२५ जेठ २०८३, सोमबार
सन्दर्भ : चुनावी नतिजा

चुनावी हारपछि उपेन्द्रसँग अन्तर्वार्ता : कहाँ बिग्रियो हिसाब, अबको सहकार्य कोसँग ?

'जनताले क्रान्तिकारी उपेन्द्र यादव चाहे, एजेन्डा मिल्नेसँग सहकार्य हुन्छ'
मंसिर १०, २०७९
चुनावी हारपछि उपेन्द्रसँग अन्तर्वार्ता : कहाँ बिग्रियो हिसाब, अबको सहकार्य कोसँग ?

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अब मधेशको मुद्दा तथा शोषित/पीडितको मुक्तिका लागि संघर्ष गर्ने बताएका छन्  ।

१५ वर्षअघिको 'क्रान्तिकारी' उपेन्द्र यादवलाई फेरि पनि जनताले सोही भूमिकामा देख्न चाहेको उनको प्रतिक्रिया छ  ।

२०७४ सालको चुनावमा सप्तरी- २ बाट चुनाव जित्न सफल भए पनि यसपटकको चुनावमा उनी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँग फराकिलो मतान्तरले पराजित भए  ।

उपेन्द्रको पराजयसँगै जसपाको शक्ति पनि क्षयीकरण भएको छ  । लामो समय सत्ता गठबन्धनमा रहे पनि अन्तिम समयमा नेकपा एमालेसँग तालमेल गरी चुनावमा होमिएका उपेन्द्रलाई उक्त सहकार्य फापेन ।

तालमेलले जसपालाई घाटा भए पनि एमालेले भरपूर लाभ लिएको छ  ।

चुनावी नतिजा अन्तिम चरणमा रहेका बेला उपेन्द्रसँग लोकान्तरका लागि अजयअनुरागीले कुराकानी गरेका छन्  ।

प्रस्तुत छ, चुनावी समीक्षा, भावी सत्ता समीकरणलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

विभिन्न ६ क्षेत्रबाट सिफारिशमा परे पनि सुरक्षित ठानेर रोजेको क्षेत्रबाट पराजित हुनुभयो  । यस्तो नतिजा कसरी आयो ?

– मसँग पैसा थिएन, जनताले भोट दिएनन् । हारको मुख्य कारण नै यही हो । जनताले मलाई भोट दिएनन्, म हारें । त्यसमा कुन ठूलो कुरा भयो । मसँग चुनावमा खर्च गर्नका लागि पैसा नै थिएन । जनताले कम भोट दिए । त्यसकारण हारें । अरूलाई मैले किन दोष दिने ?

चुनावी नतिजापछि तपाईंले बाह्य चलखेलको प्रसंग पनि उठाउनुभएको थियो । के संकेत गर्न खोज्नुभएको हो? अलि प्रस्ट्याइदिनुहोस् न ।

– त्यो त तपाईं पत्रकारहरूले पनि खोज्ने विषय हो नि ! बाहिर त्यो कुराको व्यापक चर्चा छ । अब पत्रकारहरूले पनि त्यसको खोज समाचार गर्नुपर्‍यो । मैले अहिले केही बोलें भने पनि मान्छेले हार्‍यो र बहाना बनायो भन्लान् ।

तपाईं आफैं पनि राष्ट्रिय नेता हो । तपाईंले यसै त बोल्नुभएन होला, केही तथ्य वा सूचना त होला नि !

– त्यसैले त मैले संकेत गरेको हो । अब तपाईंहरूले त्यसको खोजी गर्नुहोस् । सत्य तथ्य के हो, त्यो बाहिर ल्याउनुहोस्  । तपाईं आफैं पनि खोज पत्रकार हो, खोजी गर्नुहोस् ।

तपाईं आफैं संसदीय दलको नेता हुँदा पनि पार्टी पटक-पटक विभाजित भयो । अब त तपाईं संसदमा हुनुहुन्न, जसपालाई थप संकट पर्ने सोच्नुभएको छैन ?

– हिन्दीमा एउटा क्रान्तिकारी गीत छ– 'शर कटाते भी चलो, आगे बढ्ते भी चलो । शर भी बहुत हैं, बाजुवें भी बहुत हैं । और मञ्जिले भी करीब है ।' हामी त्यही 'फर्मुला'मा काम गर्छौं । त्यसैले आगामी दिनमा जे पनि संकट आउँछ, त्यसको सामना गर्दै अघि बढ्दै जानेछौं ।

विगतमा जति पनि पार्टी फुटाए, तोडे, बर्बाद गरे, तहसनहस गरे, तैपनि हामीहरू बिचलित भएनौं । जे लक्ष्य थियो मधेश प्रदेश बनाउने, आखिर हामीले बनाएरै छाडयौं । हाम्रो पार्टीलाई पटक–पटक फुटाउनुका पछाडि त्यही लक्ष्य प्राप्ति नहोस् भन्ने उद्देश्य नै त थियो नि ! तर हामीले मधेश प्रदेश बनाइछाड्यौं ।

यो चुनावबाट केही नयाँ फोर्स जन्मिए, केही पुरानाले कमब्याक गरे, उनीहरूले संघीयता काम छैन भनिरहेका छन् । संघीयतामाथि संकट बढेका बेला तपाईं आफैं संसदबाहिर हुनुहुने भयो नि !

