
आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक गरिएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् ।
रोमान्टिक थिममा तयार गीतको भिडियोमा सारा सिर्पाइली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । निकै आकर्षक शैलीमा निर्माण भएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ ।
अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतानलगायतका कलाकारको अभिनय छ । विगत २ दशकदेखि फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो डेब्यु निर्देशकीय फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । ‘गुञ्जन’ लाई चलचित्र सेन्सर बोर्डले सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिइसकेको छ ।
विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोममा र दुवईमा छायांकन भएको हो । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ । फिल्मका वितरक काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।