीन उम्मेदवार बोहोराको चुनावी कमाण्ड सम्हालेका छन्, पूर्वगृहमन्त्री निरञ्जन थापाले । उनी अहिले ‘स्पिच थेरापी’ गरिरहेका छन् ।
दुई महिनादेखि बोहोरा ‘भ्वाइस रेस्ट’ मा थिए । ‘पोस्ट कोभिड’ समस्याले उनले चर्को बोल्न नहुने भएको हो । उनको चुनाव हाँकिरहेका पूर्वगृहमन्त्री थापाले पूरै चुनावी अभियान हाँके । बोहोरानिवास सिद्धार्थनगर भैरहवामा राप्रपा जिल्ला अध्यक्ष प्रतापशमशेर राणा र नातिनी स्वाती थापाले सहजीकरण गरेका थिए ।
बोहोरा यसक्षेत्रका विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउछन् । बुटवल–तानसेन सडक र भालुवाङ– प्युठान सडकको ट्रयाक खोलेर पञ्चायत कालमा समाज सुधारक बडाहाकिमका रूपमा परिचित प्रतिमान चन्द बोहोरा र नीमा बोहोरोका माइलो छोराको रूपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहोरा रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेतताका रूपमा स्थापित छन् ।
व्यवस्थित बस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत्, सिँचाइदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहोराले सिसिलाबद्ध काम गरेका छन् । भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को शुरुआत गर्दै तराईका अन्न भण्डारमा सिँचाइको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहोरालाई लिइन्छ । उनी जे जति राजनीतिमा आवद्ध भए यसअवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरे ।