
रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् । शनिवार अपरान्ह २७ हजार १४८ मत ल्याई निर्वाचित भएका उनलाई निर्वाचन अधिकृत उद्वीर नेपालीले रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र वितरण गरेका हुन् ।
पौडेलका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरेका थिए ।
कार्यक्रममा सोही क्षेत्रको (१)मा निर्वाचित प्रदेश सभा सांसद लीला गिरी र (२) मा निर्वाचित प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पनि आफू निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरे । प्रदेश सभामा निर्वाचित गिरी र श्रेष्ठ पनि एमालेकै हुन् ।
प्रमाणपत्र ग्रहण गरेलगत्तै एमालेका नेता, कार्यकर्ताहरु उत्साहका साथ विजय जुलुसमा सहभागी भएका थिए ।








