२४ जेठ २०८३, आइतबार

बागमती प्रदेश सरकारका ६ मन्त्रीले पाए टिकट, एकजना बाहेक सबै विजयी

मंसिर १३, २०७९
बागमती प्रदेश सरकारका ६ मन्त्रीले पाए टिकट, एकजना बाहेक सबै विजयी

बागमती प्रदेश सरकारका मन्त्रीहरूमा प्रदेश सभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित भए । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन् । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराजित हुनेमा दाहाल एक्ला हुन् । चितवन निर्वाचन क्षेत्र नं २ (१) प्रदेश सभा निर्वाचनमा दाहाल पराजित भए । सो क्षेत्रबाट नेकपा (एमाले) का कृष्णप्रसाद सिलवाल विजयी भए । दाहाल सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार थिए ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसपटक प्रतिनिधि सभामा निर्वाचित भएका छन् । पाण्डे धादिङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने ८ मन्त्रीमध्ये काठमाडौँ निर्वाचन क्षेत्र नं १ (१) बाट संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मात्र टिकट पाएका थिए । श्रेष्ठ सो क्षेत्रबाट निर्वाचित भएका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

टिकट नपाउने कांग्रेसका प्रदेश मन्त्रीमा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, स्वास्थ्यमन्त्री निमा लामा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ छन् । प्रदेश सरकारमा कांग्रेसबाट तीन राज्यमन्त्रीले पनि टिकट पाएनन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि टिकट पाएनन् । 

यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल धादिङ निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित भए । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर पनि निर्वाचित भए । दुवै जना सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार भई निर्वाचित भएका हुन् । 

यसैगरी युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल पनि माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । 

salt training

कमेन्ट गर्नुहोस्