
जर्मनीको म्यानहाइममा रहेको एक अस्पतालमा रोगीको ज्यान लिन खोज्ने ७२ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिला बसेको कोठामा रहेका अर्की रोगीको भेन्टिलेटरबाट झर्कोलाग्दो आवाज आएको भन्दै उनले बन्द गरिदिएकी थिइन् ।
मंगलवार बेलुका ती महिलालाई ज्यान मार्ने उद्योगमा हिरासतमा लिइएको हो ।
७९ वर्षीया अर्की रोगीको भेन्टिलेटरलाई दुईपटक ती महिलाले बन्द गरिदिएकी थिइन् । भेन्टिलेटरमा रहेकी महिलालाई त्यो बन्द गरिँदा निकै गाह्रो परेको थियो र बेहोशीबाट ब्युँझाउन चिकित्सकहरूलाई हम्मेहम्मे परेको थियो ।
अहिले ती महिला खतराबाट मुक्त भएकी छन् तर उनलाई सघन उपचारको आवश्यकता छ । उनलाई अक्सिजन दिइराखिएको छ ।
आरोपित महिलालाई न्यायाधीशसमक्ष उपस्थित गरिएको थियो । न्यायाधीशले उनलाई कारागार चलान गर्ने आदेश दिएका थिए ।
भेन्टिलेटरले रोगीको फोक्सोमा अक्सिजन पठाएर सास लिन सहयोग गर्छ । कोभिड महामारीले गाँजेका रोगीहरूका लागि भेन्टिलेटर अत्यधिक मात्रामा उपयोग भएको छ ।