
मंसिर ४ मा भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्त्यतिर पुगेको छ । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमध्ये दिउँसो ४ बजेसम्म १५० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । त्यसमध्ये, ५० सीट जितेर कांग्रेस पहिलो स्थानमा छ भने एमालेले ३८ सिटमा जीत हासिल गरेको छ । कांग्रेसले ६ र एमाले ४ स्थानमा अग्रता कायम गरिरहेको छ ।
माओवादी केन्द्रले १६ सीटमा जीत निकालेर २ स्थानमा अग्रता कायम राखेको छ । एकीकृत समाजवादीले १० सीटमा जितेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सीटमा र अन्य दलहरूले २६ सीटमा जीत निकालेका छन् ।
निर्वाचन अघि पहिलो दल बन्ने दाबी गरेको एमाले कांग्रेसभन्दा १२ सीट कम जितेर दोस्रो स्थानमा छ । जिल्लागतरूपमा हेर्दा २९ जिल्लामा एमाले क्लिन–स्वीप भएको छ । अर्थात, ती जिल्लाहरूमा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि जीत निकाल्न सकेको छैन ।
देश र प्रदेशको राजधानीसमेत रहेको बागमती प्रदेशमा एमालेलाई तुलनात्मकरूपमा बलियो पार्टी मानिन्थ्यो । तर, यस पटकको निर्वाचनमा एमाले बागमती प्रदेशका ५ वटा जिल्लामा क्लिन–स्वीप भएको छ ।
काठमाडौं जिल्लामा प्रतिनिधि सभाका १० वटा निर्वाचन क्षेत्रमध्ये एमालेले एउटामा मात्रै जीत निकाल्न सकेको छ । तुलनात्मकरूपमा बलियो मानिने काठमाडौं–२, ३, ५, ७ र ८ यसपटक एमालेले गुमाएको छ । काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठले चुनाव जितेका छन् ।
सधै सबै सीटमा जित्ने धादिङमा यस पटक एमाले क्लीन–स्वीप भएको छ । एमालेबाट चुनाव जित्दै आएका राजेन्द्र पाण्डे एकीकृत समाजवादीमा छन् । उनले धादिङ–१ बाट यसपटक पनि चुनाव जितेका छन् ।
बागमती प्रदेशमध्ये एमालेको सबैभन्दा धेरै संगठित सदस्य रहेको जिल्ला सिन्धुपाल्चोकबाट पनि यस पटकको चुनावमा एउटै जीत निकाल्न सकेन । प्रदेश र प्रतिनिधि सभा दुवैतर्फ सिन्धुपाल्चोकमा एमाले क्लीन–स्वीप भयो ।
त्यसैगरी, बागमती प्रदेशका नुवाकोट, रसुवा र सिन्धुलीमा एमाले शून्य सीटमा सीमित भयो । दोलखामा भने कांग्रेसले बुथ कब्जा गरेको विषयलाई लिएर विवाद भएपछि मतगणना हुन सकेको छैन ।
गण्डकी प्रदेश पनि एमालेले आफूलाई बलियो दाबी गर्नेमध्येको प्रदेश हो । २०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा गण्डकीमा उत्कृष्ट नतिजा ल्याएको थियो । एमालेले एक्लै चुनाव प्रतिस्पर्धा गर्दा पनि राम्रो नतिजा ल्याउन सक्ने प्रदेशकोरूपमा नेताहरूले गण्डकी प्रदेशलाई लिन्छन् ।
तर, अहिले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ५ वटा जिल्लामा एमाले क्लिन–स्वीप भएको छ । मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र गोरखामा एमाले शून्य सीटमा सीमित भएको हो । ती जिल्लाबाट प्रदेश र प्रतिनिधि सभामा एमालेले एउटा सीट पनि जित्न सकेन ।
लुम्बिनी प्रदेश एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले चुनाव लड्ने निर्वाचन क्षेत्र भएको प्रदेश हो ।
शंकर पोखरेल दाङ–२ बाट उम्मेदवार भएका थिए । तर, महासचिव पोखरेलकै जिल्लामा एमाले क्लिन–स्वीप भयो ।
त्यसैगरी, लुम्बिनी प्रदेशका रोल्पा, रूकुमपूर्व, नवलपरासी पश्चिम, बाँके र बर्दियामा एमाले क्लिन–स्वीप भयो ।
सबैभन्दा कमजोर कर्णाली