– नेपालमा भएको अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास त सधैँ भइरहेको छ । त्यो हमेसा हुँदै आएको पनि हो ।

आगामी दिनमा झन् थप सक्रियतापूर्वक त्यो प्रयास हुनसक्छ । त्यसका लागि सबैजना सचेत हुनु जरुरी छ ।

त्यसका लागि तपाईंको भूमिका के हुन्छ ?

– हामी जहाँ भए पनि संघीयताका लागि लोकतन्त्रका लागि, गणतन्त्रका लागि, समावेशिताका लागि, शोषितपीडित जनताको मुक्तिका लागि हमेसा संघर्ष गर्नेछौं । चाहे सडकमा रहौं वा सदनमा, चाहे सरकारमा रहौं वा बाहिर, संघर्ष जारी नै रहन्छ । हामीले आउने दिनमा जे गर्नेछौं, त्यो सबै त्यही लक्ष्य प्राप्तिका लागि गर्नेछौं । अन्य कुरा गौण हुन्  ।

जसपासँग तालमेल हुँदा मधेशमा एमालेले भरपूर लाभ उठायो । तर, जसपालाई धेरै ठूलो क्षति भएको छ । एमालेसँगको तालमेल नाफापेकै हो ?

– एमाले र जसपाबीच गठबन्धन बनेको थिएन, मात्र केही सीटहरूमा चुनावी तालमेल भएको थियो । यो निर्वाचनमा जनताले आफ्नो म्यान्डेट दिएका छन् ।

जनताको म्यान्डेटलाई अस्वीकार गर्न सकिन्न, त्यसलाई हामीले सम्मान नै गर्छौं । अब एमालेसँग तालमेल गर्दा हामीले केही सीट एमालेलाई छाडेका थियौं, केही सीट एमालेले हामीलाई छोडेको थियो । त्यसमा एमालेले गडबड गर्‍यो भन्नुको कुनै अर्थ छैन । त्यसले कुनै मायने राख्दैन ।

एमालेसँग गठबन्धन नै थिएन भन्नुभयो, संसदमा अबको सहकार्य कोसँग गर्ने हो ?

–  हामी मिसन लिएर हिँडेका छौं । चुनाव हाम्रा लागि सामान्य कुरा हो । हामी शोषितपीडित जनता, मधेशी, आदिवासी जनजातिको मुक्तिका लागि जे लडाईं लडिरहेका छौं, त्यो लडाईंमा त निर्वाचन एक सामान्य प्रक्रिया मात्र हो । अब त्यो लडाईं निरन्तर अघि बढ्छ । त्यो लडाईंमा सहयोगी को हुने हो र विरोधी को हुने हो, त्यसपछि तय हुन्छ ।

हामी सरकारमा रहे वा नरहे, संसदमा रहे वा नरहे, सडकमा रहे वा नरहे हमेसा मिसन प्राप्तिका लागि काम गर्दै आएका छौं । हाम्रो लागि मिसन नै सबैभन्दा बढी महत्त्वपूर्ण कुरा हो । त्यो मिसनमा को नजिक हुने, को टाढा हुने, त्यसैबाट नाप्नेछौं । आगामी दिनमा जोसँग सहकार्य भए पनि मिसन प्राप्तिकै लागि सहकार्य हुने हो । हाम्रो मिसनमा जसले सहयोग गर्छ, त्योसँग मात्र सहकार्य हुनसक्छ ।

सबैखाले विकल्पमा तयार छौं भन्न खोज्नुभएको हो ?

– त्यस विषयमा अहिले नै भन्नु हतारो हुन्छ । पहिले निर्वाचनको परिणाम आओस्, त्यसपछि कसको आवश्यकता कसलाई पर्ने हो भन्ने कुरा आउँछ  । हुन सक्छ, हाम्रो आवश्यकता नै कसैलाई नपर्न सक्छ । कसैका लागि हामी उपयोगी नै नहुन पनि सक्छौं । त्यसैले त्यो सबै पछिको कुरा हो ।

तर, हाम्रो सोच हमेसा रचनात्मक नै हुन्छ । चुनावको परिणाम आइसकेपछि त्यस विषयमा कुरा हुन्छ । सम्पूर्ण चुनावको परिणाम आओस्, त्यसपछि अन्य कुरा सोच्न सकिन्छ ।

१५ वर्षदेखिको त्यो रापताप र आजको पराजय, आफैंले फर्केर कसरी समीक्षा गर्नुहुन्छ ?

– हुनसक्छ, जनताले उपेन्द्रलाई त्यही क्रान्तिकारी स्वरूपमा देख्न चाहे । 'रिभोलुसनरी' उपेन्द्र यादवलाई नै जनताले मन पराए । उपेन्द्रलाई सडकमा राख्दा नै जनता, मधेश र देशको हित हुन्छ, परिवर्तन आउँछ भन्ने सोचेको हुनुपर्छ । उपेन्द्र यादवलाई संसदमा पठाउँदा त्यति चेञ्ज आउँदैन भन्ने सोचेको हुनुपर्छ ।

मोरङ, सुनसरी हुँदै सप्तरी आउनुभएको छ । गत चुनावमा सप्तरी- २ बाट चुनाव जित्नुभएको थियो, योपटक हार्नुभयो । अब आगामी चुनावमा सप्तरी- २ छाड्नुहुन्छ ?

– अब सप्तरी- २ छाड्ने कुरा हुँदैन । यो नै मेरो जन्मस्थान हो । राजनीतिक क्षेत्र पनि यही नै हो  । अबको पाँच वर्ष बढीजसो सप्तरी- २ मै केन्द्रित भएर सबै संघर्षको तयारी गर्छु ।

salt training

कमेन्ट गर्नुहोस्