
स्विडेनको ट्रकनिर्माता स्कानियाले व्यापारिक सरसामान ढुवानीका लागि चालकरहित लरी बनाएको छ ।
‘हामी एक विन्दुबाट अर्को विन्दुसम्म चालकरहित गाडीमा सामान राखेर पुर्याउँछौं,’ स्कानियामा स्वचालित गाडी विभागका प्रमुख पिटर हाफमारले एएफपी समाचार संस्थालाई बताए ।
अहिले गाडीको पाइलट प्रोजेक्टमा काम चलिरहेको छ । त्यसअन्तर्गत चालरकरहित ट्रक लगभग ३०० किलोमिटर गुडिरहेको छ । देशको दक्षिणी भागमा रहेको सोडरताल्येबाट जोन्कोपिङसम्म फास्टफूड यही गाडीले ढुवानी गर्ने गरेको छ ।
बाहिरबाट हेर्दा कुनै सामान्य लरी जस्तै देखिने यस गाडीको छतमा क्यामरा र दुईवटा सेन्सर जडान गरिएको छ ।
गाडीभित्र ह्वील र सीटहरू सामान्य जस्तै छन् तर ड्याशबोर्डमा साना डिभाइस र स्क्रीनहरू भरमार छन् । प्यासेन्जर सीटमा कम्प्युटर र्याक छ ।
प्यासेन्जर सीटमा इन्जिनीयर गोरान फ्यालिड बस्छन् । उनी ल्यापटपमा हेरिरहन्छन् । ट्रकका क्यामराबाट आउने भिडियो फीडका साथै अन्य सूचनाहरू पनि उनी ल्यापटपमा हेर्छन् ।
अर्को स्क्रीनमा ट्रक तथा उसनजिक गुडिरहेका अन्य गाडीको ३डी भिजुअलाइजेसन देखिन्छ ।
लरीमा जीपीएस सिस्टम पनि छ । सेन्सरसँग मिलेर जीपएसले सुरक्षित यात्रा गराउँछ ।
मानिस आफैंले हाँकेको भन्दा पनि राम्रो गरी मशिनले गाडी हाँक्छ, फ्यालिड बताउँछन् ।