
तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा शनिवार आयोजित निःशुल्क आँखा शिविरबाट २०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
ललितपुर महानगरपालिका–२५ स्थित जनउदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकाका साथै अन्य स्थानीय नागरिक पनि लाभान्वित भएका थिए ।
तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरू सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापति लगायत १० जनाको समूहले आँखाको जाँच गरेका थिए । शिविरमा १ वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका ४ जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उनीहरूको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ ।
ललितपुरको नख्खुडोलमा अवस्थित तुलसादेवी हरिहर फाउन्डेशनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ आश्रित रहेका छन् । शिविरमा फाउन्डेसनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष दौलतकुमार खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पुर्याएकामा तिलगङ्गा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए ।