
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। सुटिङकै क्रममा ब्रेन ट्युमर भएको पत्ता लागेपछि उनको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको कलाकार दीपकराज गिरीले जानकारी दिए ।
हाल निरौलालाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कलाकार गिरीले भनेका छन्, 'सुटिङको बीचमै दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। त्यसपछि हामी अन्योलमा पर्यौं। तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आयो । भारत लैजानुपर्ने सुझाव धेरै आए पनि अन्ततः नेपालमै वरिष्ठ न्यूरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरियो ।'
शुभचिन्तकका साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति उनले आभार प्रकट गरेका छन् । 'भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो, हाल उहाँ आईसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, आशीर्वाद दिने दर्शक तथा शुभचिन्तकहरू, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू सबैलाई धन्यवाद,' उनले थप भनेका छन् ।