यस पटकको चुनावमा एमाले सबैभन्दा कमजोर कर्णाली प्रदेशमा भयो । प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशमै एमाले क्लिन–स्वीप भएको छ । कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट एमालेले प्रतिनिधि सभातर्फ जीत निकाल्न सकेन ।
सल्यान, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला र रूकुमपश्चिमलगायतका जिल्लामा एमालेले प्रदेश सभामा पनि जीत निकाल्न सकेन ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशका जिल्लामा पनि एमाले कमजोर देखियो । पहिलो र भव्य चुनावी सभा गरेको दार्चुलामै एमाले क्लिन–स्वीप भयो । सधै एमालेले जित्ने अछाम जिल्लामा प्रदेश र प्रतिनिधि सभा दुवैतर्फ शून्य रह्यो ।
अछामबाट एमाले नेता भीम रावलले चुनाव लड्दै आएका थिए । यसपटक एमाले अध्यक्ष ओलीले रावललाई संसदीय चुनावको टिकट दिन इन्कार गरे । त्यसैको प्रभाव कर्णाली र सुदूरपश्चिमका जिल्लामा परेको कतिपय एमाले नेताहरूको विश्लेषण छ ।
त्यसबाहेक, सुदूरपश्चिका कैलाली, डडेलधुरा, बझाङमा एमालेका क्लिन–स्वीप भएको छ । बाजुरामा भने चुनावका दिन झडप भएर २ जनाको ज्यान गएपछि मतदान स्थगित भएको छ ।
तुलनात्मकरूपमा एमाले प्रदेश–१ मा बलियो रह्यो । प्रदेश–१ का ओखलढुङ्गा र भोजपुरमा मात्रै एमाले क्लिन–स्वीप भएको छ । भोजपुरमा एमाले नेता शेरधन राईलाई माओवादी केन्द्रका नेता सुदन किरातीले पराजित गरेका छन् । ओखलढुङ्गामा भने कांग्रेस नेता रामहरि खतिवडाले एमाले नेता यज्ञराज सुनुवारलाई पराजित गरे ।
मधेशमा एमालेको कमब्याक
एमालेले यस पटकको चुनावमा मधेश प्रदेशमा राम्रो नतिजा ल्याएको छ । २०७४ को चुनावमा एमालेले मधेशमा चुनावी प्रचारसमेत गर्न पाएको थिएन ।
एमालेले २०७३ मा आयोजना गरेको मेची–महाकाली अभियानको क्रममा अध्यक्ष ओली फागुन–२३ गते सप्तरीको मलेठमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका थिए । ओलीले सभालाई सम्बोधन गरेर फर्कने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ५ जनाको ज्यान गएको थियो । त्यसबेला मधेशले ओलीलाई ‘मधेश विरोधी’ नेताकोरूपमा चित्रित गथ्र्यो । त्यसको प्रभाव २०७४ को चुनावमा पनि रह्यो ।
फलस्वरूप, मधेशमा एमाले सबैभन्दा कमजोर बन्यो । तर, यसपटक भने मधेशमा एमाले ठूलो दल बन्नेक्रममा छ । मधेशको कुनै पनि जिल्लामा एमाले क्लिन–स्वीप भएको छैन ।
२०७४ को चुनावपछि सरकारमा रहँदा होस् वा २०७८ असारमा सरकारबाट बाहिरिएपछि होस् एमाले अध्यक्ष ओलीले मधेश प्रदेशलाई पहिलो प्राथमिकतामा राखे । स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा चुनावका बेला मधेशबाट नै सबैभन्दा धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गराए ।
एमालेले पाँच वर्षमा मधेशमा गरेको मेहनतले पार्टीलाई कम–ब्याक गराएको छ ।
कहाँ–कहाँ क्लिन–स्वीप भयो एमाले ?
प्रदेश–१
ओखलढुङ्गा, भोजपुर
बागमती प्रदेश
सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, सिन्धुली (दोलखामा मतगणना हुन बाँकी)
गण्डकी प्रदेश
मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोरखा
लुम्बिनी प्रदेश
दाङ, रोल्पा, नवलपरासी पश्चिम, रूकुम पूर्व, बर्दीया, बाँके
कर्णाली प्रदेश
सल्यान, जाजारकोट, दैलेख, कालिकोट, हुम्ला, रूकुम पश्चिम
सुदुरपश्चिम प्रदेश
अछाम, कैलाली, डडेल्धुरा, दार्चुला, बझाङ (बाजुरामा चुनाव र मतगणना हुन बाँकी)